विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले संघर्षका कार्यक्रम फिर्ता लिएको छ । भोली देखि आह्वान गरिएका संघर्षका सबै कार्यक्रमहरु अहिले तत्कालका लागि स्थगित गरिएको संगठनले जनाएको छ । संगठनका जिल्ला अध्यक्ष प्रेमप्रशान्त बोहरा, उपाध्यक्ष सोमपाल कामी, कोषाध्यक्ष धनवहादुर ओली र सह–सचिव प्रकाश बिकलाई विनाशर्त रिहाईको माग गर्दै अखिल क्रान्तिकारीले भोली जिल्लामा शैक्षिक हड्ताल सहितका संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।
संगठनले भोली जिल्लाभर शैक्षिक हड्ताल, पर्सी माघ २४ गते मशाल जुलुस र २५ गते अनिश्चितकालिन रुकुम बन्द सम्मका संघर्षका कार्यक्रम घोषणा गरेको थियो । तर अहिले तत्कालका लागि सबै संघर्षका कार्यक्रम स्थगित गरिएको संगठनकी जिल्ला सचिवालय सदस्य शोभा डाँगीले जानकारी दिनुभयो ।