Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसीकोटमा अनेमसंघको २ सय ५५ सदस्यीय संघर्ष समिति
भेला अघि अनेमसंघले खलंगामा निकालेकाे र्याली ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा पनि संसद विघठनको असंवैधानिक कदमका विरुद्धमा लाग्न संघर्ष समिति गठन गरिएको छ । नेकपा प्रचण्ड–नेपाल समुहको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले आज भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरी संघर्ष समिति गठन गरेको हो । ५ सदस्यीय कार्यालय समिति सहित २ सय ५५ सदस्यीय संघर्ष समिति गठन भएको संघर्ष समिति जिल्ला कार्यालय सदस्य इन्दिरा बिएमले जानकारी दिनुभयो । गाउँपालिकामा कम्तिमा १ सय ६५ र नगरपालिकामा कम्तिमा १ सय ७५ सदस्यीय समिति गठन भइरहेको उहाँकोे भनाई छ ।

भेला तथा प्रशिक्षण कार्यक्रम मुसीकोट नगरपालिका ५ शेरीगाउँ स्थित सभाहलमा भएको थियो । कार्यक्रममा अनेमसंघकी केन्द्रीय सदस्य तथा जिल्ला संघर्ष समिति कार्यालय सदस्यहरु देवि ओली र लुम्बिनी गौतम तथा नेकपाका जिल्ला सचिव बिमल पुन, मुसीकोट नगर प्रमुख देविलाल गौतम, उपप्रमुख प्रेमकुमारी सुनार र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष व्युझना पुनको आतिथ्यता रहेको थियो ।

संघकी पूर्व जिल्ला अध्यक्ष तथा जिल्ला संघर्ष समिति कार्यालय सदस्य इन्दिरा बिएमको अध्यक्षतामा भएको कार्यक्रमको संचालन रीमा खड्काले गर्नुभएको थियो । भेला तथा प्रशिक्षण कार्यक्रम हुनुपूर्व अनेमसंघले मुसीकोटमा र्याली निकालेको थियो । केपी ओलीले चालेका सम्पूर्ण असंवैधानिक कदमका विरुद्ध र्याली निकालिएको अनेमसंघले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २२, २०७७  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update