
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पालिका स्तरीय पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुद विकास समितिले असार ३ र ४ गते चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको रंगशालामा जिल्लाका ६ वटा पालिकाको सहभागितामा प्रतियोगिता गर्ने भएको हो । जिल्लामा पहिलो पटक पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताको विजेताले ७० हजार नगद, कप र मेडल प्राप्त गर्ने छ ।
उपविजेता टिमले ४० हजार नगद पुरस्कार प्राप्त गर्दा सेमिफाईनलमा पुग्ने २ टीमले २०/२० हजार पुरस्कार पाउने अध्यक्ष शर्माले बताउनुभयो । प्रतियोगिता नकआउट सिस्टममा संचालन हुने बताईएको छ । त्यस्तै स्थानीय तह बनेपछि जिल्लामा पहिलो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड संचालनको तयारी गरिएको छ । शिल्ड संचालनको प्रस्ताव भोली बिहान बस्ने निर्देशक समितिको बैठकमा लैजान लागिएको र उक्त प्रस्ताव पारित भएमा शिल्ड संचालन हुने अध्यक्ष शर्माले बताउनुभयो ।