रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ११ खर्चिवाङमा खानेपानीको समस्या भएको छ । खानेपानीका लागि घन्टौं लाइमा बस्नुपरेको स्थानीय शेरसिङ घर्तीले बताउनुभयो । उहाँका अनुुसार घन्टौं लाइनमा बस्दा पनि पानी केही समय मात्रै आएर सुक्ने भएकाले कहिलेकाँही पानी नै भर्न पाइँदैन । अर्का स्थानीय बेगम खड्काले खानेपानी व्यवस्थापनको लागि वडा कार्यालय नगरपालिकाको कार्यालयमा माग गर्दा पनि वेवास्ता गरेको बताउनुभयो ।
नजिकै बालशिक्षा देखि कक्षा ३ सम्मका बालबालिकाले अध्यन गर्ने विद्यालय भएकाले बालबालिकालाई पनि खानेपानीको अभाव भएको उहाँले बताउनुभयो । खर्चिवाङ टोलका करिब ३० घरधुरी र एक वटा सामुदायिक विद्यालयका बालबालिकाले त्रिवेणी गाउँपालिकाको वडा नम्बर २ को बाँदरपानी खानेपानी उपभोक्ता समिति मार्फत खोपानीको जोहो गर्दैै आएका छन् ।
स्थानीयहरुले तल्काल खानेपानीको व्यवस्थापन गर्न माग समेत गरेका छन । ११ नम्बर वडा अध्यक्ष गोविन्दबहादुर बुढाले भने तल्काल खानेपानीको समस्या हल गर्न पहिले देखि सञ्चालनमा आएको ठाउँमा विच विचमा पाईप लाईनहरु काटिएको भन्ने खबर आएकाले तत्काल पाईप उपलब्ध गराउने गरी सोचिएको बताउनुभयो । अध्यक्ष बुढाले हाल सञ्चालनमा आएको ठाउँ बाट खर्चिवाङ टोलमा खानेपानी नपुग्ने भएकाले सोलार लिफ्टिङ प्रविधि मार्फत खानेपानी पुर्याउन एक वर्ष पहिले नै डिपिआर भइसकेको र अब त्यसैबाट पानी पूर्ति गरिने बताउनुभयो ।
खर्चिवाङ टोल देखि करिव २ हजार १ सय मिटर तल मुलखोलाको पानी तान्ने गरी डिपिआरको काम भइसकेकाले अव टेन्डर प्रक्रिया मार्फत काम सुरु हुने जनाइएको छ । निर्माणको काम सकिएपछि खर्चिवाङ, भोटगाउँ, चिनिगैरा टोलका १ सय ६० घरधुरीमा घरघरै खानेपानी पुग्ने छ । अन्य ठाउँमा पानीका मुहान नभएकानले खर्चिवाङ टोलमा खानेपानी पुर्याउन सम्भव नभएकाले लिफ्टिङ प्रविधि मार्फत नै खानेपानी पुग्ने र त्यसपछि त्यहाका स्थानीयलाई सहज हुने वडा अध्यक्ष बुढाले बताउनुभयो ।