दलबहादुर खड्का
स्थानीय चुनावपछि गाँउमा मनहरु भाँचिएका छन् । घरहरुमा चुनावी नतिजाले तेरो, मेरो चुनाव चिन्ह भन्दै कतिपय अवस्थामा बोलचाल वन्द होला । छिमेकीलाई हेर्ने दृष्टिकोण फरक भएको होला । लोकतन्त्रमा मताधिकारको प्रयोग जनताको सार्वभौम अधिकार हो । जनताको मत र विचारको सम्मान गर्ने हो । मनहरु भाँच्न जरुरी छैन । विचारका पालुवाहरु हुर्कन दिनु नै लोकतन्त्रको गरिमा हो । काठमाण्डौं महानगर वा धरानका जनता दलिय व्यवस्थाका विरोधि पक्कै होईनन् वरु हिजोका सत्ताका पात्रहरुको गतिविधिका विरोधि हुन सक्छन् ।सामाजिक जीवन र कृयाकलाप सँग राजनीतिक कृयाकलाप जोडिन्छन् । राजनीति कुनै पेशा, ब्यवसाय होईन । अर्को कुरा समाज सेवा गर्ने आँट, साहस र उच्च अभिलाषा सवैमा हुँदैन पनि । समाज सेवा गर्न राजनीति नै अन्तिम विकल्प पनि होईन । यद्यपी विकास, रुपान्तरण, क्रान्ति र आमुल परिवर्तन ब्यक्ति एक्लैवाट सम्भव पनि हुँदैन ।
विचार, मुल्य, सिद्धान्त र मान्यता विनाको हिँडाईले गन्तव्यमा पुँगिदैन । समाजवाद, सामाजिक न्याय, राष्ट्रियताको प्रवर्द्धन, समानताको आधार निर्माण गर्न पनि सवैको साझा प्रयास आवश्यक पर्छ । तथापी नेतृत्वको भूमिका महत्वपुर्ण रहन्छ नै । राजनीतिक रुपमा प्राप्त पद, प्रतिष्ठा अस्थायी हुन् तर नेतृत्वले स्थापित गरेको मुल्य, मान्यता, सँस्कार, विकास र रुपान्तरणको जग सर्वदा उच्च रहन्छ । जसलाई चाहेर पनि कसैले उखेल्न सक्दैन । समाजले चाहेको न्याय, समानता, विकास र रुपान्तरण हो ।राजनीतिक विचार वा आस्था कुनै पारिवारिक अंशवण्डावाट प्राप्त भएको होईन । पुस्तावाट हस्तान्तरण हुँदै स्थायी पुँजीको रुपमा आएको पनि होईन । कतिपयमा राजनीतिलाई धर्म सँग जोडेर हेर्ने चलन छ । सँस्कार सँग जोड्दा केही आफ्नै मान्यता रहलान् तर राजनीति धर्म सँग जोडेर हार्ने र जित्ने खेल होईन । कतिपय अवस्थामा हामी युवा पनि राजनीतिलाई अंशवण्डा र वाजे, वजै, वावु, आमा वा परिवारवाट हस्तान्तरण भएको ठानि रहेका छौं ।
तिम्रो वाजे, वजै, वावु, आमा वा परिवार मेरो दलमा भएको कारणले तिमीले धर्म छोड्नु हुँदैन भनेर भ्रम सृजना गरिरहेका छौं । राजनीतिक विचार, मुल्य, सिद्धान्त र मान्यताको कुरा गर्दैनौं । समाजले चाहेको न्याय, समानता, विकास र रुपान्तरणका कुरा गर्दैनौं तर भ्रमपूर्ण सृजना मार्फत झुटको खेतीले राजनीतिक सँस्कार र व्यवहार विरामी भैरहेको छ । राजनीतिक विचार कुनै डिएनए वाट आएको चिज होईन । यो कुनै वंशानुगत गुण पनि होईन । सँस्कार, न्याय, समानता, विकास र रुपान्तरण विनाको राजनीतिको कुनै अर्थ रहँदैन । लोकतन्त्रमा जनता मालिक हुन् । राजनीतिज्ञ केवल जनताको नोकर हो । नोकर हुने क्षमता स्थापित गर्न जटिल छ । जनतालाई तार्किक आलोचना गर्ने हैसियतमा पुर्याउन सक्नुपर्छ । मालिकरुपी जनताको गुनासोलाई सम्मान गर्नैपर्छ । ब्यक्तिगत रुपमा ब्यक्तिका कमीकमजोरी हुन सक्छन् ।
हरेक ब्यक्तिगत कृयाकलाप राजनीति सँग जोड्न पनि जरुरी पर्दैन तर राजनीतिक पदमा आसिन ब्यक्ति समाजको नेतृत्व हो । उसका हरेक गतिविधि पारदर्शि हुनुपर्छ । आलोचना र टिकाटिप्पणी सहन गर्ने क्षमता जरुरी छ । मताधिकार मार्फत हार, जित हुन्छ । जनताले आफुले दिएको मतको सदुपयोग भयो वा भएन पाईला पाईलामा मुल्यांकन गर्छन् । चुनावमा विजय हासिल गरेको दिनवाट परीक्षा शुरु हुने हो । अर्को निर्वाचनमा उतिर्ण हुने वा नहुने निर्वाचित पदाधिकारीको व्यवहार, आचरण र सँस्कारमा भर पर्छ । राजनीतिक जिम्मेवारी वहन गर्दा कमजोरी हुन सक्छन् । तर त्यसको स्वीकार र सच्चाई ठुलो कुरो हो ।अवको राजनीति विचार, सँस्कार, न्याय, समानता, विकास र रुपान्तरण मार्फत गरिने हुनुपर्छ । निर्वाचित पदाधिकारीको सम्पत्ति विवरण सार्वजनिक गर्नै पर्छ ।
निर्वाचित पदाधिकारी र एकाघरको सदस्य कुनै पनि विकास निर्माणका उपभोक्ता समिति, ठेक्कापट्टामा सहभागि नहुने व्यवस्था जरुरी छ । यस्ता कुरामा निर्वाचित पदाधिकारी आँफैले घोषणा गर्ने आँट पनि राख्न सक्नुपर्छ । आँट नहुनु भनेको कतै केही छ कि शंका गर्ने सुविधा जनता सँग रहन्छ । आफ्नै दल वा पदाधिकारीले गलत गर्दा पनि संरक्षण गर्न जरुरी छैन । सानो त्रुटिमा सुधारको लागि अवसर दिन सकिएला । मुल कुरा नियत र नियतिको हो । नियत खराव हुन भएन । राजनीति कमाईखाने भाँडो होईन । यो कुनै ठेक्का पट्टाको विषय पनि होईन । अर्कोले गरेको सवै गलत म मात्र शतप्रतिशत ठिक भन्ने सँस्कार र आचरण किमार्थ ठिक होईन । ठिकलाई ठिक र गलतलाई गलत भन्ने आँट र आचरण अव सवै युवा राजनीतिज्ञमा चाहिन्छ । चाहे राम्रो वा नराम्रो काम जो सुकैले गरोस ।
रुकुमको मामिलामा माओवादी पार्टिले न्याय, समानता, विकास र रुपान्तरणको नेतृत्व निरन्तर लिईरहेको छ । लिन्छ । लिनुपनि पर्छ । समग्र देशकै मामिलामा संघीयता, गणतन्त्र, समानुपातिक, समावेशीकरण, धर्म निरपेक्षता लगायत अहिलेको शासकिय रुपान्तरणको आधार माओवादी नै हो । यसो भन्दा अरु दलको भूमिका थिएन भन्ने होईन । त्यसलाई अग्रसरता र पक्षधरतावाट हेर्नुपर्छ । माओवादीलाई जनताले नरुचाहेको पनि होईन । माओवादी देशको पहिलो पार्टि पनि भएकै हो । संसदिय मामिलामा अनुभवको कमजोरी रहेकै हो । तर फेरी पनि नेपालको राजनीतिक गतिविधिमा माओवादी वारम्वार निर्णायक शक्ति भएको छ । त्यो कुरा देखिएको पनि छ । यसलाई अस्थिर त भन्न सकिएला तर फेरी पनि राजनीतिक प्रणाली र भएको रुपान्तरणको संस्थागत विकास र संविधानको संरक्षण गर्ने दायित्व माओवादीको हो ।
किनकी संघीयता सहितको गणतन्त्र माओवादीको एजेण्डा हो । यो माओवादिले करिव ३० वर्ष अघि हुर्काउन शुरु गरेको हो । संघीयताले के दियो त ? भन्ने पनि पर्न सक्छ । स्थानीय सरकारलाई शक्तिशाली अधिकार संविधानले दिएको छ । नागरिकको अधिकारको तह उच्च छ । वोल्न र सरकारको खुलेर आलोचना गर्न पाउने अधिकार संविधान त सुरक्षित गरिएको छ । महिला, दलित, जनजाति, मुश्लिम, अपाङ्गता भएका ब्यक्ति लगायतले धेर थोर रुपमा समानुपातिक र समावेशिकरणको लाभ लिईरहेका छन् । यद्यपी यो पुर्ण नहोला तर निरन्तर अभ्यासमा रहेकै छ । हिजो जनयुद्धको जगवाट अहिलेको संविधान वनेको भन्ने कुरा जगजायर छ । हिजोको शासकिय प्रणाली विरुद्धको संघर्ष, एकतन्त्रीय शासनका विरुद्धको संघर्ष सशस्त्र हुन पुग्यो ।
तत्कालिन शासन र सरकारका मालिकहरुले सशस्त्र संघर्ष गर्नै पर्ने वातावरण तयार गरे । कम्युनिष्ट सक्ने उदघोषका साथ माओवादी विरुद्ध सके जति बल र शक्ति, स्रोत, साधन प्रयोग गरेकै हुन् । कमिकमजोरी कतिपय अवस्थामा दुवै पक्षवाट भए । तर पनि दोस्रो जनआन्दोलनमा सवै राजनीतिक शक्ति एकै कित्तामा आउनै पर्यो । रुकुम, रोल्पाको अहिलेको शासन प्रणालीमा ठुलो योगदान छ । रुकुमको विकासको स्तरको तुलना गर्दा वि. सं. २०६३ अगाडी र पछाडी अलग्गै छ । मध्य पहाडी राजमार्ग होस वा भेरि कोरिडोर होस । रुकुमको जमिनमा सहजै आउने थिएन ।
अहिले राप्ती राजमार्ग अलग्गै शिर्षक मार्फत प्रवेश पायो । गोतामकोटको छरेवगर सम्म पुग्ने भयो, राप्ती राजमार्ग । कैयौं यस्ता सडक सञ्जालहरु र अन्य पुर्वाधार संरचनाहरु रुकुमकै माओवादी नेतृत्वले गरेको हो । पुल, पुलेसाको मामिला होस वा शिक्षा, स्वास्थ्य, खानेपानी, लगायत सामाजिक विकासको कुरा होस । गरेकै हो । गरिनै रहेको छ । रुकुमको विकास र रुपान्तरण प्रति हामीलाई गर्व छ तर यसमा घमण्ड जरुरी छैन । यो माओवादी केन्द्रको दायित्व र जिम्मेवारीको कुरा हो । माओवादी वाहेक अरुको पहुँच केन्द्रिय राजनीतिमा सहज छैन भन्ने थाहा छ ।
अहिलेको स्थानीय चुनावको सानो पराजयको संकेतले हामीलाई सचेत हुन जनताले दिएको सुझाव हो । कतै हामी घमण्डले फुल्छौं कि यो एउटा चेतावनी हो । कतै हाम्रा कमिकमजोरी छन् भने सुधार गर्ने अवसर हो । गल्तिहरुवाट पाठ सिक्ने अवसर हो । जनता तिरै फर्काउने अभिमत हो । हामी हाम्रा गल्ति सुधार गर्छौं । आन्तरिक छलफल मार्फत कमजोरीको सुधार गर्छौं । हामी जनतालाई धोका दिँदैनौं । कतिपय ठाँउमा पराजय भोग्दा पनि हामी विचलित छैनौं । अझ थप जिम्मेवार र जनतामैत्री बन्ने अवसर प्राप्त गरेका छौं । पराजय भोगेका ठाँउमा पनि हामि भाग्दैनौं । अझ जिम्मेवार बन्छौं । विकास र रुपान्तरणका योजना लिएर जनतामै जान्छौं । पार्टीले गरेका प्रतिवद्धता र जनताको आवश्यकता तथा चाहानालाई पुरा गर्न निरन्तर लागि रहन्छौं ।
गलत गतिविधि, कृयाकलाप विरुद्ध तार्किक जवाफ दिन जरुरी छ । गणतन्त्र र संघीय शासन प्रणालीमा जनता नै अग्र पंक्तिका मालिका हुन् । जनताको आदेश र अभिमतको पुर्ण कदर हुन्छ नै । जनताको आलोचना, सिकायत र सुझावको उच्च सम्मान गर्छौं । सामुहिक र जनता सँगको निर्णयलाई प्राथमिकता दिनुपर्छ । केन्द्रिय सत्तामा रुकुमको मन्त्री हुँदा पनि रुकुमका प्रहरी, प्रशासन लगायतले गरेको व्यवहार नजिकवाट अनुभुति गरेका छौं । पराजय गराउन गरेको मिलमतो वुझेका छौं । पराजय अस्वीकार त्यत्तिकै गरेका छैनौं । तथापी सानातिना पराजयवाट हामी आत्तिएका छैनौं । जित हासिल गरेका ठाँउमा पनि हामी मात्तिन जरुरी देख्दैनौं । राष्ट्रिय राजनीतिका दुई ठुला पार्टि मिलेमतो गर्दा पनि जनताले हामीलाई विश्वास गरेकै हो । कार्यपालिकामा हामी सानदार तवरले वहुमतमा छौं । जनताप्रति केन्द्रित कृयाकलाप र निर्णयहरुमा विरोध हुँदैन ।
स्थानीय सरकारमा पक्ष र प्रतिपक्षको कल्पणा गरिएको छैन । यद्यपी हामीले गर्ने व्यवहार अर्को पक्षको सँस्कारमा भर पर्छ । जनताको सतप्रतिशत हितमा गरिने निर्णयमा हामी कँही तगारो वन्दैनौं । माओवादी पार्टी, नेतृत्व र समर्थक जनता, कार्यकर्ता प्रति गरिने गलत व्यवहार, कार्यशैली र सँस्कारको खुलेर मुकाविला गर्नै पर्छ । तार्किक वहस, छलफल, विष्लेषणलाई सदैव स्वागत र समर्थन गरिन्छ । हामी भित्रैका गल्ति कमजोरीको पनि ढाक, छोप गरिदैन । अरुलाई औंला ठाडो पार्दै आलोचना गर्नुअघी औंला आफुतिर फर्काएर पनि हेर्नुपर्छ । विकास र रुपान्तरणका लागि स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारको तालमेल जरुरी पर्छ । संघ, प्रदेश र स्थानीय तहका अधिकांश जनप्रतिनिधि माओवादी केन्द्रवाटै छन् । करिव लामो समय सरल रेखामा कुदेको रुकुमको राजनीतिमा थोरै रेखा वाँउडिएको मात्र हो । त्यो ढिलो चाँडो एउटै रेखामा कुद्छ । समय लाग्ला । थप प्रयास र जनमैत्री व्यवहार गर्नु पर्ला ।
विगतका कतिपय गल्ति कमजोरी भएको भए जनता सँग माफि माग्दै प्रवृत्ति, आचरण, कार्यशैली सुधार गर्ने हो । रुकुममा अझै जिम्मेवार र पूर्ण जनमैत्री व्यवहारका साथ माओवादी केन्द्र लाग्नु पर्छ । यो कुनै घमण्ड होईन, राष्ट्रिय राजनीतिमा रुकुम अझै सशक्त वन्छ । रुकुमका सन्दर्भमा राष्ट्रिय राजनीतिमा रुकुमको आफ्नै पहिचान छ । रुकुमको नेतृत्वले राष्ट्रिय राजनीतिमा सक्रिय भूमिका खेलेको छ । त्यो पहिचान र नेतृत्वको क्षमता कसैले चाँहादैमा रोकिने छैन । विकास र रुपान्तरणको अभिलाषाको गति घट्ने छैन । संविधानवाट प्राप्त उपलव्धीको रक्षा गर्ने मामिलामा सतिसाल भएर उभिन कसैले रोक्न सक्ने छैन । राष्ट्रिय राजनीतिमा रुकुमवाट माओवादी नेतृत्व अझै गतिशिल, विकाशप्रेमी र जनमैत्री भएर लाग्ने कुरामा कुनै शंका छैन । हामी विचलित होईन कि न्याय, समानता, समावेशीकरण, विकास र रुपान्तरणका लागि अझ सशक्त र थप प्रगतिशिल वाटोमा लम्कन्छौं र रुकुम कम्युनिष्टको क्षेत्र हो र हुन्छ ।
माओवादीलाई जङ्गली भन्नेहरुलाई ज्ञात रहोस माओवादी हिजो जनयुद्धमा पनि जनताको घरमै थियो, जनता सँगै थियो । जनताको विचमै थियो । अहिले पनि जनता सँगै छ । निरन्तर जनता मै जान्छ । रुकुमको विकास र रुपान्तरणको नेतृत्व गरिरहेकै छ । संघ, प्रदेश र स्थानीय सरकार मार्फत पनि रुकुमको विकासको नेतृत्व गर्छ । कँहिकतै आचरण, व्यवहार, कार्यशैलीमा कमजोरी भए त्यसको सुधारको सुरुवात आँफैवाट जरुरी छ । सुधारका लागि सचेत गराउने र थप जनमैत्री व्यवहारका लागि सतर्क गराउने जनतालाई धन्यवाद । हरेक जित भित्र चुनौती र हरेक हार भित्र अवसर खोज्न सिकाउने जनतालाई धन्यवाद । जित वा हार दुवै भित्र पनि गणतन्त्रका मालिक जनताको सेवामा आँफुलाई खटाउने प्रण गरौं । उच्च राजनीतिक सँस्कार र कार्यशैलीको विकासमा लागौं ।