रुकुम पश्चिमको मुसीकोट नगरपालिका १० ले वडाको सेवालाई चुस्त, दुरुस्त, छिटो र सजिलो बनाउने निर्णय गरेको छ । वडामा आज बसेको वडामा रहेका सम्पूर्ण सरकारी कार्यालयका कर्मचारीहरुको बैठकले कागजत पुगेका, रित पुगेर आएका निवेदनका आधारमा जतिसक्यो छिटो सेवा प्रवाह गर्ने निर्णय गरेको हो । विगतको समिक्षा गर्दै वडा कार्यालय, स्वास्थ्य चौकी तथा कर्मचारी सहित जनप्रतिनिधिको सयुंक्त बैठक सम्पन्न भएको हो ।
बैठकले सेवा प्रवाहलाई सजिलो, सरल, छिटो बनाउने निर्णय गरेको वडाध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । साउन १ गतेदेखि सबै कर्मचारी पोशाकमा कार्यालयमा आउनुपर्ने, कार्यालय समयमा कार्यालय बन्द गर्न नहुने लगायतका निर्णय पनि गरिएको छ । हरेक तीन महिनामा गरिने घुम्ती स्वास्थ्य शिविरको तयारी र कार्यतालिका निर्माण गर्न स्वास्थ्य चौकीलाई भनिएको वडाध्यक्ष खड्काले बताउनुभयो । अयोजना अनुगमन लगायतका विषयमा पनि छलफल भएको छ ।