होमप्रकाश श्रेष्ठ ‘हिमाल’ धेरैले चिनेको मान्छे तथा सुनेको नाम हो । दश वर्ष चलेको जनयुद्धपूर्वदेखि जनयुद्धकालभर निरन्तर कमाण्डरको भूमिका निर्वाह गर्नुभएका उनै श्रेष्ठ अब फरक भूमिकामा आइपुग्नु भएको छ । भूमेको कमाण्डर अर्थात समग्र भूमे गाउँपालिकाको विकासका लागि जनताले श्रेष्ठलाई त्यो जिम्मेवारी दिएका छन् । श्रेष्ठले भूमेको समृद्धिका लागि समग्र कमाण्डिङ गर्नुपर्ने छ । वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनका क्रममा श्रेष्ठ भूमे गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभयो । भारी मतान्तरका साथ भूमेबासीले श्रेष्ठलाई गाउँपालिकाको कमाण्डिङ गर्न आदेश गरेका छन् । श्रेष्ठले निकटतम प्रतिस्प्रधि भन्दा झण्डै ३५ सय मत बढी ल्याउनुभयो । ३ हजार ९ सय ७५ मत ल्याउनु भएका श्रेष्ठको मतान्तर ३ हजार ४ सय ७२ छ । निकटतम प्रतिस्प्रधिको पक्षमा ५ सय ३ मत आयो ।
१९ वर्षमै राडी प्रहरी चौकी आक्रमणको एक सदस्य
४६ वर्षीय श्रेष्ठ जनयुद्ध घोषणा पूर्व नै पार्टीमा क्रियाशिल हुनुहुन्थ्यो । २०४९ सालमा वाइसीएलमा आवद्ध भएर उहाँ पार्टीको काममा हिड्नुभएको थियो । २०५०/०५१ सालमा उहाँले पार्टीको सदस्यता प्राप्त गरिसक्नुभएको थियो । २०५१/०५२ मा उहाँ वाइसीएलको रुकुम जिल्ला सदस्य भएर जनयुद्धको तयारीको काममा जुट्नु भएको थियो । जनयुद्धको तयारीका क्रममा श्रेष्ठले सुरक्षा दल, लडाकु दलको सदस्य र स्वयसेवकको भूमिका निर्वाह गर्नुभयो । १९ वर्षकै उमेरमा श्रेष्ठ प्रहरी चौकी आक्रमणमा सहभागि हुनुभयो । तत्कालिन माओवादीले जनयुद्ध घोषणासँगै गरेको रुकुमको राडी प्रहरी चौकी आक्रमणको एक सदस्य हुनुहुन्थ्यो श्रेष्ठ । राडी प्रहरी चौकी आक्रमणका क्रममा श्रेष्ठको जिम्मेवारी क्याप्चर ग्रुपमा थियो । सो जिम्मेवारी उहाँले कुशलतापूर्वक निर्वाह गर्नुभयो ।
निरन्तर कमाण्डर
जनयुद्ध घोषणा भएपछि उहाँ निरन्तर कमाण्डर बन्नुभयो । सफलतापूर्वक जिम्मेवारी पनि निर्वाह गर्नुभयो । २०५२ सालमा रुकुमको राडी प्रहरी चौकी आक्रमण पश्चात २०५३ मा उहाँ पहिलो कमाण्डर बन्नुभयो । सुरुमा श्रेष्ठ स्क्वायड कमाण्डर बन्नुभयो । त्यतिबेला माओवादीले स्वायड मार्फत फर्मेशन गरेको थियो । २०५४/०५५ मा माओवादीले सेनाको फर्मेशन गर्यो । जसमा माओवादीले ३ वटा सेनाका प्लाटुन बनायो । ति ३ वटा प्लाटुन मध्यको एउटा प्लाटुनको कमाण्डर श्रेष्ठ बन्नुभयो । जनयुद्धका क्रममा तत्कालिन नेकपा माओवादीले जनमुक्ति सेनाका ३ प्लाटुन बनाएको थियो । १ नम्बर प्लाटुन रोल्पा, २ नम्बर प्लाटुन रुकुम र सल्यान तथा जाजरकोटको गरी ३ नम्बर प्लाटुन । यी तीन मध्यको २ नम्बर प्लाटुनको पहिलो कमाण्डर बन्नुभएको थियो श्रेष्ठ । प्लाटुनपछि बनेको कम्पनी, बटालियन, विग्रेड कमाण्डर पनि उहाँ बन्नुभयो । जनमुक्ति सेनाको फर्मेशन विस्तार हुँदै जाने क्रममा जुन जुन फर्मेशन विस्तार हुन्छ त्यस मध्यको एउटा कमाण्डर श्रेष्ठ बन्नुभएको थियो । यसबीचमा उहाँले विग्रेड कमिसारको भूमिका पनि निर्वाह गर्नुभयो ।
राइफल कब्जाको नेतृत्व
जनयुद्धको थालनी माओवादीलाई हतियारको महत्व धेरै थियो । माओवादीसित केही भरुवा बन्दुक, घगारुको ली, खुकुरी मात्रै थिए । लडाई बढ्दै जाँदा हतियारको आवश्यक्ता बढेकै थियो । तर हतियार पुगिरहेको थिएन । तत्कालिन समयमा हतियार किन्ने भन्दा कब्जा गर्ने रणनीतिमा पार्टी थियो । त्यही सिलसिलामा श्रेष्ठकै नेतृत्वको एक टोलीले राइफल कब्जा गरेको थियो । २०५४ सालमा हालको पुथाउत्तरगंगा गाउँपालिका १२, क्युबाङचौर नजिकै उहाँ नेतृत्वको टोलीले प्रहरीबाट राइफल कब्जा गरेको थियो । हतियारको आवश्यक्ता बढिरहेका बेला कब्जा भएको राइफलले लडाइमा त सहयोग गरेको थियो नै लडाकुहरुको पनि मनोबल बढाउने त्यो कार्यले ठूलो भूमिका निर्वाह गरेको श्रेष्ठले बताउनुभयो । जनयुद्धभर राइफल कब्जा सहित ३० औं लडाई लडेको श्रेष्ठले बताउनुभयो । तत्कालिन समयमा भएका केही मात्रै लडाईमा आफू छुटेको नत्र अधिकांश लडाईमा सहभागि भएको उहाँले बताउनुभयो ।
जनयुद्धमा केन्द्रीय सदस्य हाल जिल्ला संयोजक
उहाँ जनयुद्धकै क्रममा तत्कालिन माओवादीको केन्द्रीय सदस्य बन्नुभएको थियो । २०६० सालका ९५ केन्द्रीय सदस्यमध्य उहाँ एक हुनुहुन्थ्यो । त्यसपछि शान्ति प्रक्रिया हुँदै हाल उहाँ नेकपा माओवादी केन्द्र रुकुम पूर्वको जिल्ला संयोजक हुनुहुन्छ । शान्ति प्रक्रियापछि उहाँ पार्टीको मगरात राज्य समिति सदस्य बन्नुभयो । एमालेसँगको एकताको क्रममा उहाँल प्रदेश समितिको सदस्य बन्नुभयो । त्यतिबेलै उहाँलाई पार्टीले जिल्ला संयोजक भनेर जिल्लाबाट सिफारिस गरेको थियो । पछिल्लो पटक श्रेष्ठले पार्टीको जिल्ला संयोजकको जिम्मेवारी सम्हाली रहनुभएको छ । जनयुद्ध सुरु हुनु पूर्वदेखि हालसम्म उहाँ जनमुक्ति सेनादेखि पार्टीका विभिन्न मोर्चामा रहेर कार्य सम्पादन गरिसक्नु भएको छ । उहाँ हाल पार्टीको जिल्ला संयोजक मात्रै नभएर लुम्बिनी प्रदेश समस्य समेत हुनुहुन्छ ।
विकासका र समृद्धिको च्याप्टर
भूमे गाउँपालिकाको अध्यक्षको कुर्सीमा बसेर उहाँ गाउँपालिकाको समग्र विकासको योजना कोर्दै हुनुहुन्छ । जनयुद्ध, शान्ति प्रक्रियालाई एउटा च्याप्टरको रुपमा बुझ्ने श्रेष्ठले अबको च्याप्टर भनेको समग्र समृद्धिको भएको बताउनुभयो । विकास र समृद्धिको च्याप्टरमा जनतलाई जोडेर अघि बढ्न सकेपछि समाजवादमा पुग्ने सकिने भनाई उहाँको छ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन यसमध्यमा पनि प्राकृतिक पर्यटनसँग जोडिएर जनताको जीवन स्तर उकास्ने कामका लागि स्थानीय सरकार लाग्नुपर्ने भनाई उहाँको छ । भूमेको विकासमा स्थानीय सरकार जनतासँगै अघि बढ्ने, शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय बनाउने, पर्यटनलाई जनताको घर र आम्दानीसँग जोड्ने योजना रहेको उहाँले बताउनुभयो । सडक निर्माणको सन्दर्भमा निर्वतमान कार्यपालिकाले धेरै गरेको भन्दै अब त्यसको दिगो व्यवस्थपनमा ध्यान दिँदै जनतालाई रोजगारीमा जोड्ने, आम्दानी बढाउने कुरामा भूमे सरकार केन्द्रीत हुने र यसमा सबै भूमेबासीलाई हिडाल्ने योजनामा श्रेष्ठ हुनुहुन्छ ।