रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ को साँख स्वास्थ्य चौकीमा आयोजित निःशुल्क महिला स्वास्थ्य शिविरबाट झण्डै २ सय जना महिलाहरुले सेवा लिएका छन् । ग्लोबल आइएमई बैंकले नेपाल परिवार नियोजन संघ दाङको प्राविधिक सहयोग र मुसीकोट नगरपालिका संघको साझेदारीमा बिहिबार एक दिने शिविर आयोजना गरेको हो ।
पाठेघरको समस्या भएका महिलाहरुले शिविरबाट लाभ उठाएका हुन् । चेकजाँचका लागि आएका अधिकांश महिलाहरुमा पाठेघरको समस्या देखिएको छ । भिआईए विधिबाट १ सय ४१ जना महिलाको पाठेघरको मुखको स्क्रिनिङ गरेकामा एक जनाको रिजल्ट पोजेटिभ आएको नेपाल परिवार नियोजन संघ दाङका शाखा प्रवन्धक वसन्त खनालले बताउनुभयो ।
यो भनेको क्यान्सरको शंका हो । क्यान्सर हो कि होईन भनेर पुष्टि गर्नका लागि भने अन्य जाँच गर्नुपर्ने उहाँले बताउनुभयो । जाँच गरिएका अन्य महिलाहरुको पाठेघरमा मासु पलाउने र घाउको समस्या देखिएको खनाल बताउँनुहुन्छ । उहाँका अनुसार शिविरमा जाँचका लागि आएका ११ जना महिलाको पाठेघर खसेको छ । उनिहरुमा रिङ प्रेसरी राखिएको छ ।
५ जना महिलाहरुको पाठेघरको भने अप्रेशन गर्नुपर्ने देखिएको छ । उनिहरुलाई निःशुल्क अप्रेशनको व्यवस्था मिलाईने खनालले बताउनुभयो । अव समय मिलाएर उनिहरुलाई दाङ बोलाउने उहाँको भनाई छ । ‘हामीले स्क्रिनिङ गरेर अप्रेशन गर्नुपर्ने महिलाहरुको पहिचान गरेका छौं, उहाँले भन्नुभयो अव उनिहरुलाई समय मिलाएर अप्रेशनका लागि बोलाउँछौं, दाङ, काठमाडौं लगायत ठाउँका अस्पतालमा निःशुल्क अप्रेशनको व्यवस्था हुने छ ।’
शिविरबाट महिलाका अन्य समस्याहरुको चेकजाँच तथा औषधि वितरण सहित परामर्श सेवा पनि दिईएको शिविरमा खटिएका डाक्टर अमित लामगादेले बताउनुभयो । परिवार नियोजन सम्बन्धी विभिन्न सेवा पनि प्रदान गरिएको उहाँले बताउनुभयो । महिलाहरुले लाजका कारणले रोग लुकाएर बस्ने गरेको पाईएको डाक्टर लामगादेले बताउनुभयो ।
संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत केन्द्रीय कार्यक्रम अनुसार निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना गरिएको ग्लोबल आइएमई बैंकका मुसीकोट शाखा प्रवन्धक निमेश पुरीले जानकारी दिनुभयो । शिविरले केही महिलाहरुलाई भएपनि राहात पुगेको उहाँले बताउनुभयो ।