रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा विपद्को समयमा उद्धार, राहात, सहजिकरण लगायतका क्रियाकलापको व्यवहारिक नमुना अभ्यास गरिएको छ । विपद्को समयमा गर्नुपर्ने उद्धार, राहत, उपचार लगायतका क्रियाकलापको व्यवहारिक अभ्यास गरी समन्वय तथा सहजीकरणलाई चुस्त र प्रभावकारी बनाउने उदेश्यले नमुना अभ्यास गरिएको हो ।
विपद व्यवस्थापनमा संलग्न हुने निकायहरुलाई क्रियाशील बनाई तयारी अवस्थामा राख्ने उदे्श्य पनि यसबाट राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नेपाली सेनाको नरसिंह दल गणमा अभ्यास भएकाे थियाे । नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले डेमाे देखाएका थिए । सैनिकहरुले मनसुनको कारण हुने घटनाको उद्दार, राहत तथा उपचार व्यवस्थापनको समन्वय तथा सहजिकरणको डेमो प्रस्तुत गरेका थिए । बिहिबार उद्धारको अभ्यास गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय, नरसिंह दल गण, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म, मुसीकोट नगरपालिका, जिल्ला अस्पताल र नेपाल रेडक्रस सोसाईटीको संयुक्त व्यवस्थापनमा नमुना अभ्यास भएको हो । यो अभ्यासबाट जिल्लामा क्रियाशील निकायहरुको तयारीको अवस्था, उपलब्ध स्रोत साधनको अवस्था, समन्वयको अवस्थाबारे पहिचान भई कमजोर देखिएका विषयहरुमा सुधार गर्नका लागि सिकाई भएको बताईएको छ ।
नमूना अभ्यासमा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थपन समितिका अध्यक्ष परमानन्द घिमिरे, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
फाेटाे जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराएकाे हाे ।