Kakhara सबैको खबर सम्पूर्ण खबर
लोप भइसकेको श्रमदानलाई व्युताउँदै त्रिवेणी १ 

कुनै समय थियो गाउँघरमा धेरै काम सामुहिक श्रमदानमा हुन्थे । बाटोघाटो, पुल पुलेसा देखि सिँचाईको कुलो समेत गाउँलेहरुले मिलेर श्रमदानमा निर्माण, मर्मत गर्थे । झारामा विभिन्न काम हुन्थे । यसले एकातिर निःशुल्क ठुलठुला कामहरु बन्थे भने अर्कोतिर मान्छेहरु विचमा सामुहिक भावनाको विकास थियो । तर हाल भने सानसाना कामका लागि पनि सरकारको मुख ताकेर वस्ने प्रवृत्तिको विकास भएको छ । आफ्नै घर अगाडी ढल बुझिएर फोहर वाटोमै बगेपनि सरकारले गरेन भनेर सरकारलाई नै गाली गरी वस्ने स्वभावको विकास भएको छ । एकल भावनाले मानिसहरुलाई गाँज्दै लगेको छ । 

यस्तो अवस्थामा रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ ले सामुहिक भावनाको विकास गर्ने हेतुले स्वच्छिक श्रमदानको अवधारणा ल्याएको छ । अव वडावासीले प्रत्येक महिनाको अन्तिम शनिबार स्वच्छिक श्रमदान गर्न पाउँने छन् । वडामा निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले जेठ ९ गते नै यस्तो निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनको चरणमा वडा छ । यो महिनाको अन्तिम शनिबार अर्थात जेठ २८ गते स्वच्छिक श्रमदान कार्यक्रम संचालन हुने वडाध्यक्ष सुन्दर ओलीले जानकारी दिनुभयो । 

अन्तिम शनिबारका दिन शारिरीक श्रम गर्ने भनि प्रतिवद्धता गरे बमोजिम जेठ २८ गते श्रमदान गर्न लागिएको ओलीले बताउनुभयो । उहाँका अनुसार श्रमदानको पहिलो दिन जेठ २८ गते वडा कार्यालय देखि कोर्वाङखोलासम्मको सडकको नाला मर्मत तथा सुधार गरिने छ । श्रमदानमा सहभागि हुन वडाले सबै वडावासीलाई अनुरोध गरेको छ । श्रमदानमा सहभागि हुन चाहनेलाई विहान ६ बजे वडा कार्यालयमा जम्मा हुन वडाले आग्रह गरेको छ । जनप्रतिनिधि तथा वडावासीको सहभागितामा श्रमदान हुने बताईएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update