विश्वको बहुमुल्य जडिबुटी मध्य यार्सागुम्बा एक हो ! सम्भवत यस कुरामा प्राय सबैलाई सर्बविदित छ । खास गरी नेपाली समाजको यार्सागुम्बा बारेको बुझाई र दृष्टिकोण बहुआयामिक छ । यसको बजार मुल्य पनि बहुस्तरको छ । धेरैले यसलाई यौन सँग जोडेर ब्याख्या गरेको पाईन्छ । यौनशक्तिमा अनपेक्षित ऊर्जा दिने जडीबुटीको रुपमा यसको परिचयता हुने गर्दछ । समाजमा घटीरहने बिभिन्न यौनप्रकरणहरुका बारे टिक्काटिप्पणी गर्ने सामाजिक संजालकर्ताहरुको लेख प्रतिक्रियाहरुमा धेरथोर यार्सागुम्बा शब्द छुटेको हुँदैन । के हामीले सोँचे जस्तै र चर्चा गरे जस्तै यार्सागुम्बा यौनशक्ति प्रदान गर्ने चिज नै हो त ? यो कुन बेला कहाँ कहाँ पाईन्छ ? यसको बजार मुल्य कति छ र कहाँ निर्यात हुन्छ ? यार्सागुम्बामा आफैभित्र कति बिबिधता छ ? र यार्सागुम्बा नाम कसरी रहन आयो, यसको खास नेपाली नाम के हो ? यो आलेखमा यसबारे सक्दो प्रष्ट पार्ने कोसिस् हुने छ ।
खासमा यार्सागुम्बा यार्सागुम्बा होईन
बिभिन्न मुलुक र क्षेत्रहरुमा यार्सागुम्बाका धेरै नामहरु होलान् । तर विश्वमा प्रचलित नामहरु (science)मा कोर्डसिप्स'(Cordyceps), चाईनिज भाषामा 'डोङ्चोङ् सियाचाव अनि चाईनाकै तिब्बति भाषामा 'यार्चागुन्बु' र नेपाली भाषामा 'जीबनबुटी' हो । English मा caterpillar fungus भन्ने गरे पनि विश्वमा यो cordyceps नामले नै परिचित छ चर्चित छ । तिब्बतिहरुले भन्ने गरेको नाम यार्चागुन्बु शब्दको अपभ्रंशता हो यार्सागुम्बा । तिबेटियन् भाषामा यार्चा भनेको बर्षे घाँस् र गुन्बु भनेको हिउँदे किरा अर्थ दिने भएकोले यार्चागुन्बु भनिएको हो ! तिब्बति भाषामा पोख्त एकजना यार्चागुन्बु ब्यापारी भोटे दाई सँग २०७१ सालमा म डोल्पा गएको बेला यार्चागुन्बु बारे दुईभाईबिच मिठो अन्तरक्रिया भएको थियो । जसक्रममा म उहाँबाट यार्सागुम्बा यार्सागुम्बा नभई यार्चागुन्बु रहेको प्रष्ट थाहा पाएँ । उहाँ अप्पर डोल्पाको साल्दाङ्बाट आउँनु भएको थियो । साल्दाङ्, दो, तेन्जु यि क्षेत्रहरु चिन सँग जोडीएको नेपालको उत्तरी अन्तिम क्षेत्र हुन् । जहाँ तिब्बतिहरु सँग ब्यापार आदानप्रदान हुने गर्छ । हिउँदमा भने यि क्षेत्रहरु बाक्लो हिउँले ढाकिने भएको हुँदा बर्षमा करिब ६/७ महिना मात्र यहाँ मानव चहलपहल रहन्छ । म पनि यार्चागुन्बुकै ब्यापार खातिर रुकुमको मैकोटबाट डोल्पाको दुनै पुगेको थिएँ ।
जसरी तिब्बतिहरुले बर्षे घाँस् र हिउँदे किराको ब्याख्याबाट यार्चागुम्बु नाम राखे ठिक त्यसरीनै यसको खास नेपाली नाम जीबनबुटी हो । हामीलाई १२/१३ बर्ष उमेरको बालापन देखिको अनुभव छ । यस्लाई नेपाली भाषामा जीबनबुटी भनेर चिनिन्थ्यो भने स्थानीय मगर खाम भाषामा र्मो भनेर भनेर चिन्छौँ । र्मो को अर्थ च्याऊ हो । डोल्पातिर स्थानियहरुले किरा वा च्याऊ भन्ने गर्छन् भने उपल्लो डोल्पातिर यार्चागुन्बु भन्ने गर्छन् कारण उतातिरको नेपाली भोटे भाषा तिबेटियनहरु सँग मिल्ने गर्छ । अन्य कुनै कुनै ठाउँमा यसलाई जरा भनेर पनि भनेको पाईन्छ । यार्चागुन्बु एउटा यस्तो चिज हो जो शुरुमा किरा हुन्छ एउटा जीबन हुन्छ र आफ्नो निश्चित समय पुगे पछी जमिन मुनि छिर्छ र बुटीमा परिणत भई च्याऊ बनेर उम्रन्छ । केही समय किराको रुपमा यसमा जीबन हुने र केही समय पछी बुटी बनेर च्याऊको रुपमा उम्रिने भएकै कारण यसको नाम जीबनबुटी भनिएको हो । अर्थात जीबन र बुटी जोडिएर जीबनबुटी बनेको हो । त्यसकारण यार्सागुम्बा भन्ने नाम तिबेटियन नामको यार्चागुन्बुबाट अपभ्रंश भई आएको नाम हो । भने यसको नेपाली नाम त जीबनबुटी नै हो । तसर्थ आजको दिनमा जीबनबुटी वा यार्चागुन्बु नभई यार्सागुम्बाकै रुपमा परिचित भएको छ । यही नामले जताततै प्राथमिकता पाएको छ । सरकारी कामकाजमा पनि यो यार्सागुम्बा नै भनेर प्रयोगमा आईसकेको छ ।
नेपालमा पाईने ठाउँ र यसको विविधता !
सर्वप्रथम त प्रिय पाठकहरुलाई प्रष्ट पार्नै पर्छ कि म जीबनबुटी सम्बन्धी कुनै खोज, अध्ययन र अनुसन्धानमा लागेर विद्वान् भई यो लेख लेख्दै गरेको कुनै अमुक व्यक्ति होईन । म एक साधारण लेखपढ गरेको मानिस मात्रै हुँ । तर यो जीबनबुटी उम्रिने ठाउँको बासिन्दा हुनुको नाताले, बालक उमेर देखिनै यो खोज्ने र बेच्ने अनि उमेर पुगेपछी यसकै ब्यापार गरेर नेपालको र भारत सम्मको धेरै ठाउँका अनुभव संगालेको नाताले यसबारे लेख्ने कोसिस् गरेको छु । त्यसो त जीबनबुटीबारे शैक्षिक रुपमै अध्ययन गर्नेहरु पनि सम्भव त हाम्रै अनुभवहरु बटुलेर हामीसँगै सोधपुछ गरेर अगाडी बढेका देख्छु । तसर्थ म प्रत्यक्ष आफ्नै भोगाई र ति भोगाईक्रममा संगालेका अत्यन्त अर्ग्यानिक अनुभवहरु सहित प्रस्तुत भएको छु ।
जीबनबुटी नेपालको २५ वटा जिल्लाको हिमाली क्षेत्रमा धेरैथोरै पाईन्छ । तर प्रमुख रुपमा पाईने जिल्लाहरु डोल्पा, रुकुम पुर्व, म्याग्दी, मनाङ्, गोर्खा, मुगु, बझाङ् दार्चुला, जुम्ला, हुम्ला, संखुवासभा, रसुवा, सिन्धुपाल्चोक लगायत नै हुन् । दार्चुलामा जीबनबुटी पाईने आधाजसो भुभाग भारतमा पर्ने रहेछ । म २०६९ सालमा नेपाल भारतको दार्चुला, भारतकै गडवाल सम्मको जीबनबुटी खरिद गर्न पुगेको थिएँ । त्यस्तै २०७० सालमा भारतकै सिक्किमको उत्तरी क्षेत्र लाचुङ् र लाचेन् सम्म पुगेँ । सिक्किमको राजधानी ग्यान्तोकबाट गाडीमा डेडदिन लाग्ने उक्त क्षेत्रमा पनि अत्यधिक रुपमा जीबनबुटी पाईने रहेछ । तर हाम्रो रुकुम र डोल्पामा पाईने भन्दा कयौँ गुणा तल्लो स्तर (low quality) को पाईयो । जीबनबुटी सरदरमा समुद्री सतहदेखि ४ हजार ४५ सय मिटरको high altitude मा पाईने जीबनबुटी असाध्यै राम्रो एक नम्बर क्वलिटीको भएको पाईन्छ । त्यसो त ४ हजार ४५ सय उचाईको भन्दैमा सबै ४ हजार ४५ सय उचाईको जीबनबुटी राम्रो हुन्छन भन्ने पनि हुँदैन । अझ कतिपयमा त हुँदैनहुन पनि सक्छ । सबैमा हुन्थ्यो भने त यसको मुल्य पनि सायद यति धेरै पर्दैनथ्यो होला । संसारमा कयौँ हिमालहरु छन फालाफाल नै हुन्थ्यो । तर यो चीन नेपाल, भारत र अन्य केही देशहरुको खास भुभागहरुमा मात्रै पाईने गरेको छ ।
विज्ञानले त यार्चागुन्बु cordyceps को करिब ६०० भन्दा बढी प्रजाति रहेको पुष्टी गरेको छ । यसर्थ हामीले के बुझ्नु पर्छ भने science ले cordyceps भनेर केवल हामीले किनबेच गर्ने गरेको यार्चागुन्बु अर्थात जीबनबुटीलाई मात्रै cordyceps भनेको छैन । उस्ले अवस्था परिवर्तन गर्ने हरेक किराहरु र जीवानुहरुलाई समग्रमा एउटै वर्ग (same category) मा राखेर cordyceps भनि नामाङ्कन गरेको छ । जसमध्य यार्चागुन्बु पनि एक हो । तर प्राथमिक रुपमा भने cordyceps भनेर हामीले किनबेच गर्ने गरेको यार्चागुन्बुलाई चिनिन्छ । नेपालको बन कार्यालयको एक सर्वेक्षणले नेपालमा मुलत ११ प्रजातिको यार्चागुन्बु रहेको पाईएको छ । यद्धपी हामीले बुझ्ने ब्यापारीक ढंगमा साधारणतया जीबनबुटीको प्रकार दुई किसिमले निर्धारण गरीन्छ । एउटा आकारको रुपमा र अर्को रङ (color)को रुपमा । आकारको रुपमा भन्नाले त्यसको मोटाई र लम्बाई बुझिन्छ । र ब्यापारीहरुले यसलाई Grading गरेर छुट्याउँछन् । ए ग्रेड, बि ग्रेड, सि ग्रेड सम्म बनाईन्छ । जति ठुलो आकार भयो त्यति नै ओजन्दार पनि हुने र बढी मुल्य पनि हुने र जति सानो आकार भयो त्यतिनै कम ओजन्दार हुने र सस्तो हुने हुन्छ । नेपाल अधिराज्यमा सबैभन्दा ठुलो आकारको र राम्रो रङको अर्थात उच्च स्तरको यार्चागुन्बु पाईने रुकुम पुर्व र डोल्पा यि दुई जिल्लामै हो ।
अर्को कलरको रुपमा भन्नाले यार्चागुन्बुको रङसँग महत्व राख्छ । हो यार्चागुन्बु सेतो, खैरो, रातो, कालो वा फुस्रो लगायत रङको पनि पाईन्छन् जुन् अत्यन्त सस्तो हुन्छन् वा कतिपय बिक्रि नै नहुन पनि सक्छन् । तर सबै भन्दा राम्रो सुनकलर (Golden color) को मानिन्छ । जतिसुकै ठुलो आकारको भए पनि रङमा गोल्डेन छैन भने त्यसको मुल्य न्युन् बन्छ । त्यसैले बिक्री हुनेवाला यार्चागुन्बुको ब्यापारीक प्रकार एउटा आकारको रुपमा मापन हुन्छ भने अर्को रङको रुपमा मापन हुन्छ । अक्सर ४ हजार मिटर भन्दा कम उचाईमा पाईने यार्चागुन्बु सेतो, रातो, खैरो झालेमाले टाईपको निस्कने गर्छ । चार हजार भन्दा माथीको उचाईमा पाईने चैँ अक्सर गोल्डेन पाईन्छ । हावापानीको गडबढीले कतिपय कालो पनि बन्छ ।
यार्चागुन्बुको बजार मुल्य !
यार्चागुन्बुको कुनै ठोस् मुल्य निर्धारण छैन हुँदैन । यो जतिबेला पनि जति पनि तलमाथी हुनसक्छ । यसको प्रमुख बजार भनेको चीन नै हो । चिनिया ब्यापारीहरुले निर्धारण गरेको मुल्यले बल्ल नेपाली बजार मुल्यलाई ढोका खोलिदिन्छ । यद्धपी अहिले यो जापान, सिंगापुर, हङकङ, मलेसिया, कोरिया, ताईवान, थाईल्याण्ड, बेलायत अमेरिका सम्म फैलिएको छ । यार्सागुम्बाको ईतिहास हेर्दा थुप्रै बर्षअघि पहिलोपटक तिब्बति गोठालेहरुले पत्ता लगाएको भनिन्छ । तर अन्तराष्ट्रिय ब्यापारीक रुपमा भने सन् १९९३ को विश्व एथ्लेटिक्स च्याम्पियनशिप पश्चात ह्वात्तै बढेको ईतिहाँस छ । च्याम्पियनशिपमा अत्यधिक जीत हासिल गरेका चिनियाँ खेलाडीहरुले अन्तरवार्तामा यार्सागुम्बाको सेवन बारे प्रचार गरे पछी यसले विश्वव्यापी चर्चा पाएको भनिन्छ । नेपालमा भने यसको वैधानिक ब्यापार गर्नको लागि सरकारले खुला गरेको धेरै लामो भएको अनुभव छैन ।
यार्साको ब्यापारको लागि कुनैपनि ब्यापारीले जिल्ला वन कार्यालयबाट अग्रिम संकलनपुर्जी लिनुपर्छ । संकलन पुर्जी ल्याएर खरिद गरीसकेपछि नेपाल सरकारलाई प्रतिकिलो १० हजार दस्तुर बुझाएर बल्ल बिक्री बितरण गर्न सकिन्छ । तर त्यो संकलनपुर्जी लिने र दस्तुर तिर्ने प्रक्रिया पनि अत्यन्त झमेलापुर्ण हुने, कर्मचारीले गतिलो सित काम अघि नसार्दिने आधी समस्याका कारण प्राय ब्यापारीहरुले दस्तुर छलेर अनौपचारिक ढंगमा बिक्रीवितरण गरेको पाईन्छ । म डोल्पाबाट केही किलो यार्चागुन्बु निकासा गर्ने क्रममा डोल्पा वन कार्यालय दुनैमा ३ दिन कुर्नु परेको थियो । मलाई थाहा थिएन दुई-चारहजार बढी तिर्नेहरुको काम एक दुईघण्टामै हुने रहेछ । पछि एकजना साथीले भन्दा मात्रै थाहा पाएँ ।
यार्सागुम्बा स्थानीय फिल्डमा गोटाअनुसार किनबेच हुन्छ । प्रतिगोटा ३०० देखि १ हजार सम्म यसको मुल्य पर्छ । अघि माथी भनेझैँ यसको एउटै मुल्यदर नहुनुको कारण त्यही आकार र कलर नमिलेर हुने हो । ठुलो आकारको र सुनकलरको छ भने नौ सय वा हजार सम्म मुल्य पाईन्छ । अलि सानो मझौला छ भने ५/६ सय सम्म पाईन्छ भने अत्ति सानो टुटेको भाँचेको, कालो, लगायतको छ भने प्रतिगोटा २/३ सय सम्म पाईन्छ । त्यसैले यार्चा संकलकहरु सुनकलरको र ठुलो आकारको भेटेपछि बडा खुशी हुन्छन् । २०७० सालमा त काठमाण्डुमा ए ग्रेडको यार्चागुन्बुको मुल्य प्रतिकेजी ३२ लाख सम्म पुगेको हो ।
जुनबेला चीनको गोन्जाव र तिब्बतको ल्हासामा प्रतिकेजी ६० लाख सम्म बिक्री भएको थियो । ७१ सालमा त्यही चीनमा प्रतिकिलो १ लाख डलर र सिंगापुरमा १ लाख ३० हजार डलर सम्म बिक्री भएको रेकर्ड छ । तर त्यसपछिका बर्षहरुमा यसको मुल्यमा निरन्तर गिरावट देखिन्छ । नेपाल विश्वमै ठुलो परिणाममा यार्सागुम्बा पाईने दोस्रो देश हो भने पहिलोमा चीन रहेको छ । तर बिडम्बना यसको व्यवस्थापनमा सरकार चुकिरहेको हुँदा त्यसको फाईदा देशले होईन ब्यक्ति (ब्यापारी) हरुले लिईरहेका छन् । यार्सागुम्बाको बार्षिक विश्व बजार करिब ११ अर्ब अमेरेकी डलर रहेको सन २०१५ को एक तथ्याङ्कले देखाएको छ ।
किन सेक्स सँग जोडिन्छ यार्चागुन्बुलाई ?
खासगरी नेपाली समाजमा यार्सागुम्बा भन्ने बित्तिकै यौनसँग जोडेर लाने र बुझ्ने चलन् विकसित भएको देखिन्छ । हामीले हेर्न सक्छौँ समाजमा घटिरहने बिभिन्न यौनप्रकरणहरुमा सामाजिक संजाल प्रयोगकर्ताहरुले अवश्यम्भावी धेरथोर यार्सागुम्बा शब्दलाई ठाउँ दिने गरेको पाईन्छ । व्यक्ति व्यक्तिमा पनि यार्सागुम्बाको ठुलो चर्चापरिचर्चा गर्ने गर्छन । अक्सर उनिहरु यौनजन्य गफगाफहरुमा नै बढी यार्सागुम्बालाई ल्याईरहेका हुन्छन् । त्यसले के प्रष्ट पार्छ भने मानिसहरुले यार्सागुम्बा जीबनबुटीलाई सेवन गर्ने बित्तिकै जादुमय यौन उत्तेजना दिन सक्ने हर्बलको रुपमा बुझेका छन् । तर जसरी यार्सागुम्बालाई हाम्रो समग्र सामाजिक बुझाईले पुरै यौनशक्तिमा लगेर ठोकेको छ, यो पुराका पुरा सत्य हो भन्नेमा व्यक्तिगत रुपमा मेरो समर्थन छैन । हाम्रो लोकल अनुभव के हो भने रगतको दिसा गरेर हैरान परेका आउँ रोगी र पाखाला लागेर निस्त्रान परेका बिरामीले राम्ररी सफा गरेको जीबनबुटी दुई तीनवटा खायो भने सन्चो हुने गरेको सत्य हो । यो बाहेक अरु अनुभव हामी सँग छैन । र उता चीनमा पनि पुरानो परम्परागत मेडिसिनको रुपमा यो जीबनबुटीलाई मृगौलाको समस्यामा प्रयोग गरिँदै आईएको थियो भन्ने ईतिहास पढ्न पाईन्छ ।
यद्धपी पछिल्लो समय विज्ञानले यसलाई मानवशरिरमा प्रतिरक्षात्मक शक्ति (Immune power) को विकास गर्ने काम गरेको बताएको छ । यो सँगै खोकी, क्रोनिक ब्रोकाइटिस, श्वासप्रश्वास समस्या, मृगौला समस्या, पुरुष यौन समस्या, ब्लडप्रेसर कम, अनियमित मुटुको धड्कन, कलेजो समस्या, चक्कर लाग्ने, कानमा घण्टी बज्ने, अनावश्यक तौल घटाउने र अफिमको लतको उपचार गर्न प्रयोग गरिन्छ भनिएको छ । तर त्यसको लागि स्वभाविक रुपमा एउटा वैज्ञानिक बिधि मार्फत जीबनबुटीको प्रशोधन गरिन्छ र त्यसपछी तयार भएर निस्केको प्रडक्ट मात्रै सम्बन्धीत समस्या तथा रोगहरुमा औषधीको रुपमा प्रयोग गर्न सकिन्छ र त्यसले देखिने गरी काम पनि गर्छ । तर काँचो यार्सागुम्बा खाने बित्तिकै अहिलेको अहिल्यै यौनशक्ति ह्वात्तै बढेर आउँने जस्तो जुन बुझाई छ यो वाहियात हो ।
एकचोटी काठमाण्डुमा एकजना रेग्मी थरका मेनपावर संचालक साथीले पनि यार्सागुम्बा बारेको यो सामाजिक बहस बारे सुनेछन् । र मलाई भन्नु भो - 'तपाई त यार्सागुम्बा पाईने ठाउँको मान्छे, ब्यापार नि गर्नु हुन्छ । खै त हाम्लाई नि दुईचार्टा फाल्दिनु परो !' यो करीब २०६८ तिरको कुरा हो । तब मैले एउटाको ३ सयको दरले ५ वटा जीबनबुटी बुझाएँ । ६/७ दिन पछी मलाई भन्नु भो - 'खै त लक्ष्मण जी ? तपाईको यार्सागुम्बाले त केही फरक दिएन त मलाई ? म उस्तै छु यार ?' तब म मजाले हाँसेँ र जवाफ दिएँ - 'मैले के भन्या थेँ र ? तपाईले नै काँ काँ बाट के के कुरा सुनेर एक्साईटेड भएर पटक पटक मागेको हैन त म सँग ?' तब उहाँ अनुहार बिगार्दै कपाल कन्याउँनु भयो र चुप लाग्नु भयो ।
जीबनबुटी लोप हुने खतरामा !
मेरो घर रुकुम पूर्वको मैकोट हो । रुकुम पुर्व लुम्बिनी प्रदेशकै एक मात्र हिमाली जिल्ला हो । नेपालकै उत्कृष्ट जीबनबुटी पाईने दुई जिल्ला मध्य एक रुकुम पूर्व हो भने अर्को छिमेकी जिल्ला डोल्पा । बुबाहरुको पालामा नेपालमा जीबनबुटीको पहिचान भईसकेको थिएन । हाम्रो पुर्खौली पेशा भेडा पालन भएको हुँदा उहाँहरु मैकोटका पुपाल, पुथावन, लाम्सार, कुण्डला, घुराँ-पुर्वाँ र जङ्गलाभन्ज्याङ जस्ता ४५ सय देखि ५ हजार उचाईका हिमाली बुकी पाटनहरुमा जेठ असाढ महिना तिर भेडाहरु सँग पुग्दा यो जीबनबुटी च्याऊ भुईभरी जमरा झैँ उम्रेको भेटिन्थ्यो रे ! धेरै जसो भेडाहरुले कुल्चेर छोड्थे भने गोठालेहरुले सोरेर ल्याएर तरकारी पनि खान्थे रे । तरकारी खुब मिठो हुने गरेको उहाँहरु सुनाउँनु हुन्छ ।
करिब २०४५/४६ सालितिबाट यसको किनबेच हुन थालेछ । त्यतिबेला धार्निको हिसाबले किनबेच हुन्थ्यो रे । मेरो ससुराबा छाया पुन मगर जो तत्कालीन पन्चायतमा दुईपटक प्रधानपन्च भई काम गर्नु भएको र आफैमा एक सफल ब्यापारी पनि हो । उहाँ ति दिनहरु सम्झिँदै भन्नु हुन्छ - त्यतिबेला त सरकारलाई पनि केही मत्लब थिएन, दस्तुर तिर्नु पर्दैनथ्यो । भोटेहरु आउँथे उनैलाई बेच्थ्यौँ । धार्नीको १५ सय २ हजार सम्ममा बेच्थ्यौँ।' एक धार्नीमा झण्डै ६ हजार गोटा यार्सा जान्छ । उहाँको अनुसार २०४८ सालतिर बल्ल यो गोटा सिस्टममा आएको हो । र गोटाको एक रुपैया दुई रुपैया यस्तैमा यो बिक्री हुन थालेछ । र त्यतिबेला देखिनै यसको नाम जीबनबुटी भनेर भनिएको रहेछ । त्यसपछि निरन्तर यसको ब्यापार भईरह्यो । मुल्य पनि हरेक बर्ष बढीरह्यो ।
५२ सालमा माओबादीले रुकुम रोल्पाबाटै जनयुद्धको थालनी गरेको हुँदा त्यसको प्रभाव जीबनबुटी ब्यापारी र यो संकलन गर्ने स्थानीय जनतालाई पर्यो । बिस्तारै माओबादीले आफ्नो कब्जामा यस ब्यापारलाई लिन थाल्यो । स्थानीय जनतालाई टिप्न दिने तर त्यो माओबादीले किन्ने र उसैले बाहिर बच्ने गर्यो । पार्टी र संगठन चलाउँन उनिहरुले एउटा आयस्रोतको रुपमा मैकोटको यार्सागुम्बाभुमीलाई प्रयोग गरे । त्यहाँबाट उठेको मुनाफा साँच्चै पार्टीमा काम लाग्यो या केही सिमित नेताको जीबनस्तर बढल्न काम लाग्यो यो अर्कै बहसको पाटो भईहाल्यो जो उनिहरुलाई थाहा होला ।
चर्किँदै गएको शसस्त्र जनयुद्धको त्यो भिषण लडाईको क्रममा जीबनबुटी टिप्न जान पनि जोकसैले आँट गर्दैनथे । उमेर पुगेका आँटिला युवायुवतिहरु भने मुर्ख गरेर जान्थे । जतिबेला यार्साको मुल्य प्रतिगोटा ५ रुपैया पुगेको थियो । यार्सा खोज्ने सर्वसाधारण मानिसहरु धेरैमा हजार पन्ध्रसयको संख्यामा पुग्थे । तर यार्सागुम्बा भने २०/२५ कुईन्टल को हाराहारीमा संकलन हुन्थ्यो केवल मैकोटको बुकीमा मात्रै । २०५६ सालमा तत्कालिन शाही सरकारले दंगा नामक प्रहरी फोर्स सहितको ४/५ वटा हेलिकप्टर पठाएर त्यो यार्सागुम्बा भुमी अप्रेशन गर्यो । हेलिमा पुगेका ति निर्मम दंगा प्रहरीफोर्सले साँच्चैका माओबादीहरु कसैलाई भेट्न सकेन । बरु त्यहाँका घोडा र खच्चड गोठालेहरुलाई गोली हानेर गोठकै त्रिपालमा आगो लगाएर जलाएर हत्या गर्यो ।
होटलमा चिया खाईरहेका ब्यापारीहरुलाई गोली ठोकेर हत्या गर्यो । राज्यको यो आतङ्कले झन त्यहाँका पुरै जनतालाई राज्यको बिरुद्धमा सबै माओबादी बन्न बाध्य बनायो । र यसक्रममा यार्सागुम्बा लुकीलुकी खोज्नेहरु बाहेक औपचारिक किनबेचको प्रक्रिया थप्प भयो । २०५८ सालमा माओबादीको थेग्नै नसकिने तिब्र आक्रमण हुँदै आएपछि मैकोट स्थित ईलाका प्रहरी कार्यालय आफ्सेआप डरले सदरमुकाम सिफ्ट भयो भाग्यो । त्यसपश्चात फेरि यार्सागुम्बाको ब्यापार र खोजी कार्य उकालो लाग्यो । २०६० सालमा म पहिलोपटक यार्सागुम्बा खोज्न दिदी दाईहरुसँग हिमालतिर लागेको थिएँ । जतिबेला प्रतिगोटा २० रुपैया पुगेको थियो । २०६२/०६३ को शान्ति प्रक्रियापछि झन यार्साको मुल्य पनि बृद्धि हुँदै गयो संकलन गर्ने मानिसहरु पनि असाधारण हिसाबले बढ्दै गए । देशबिदेशका पत्रकार, डकुमेन्ट्री मेकर्सहरुको आगमन बढ्दै गयो ।
रुकुममा दुईवटा कारणले मानिसहरु पुग्न ईच्छुक हुन थाले - एउटा देश बदल्न अहम् भुमीका खेलेको १० बर्षे जनयुद्धको प्रमुख केन्द्र (उद्गम थलो) भएको कारणले । अर्को असाधारण तरीकाले मुल्यबृद्धि हुँदै गएको बहुमुल्य यार्सागुम्बाको भुमी भएको कारणले । २०६६ सालमा तनहुँका पत्रकार तथा वृत्तचित्र निर्माता दिपेन्द्र भण्डारी पनि यार्सागुम्बा सिजनमा यहीँ मैकोट पुगे । उनले यार्सा टिप्न जाने हजारौँ यात्रीहरुको अचम्मको दृश्य र त्यो भिडभित्रका कथाब्याथालाई वृत्तचित्रमा कैद गरे । दिपेन्द्रको भाग्य भन्नु पर्छ त्यही सालनै नसोँचिएको मानिसहरुको ठुलो आगमन भएको थियो । म पनि मैकोटको स्थानीय भएको नाताले यार्सागुम्बा सिजन ब्यवस्थापन समितिको सदस्य थिएँ । हाम्रो समितिको गन्तिमा त्यो साल ८ हजार मानिसहरु पुगेका थिए यार्सा खोज्न । भन्डारीले 'जर्नी टु यार्सा' (Juorney to Yarsa) नामको वृत्तचित्र तयार पारे । जो निकै चर्चामा पुग्यो, राष्ट्रिय अन्तराष्ट्रिय थुप्रै अवार्डहरु प्राप्त गरे । यो साल यार्साको भाउ प्रतिगोटा १०० पुगेको थियो । तर जति जति बर्ष बित्दै आयो त्यति त्यति नै यसको कुल उत्पादन घट्दै आयो ।
२०६६/०६७ साल को सिजनमा मैकोटको कुल यार्सा जोड्दा करीब दुई कुईन्टलमा सिमित रह्यो । भने दश बर्षपछी गएको २०७६/०७७ साल सम्म आउँदा जम्मा ७०/८० केजी मा सिमित भएको छ । हो यसरी बर्षेनी हज्जारौँको संख्यामा मानिसहरुको भार त्यो स्वच्छ हिमालमा पर्न थालेपछि त्यसले प्रकृतिलाई पनि प्रत्यक्ष असर पुगेको हुनुपर्छ । यार्सागुम्बाले फोहोर तथा दुषित मानव क्रियाकापहरु नसहने अर्थात त्यस्तो ठाउँमा नउम्रिने हुनसक्छ । किनकी मानिसहरुले जताततै जथाभावी दिसाबपिसाब गर्छन् । खानेकुराहरु खाएर फोहोर जथाभावी फाल्छन् । जति धेरै मानिस जान्छन् त्यतिनै धेरै मानव उपभोग्य चिजहरु पुग्छन । पछिल्लो समय त झन यार्साभुमीमै अस्थायी फिल्महलहरु, क्यासिनो रेष्टुरेण्टहरु संचालन गर्छन र ति सबैले पेट्रोलियम पदार्थको भारी खपत गर्छन ।
यस्ले स्वभाविक रुपमा प्रकृतिलाई आफ्नै निरन्तरतामा घुम्न र चल्न असर गरीरहेको हुनुपर्छ । र अर्को कारण विश्वव्यापी रुपमा भईरहेको जलवायु परिवर्तन पनि हुनसक्छ । तर यार्सागुम्बाको उत्पादनमा निकै ह्रास आएको छ । र यो घट्ने क्रम निरन्तर छ । यो केवल रुकुम पुर्वको मैकोटको मात्रै अवस्था होईन । आज अधिराज्यभरका यार्सागुम्बा हुने क्षेत्रहरुको यथार्थता सबैको यही रहेको छ । वास्तवमा यो समग्र देशको चिन्ताको बिषय हुनु पर्ने हो । तर राज्य स्तरबाट यतातिर कुनै चासो र चिन्ता गएको भेटिँदैन । यस समस्याको समाधानको लागी वैज्ञानिक विकल्प खोजिएन भने अब निकट भविष्यमा यार्सागुम्बा (जीबनबुटी) लोप हुने खतरामा छ ।
(यो लेख ३ महिना अघि स्याङ्जा समाज जापान क्षेत्रिय समिति नागोयाको 'प्रवासी नेपाली' नामक स्मारिकाको प्रथम संस्करणमा प्रकाशित भईसकेको छ । उक्त स्मारिकाका प्रधानसम्पादक निशान राना मगर सँगको सहमतिमा यहाँ कखरा डटकम मार्फत प्रकाशित गरिएको छ)