Kakhara सबैको खबर सम्पूर्ण खबर
आ.व. २०७९/८० का लागि झण्डै ५१ करोडकाे बजेट ल्याउँदै पुथाउत्तरगंगा
गाउँकार्यपालिका वैठक ।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि झण्डै ५१ करोड बराबरको बजेट ल्याउने तयारी गरेको छ । बुधबार गाउँकार्यपालिकाको कार्यालय तकसेरामा बसेको तेस्रो कार्यपालिका बैठकले संघ र प्रदेश सरकारबाट आएको बजेटको सिलिङलाई अनुमोदन गरेको छ । त्यस्तै कार्यपालिकाले आगामि आर्थिक वर्षको आन्तरिक स्रोत १ करोड अनुमान गरेको छ । संघ, प्रदेशबाट आउने बजेट र आन्तरिक स्रोत गरी आगामि आर्थिक वर्षका लागि गाउँपालिकाको कुल बजेट ५० करोड ७६ लाख ३९ हजार हुने गाउँपालिकाले जनाएको छ । 

गाउँ कार्यपालिकाले संघको वित्तिय समानिकरण, सशर्त अनुदान, विशेष अनुदान र राजश्व बाँडफाँड अन्तरगतको गरी कुल ४५ करोड ५६ लाख ५७ हजार र प्रदेश सरकारबाट सिफारिस भएको कुल ४ करोड १९ लाख ८२ हजार बजेटको सिलिङलाई अनुमोदन गरेको गाउँकार्यपालिका प्रवक्ता टिकासाई घर्ती मगरले जानकारी दिनुभयो । संघ, प्रदेश र गाउँपालिकाको आन्तरिक स्रोत अनुमानलाई आधार बनाएर आगामि वर्षका लागि नीति, कार्यक्रम र बजेट बनाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।

त्यस्तै आज देखि जेठ २९ गतेसम्म सबै वडाका सबै टोलहरुमा योजना तर्जुमा गर्न भेला बनाई लिखित रुपमा योजना छनौट गर्ने निर्णय कार्यपालिका बैठकले गरेको छ । टोलबाट आएका योजनालाई जेठ ३० देखि असार २ गतेसम्म प्राथमिकरण गरी विषयगत समितिहरुले कार्यक्रम तर्जुमा समितिमा पेश गर्ने र सो वमोजिम नीति तथा कार्यक्रमको अन्तिम खाका तयार गरी जेठ ५ गते कार्यपालिका वैठकमा पेश गर्ने पनि निर्णय भएको छ । त्यस्तै गाउँकार्यपालिका बैठकले प्रदेश लोकसेवा आयोगमा स्थायी कर्मचारी माग गर्ने निर्णय गरेको छ । 

गाउँपालिकाका विभिन्न विषयगत शाखाहरुमा दरवन्दी अनुसार कर्मचारी नभएकोले रिक्त रहेका पदहरुमा लुम्बिनी प्रदेश मार्फत प्रदेश लोकसेवा आयोगमा कर्मचारी माग गर्ने निर्णय भएको प्रवक्ता घर्तीमगरले जानकारी गराउनुभयो । त्यस्तै यसअघि खरिद गरिएका मोटरसाईकल प्रत्येक वडाले व्यवस्थापन गर्ने गरी सम्बन्धित वडाका कर्मचारीलाई हस्तान्तरण गर्ने निर्णय भएको छ । 

आगामि आर्थिक वर्षका लागि लुम्बिनी प्रदेशबाट प्राप्त हुने समपूरक अनुदानको लागि प्रस्ताव गरिएका ५ वटा योजनाहरुलाई अनुमोदनका साथै वडा नम्बर ४ का विजय बिकलाई विद्युत उत्पादनका लागि टर्वाईन खरिद गर्न ३५ लाख अनुदान सहायता उपलब्ध गराउने पनि कार्यपालिकाले निर्णय गरेको छ । 

स्थानीय तहको निर्वाचन गराउन गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत नारायणप्रसाद चाँपागाईलाई धन्यवाद सहित विदाई गर्ने निर्णय गर्दै शिक्षा युवा तथा खेलकुद शाखाले कार्यपालिकामा पेश गरेको करार शिक्षक, कर्मचारी नियक्ति सम्बन्धि कार्यविधि २०७९ र विद्यालय अनुगमण निर्देशिका २०७९ पनि कार्यपालिकाले सर्वसम्मतिले अनुमोदन गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १५:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update