रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ मा स्वैच्छिक जनश्रमदान भएको छ । हरेक महिनाको अन्तिम शनिबार स्वैच्छिक जनश्रमदान गर्ने वडाको निर्णय अनुसार जेठ २८ गते अर्थात आज श्रमदान भएको हो । वडाका जनप्रतिनिधि र वडावासीहरु मिलेर करिब ४ सय मिटर सडकको नाला मर्मत तथा सुधार गरिएको छ ।
वडा कार्यालय देखी कोर्वावाङ खोलासम्म सडकको नाला मर्मत गरिनुका साथै सडकमा खसेका ढुगां पनि हटार्ईएको छ । जनश्रमदान गर्न वडावासीहरुको राम्रो उपस्थिति रहेको वडा अध्यक्ष सुन्दर ओलीले बताउनुभयो । वडाका सम्पूर्ण निर्वाचित जनप्रतिनिधि र वडावासीहरु मिलेर श्रमदान गरेको उहाँले बताउनुभयो ।
आज वडामा वस्ति स्तरका योजना छनोट कार्यक्रम भएकाले विहान ६ वजे देखि ११ बजे सम्म काम गरिएको र अन्य महिनाको अन्तिम शनिबार भने ८ घण्टा काम गरिने उहाँले बताउनुभयो । स्वैच्छिक जनश्रमदान गर्ने प्रक्रिया निरन्तर आफ्नो कार्यकाल अर्थात ५ वर्षसम्म चलिराख्ने वडा अध्यक्ष ओलीले बताउनुभयो ।