रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा कार्यरत स्वयंसेवक शिक्षकहरुले तलब बढाउन माग गरेका छन् । आज बसेको नगर स्वयंसेवक शिक्षकहरुको बैठकले आगामि आर्थिक वर्ष २०७९/०८० देखि स्वयंसेवक शिक्षकको तलब भत्ता नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसारको बनाउन माग गरेको हो ।
अहिले खाईपाई आएको सेवा सुविधा कम भएको भन्दै उनिहरुले बढाउन माग गरेका हुन् । स्वयंसेवक शिक्षकहरुले पोषाक भन्दा पनि अन्य शिक्षक सरह उपलब्ध गराउन माग गरेको छ । त्यस्तै नगर स्वमंसेवक शिक्षकको नाम परिवर्तन गर्न बैठकले नगरपालिका समक्ष माग गरेको छ ।
हाल कामय गरिएको नगर स्वयंसेवक शिक्षक नाम परिवर्तन गरी नगर शिक्षक कायम गर्न माग गरिएको नगर स्वयंसेवक शिक्षक तदर्थ समितिले जनाएको छ । यसका साथै कुनै स्वयंसेवक शिक्षकको दरबन्दी रिक्त हुन गएमा घरपायक मिलाई दिनपनि शिक्षकहरुले माग गरेका छन् ।
तदर्थ समितिका सचिव ओपेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको बैठकमा ७० जनाको सहभागिता रहेको थियो । बैठकले गरेका निर्णय नगरपालिकामा बुझाउने उहाँले बताउनुभयो । मुसीकोट नगरपालिकाभरमा झण्डै एकसय जना स्वयंसेवक शिक्षकहरु रहेका छन् । दरवन्दी अनुसार शिक्षक नहुँदा पठन पाठनमा समस्या भएको भन्दै अघिल्लो सरकारले स्वयंसेवक शिक्षक भर्ना गरेको थियो ।