जिल्ला समन्वय समितिका लागि रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रबाट मात्र उम्मेदवारी परेको छ । जिसस निर्वाचन अन्तरगत आज दिनभर उम्मेदवार मनोनयनको समय तोकिएको थियो । निर्धारित समयसम्म ९ सदस्यीय जिल्ला समन्वयका लागि नेकपा माओवादी केन्द्रबाट मात्र उम्मेदवारी परेको मुुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुखमा लुम्बिनी गौतम केसीको उम्मेदवारी परेको छ । माओवादी केन्द्रले यसअघि नै जिल्ला समन्वय समितिको नेतृत्वमा महिलालाई पठाउने गरेको थियो । सोही अनुसार आज प्रमुखमा केसीको मनोनयन परेको हो । त्यस्तै उपप्रमुखमा देववहादुर कामीको उम्मेदवारी परेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट केसी आठबीसकोट नगरपालिका वडा नम्बर १० र कामी सानीभेरी गाउँपालिका वडा नम्बर ३ को सदस्यमा निर्वाचित हुनुभएको थियो ।
सदस्यहरुमा खुला सदस्य तर्फ देउभान ओली, कृष्णबहादुर ऐरी र रामकुमार गौतमको मात्र उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अुनसार महिला सदस्यमा गीताकुमारी केसी, शारदा दमाई र गीता नेपालीको उम्मेदवारी पर्दा दलित वा अल्पसंख्यकबाट मीना बिकको उम्मेदवारी परेको छ । जिससका लागि माओवादीले आठबीसकोटबाट प्रमुख र एक सदस्य, सानीभेरीबाट उपप्रमुख सहित १ सदस्य र चौरजहारी नगरपालिकाबाट २ जना सदस्य उठाएको छ ।
यसवाहेक मुसीकोट नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाबाट १/१ जनालाई उम्मेदवार बनाईएको छ । यो संगै जिल्ला समन्वय समितिको नेतृत्व निर्विरोध हुने भएको छ । मतदानको मिति जेठ ३१ गतेका लागि तोकिएको छ । विपक्षमा कसैको उम्मेदवारी नपरेकोले ३१ गते निर्विरोध विजयी भएको औपचारिक घोषणा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रमुख, उपप्रमुख सहित जिल्ला समन्वय समिति बढीमा ९ सदस्यीय हुने व्यवस्था छ । जिल्ला समन्वय समितिका लागि जिल्लामा जम्मा १२ जना मतदाता रहेका छन् । नगरपालिका प्रमुख, उपप्रमुख र गाउँपालिका अध्यक्ष, उपाध्यक्षले ९ सदस्यीय जिल्ला समन्वय समिति चुन्ने छन् । १२ जना मध्यमा नेकपा माओवादी केन्द्रका ९ जना, नेपाली कांग्रेसका २ जना र नेकपा एकीकृत समाजवादीका १ जना मतदाता रहेका छन् । पहिलो कार्यकालका लागि पनि जिल्ला समन्वय समितिमा सबै माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।