Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ६ महिनामा २६ वटा मानव अधिकार उल्लंघनका घटना 

रुकुम पश्चिममा वितेको ६ महिनामा २६ वटा मानव अधिकार उल्लंघनका घटना भएका छन् । अंग्रेजी महिनाको जनवरी देखि हालसम्म जिल्ला भरमा विभिन्न प्रकारका २६ वटा मानव अधिकार उल्लंघनका घटनाहरु भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले विवरण सार्वजनिक गरेको छ । यो अवधिमा सबैभन्दा बढी घरेलु हिंसा, धम्की, कुटपिटका घटना भएका छन् । यस सम्बन्धी ११ वटा घटना भएको इन्सेक प्रतिनिधि मनिषा केसीले जानकारी दिनुभयो ।

त्यस्तै गैरराज्य पक्षबाट धम्की तथा कुटपिटका ९ वटा मानव अधिकार उल्लंघन तथा ज्यादतिका घटना भएको उहाँले बताउनुभयो । यि घटना वैशाख ३० गते भएको स्थानीय तह संग सम्बन्धीत छन् । चुनावलाई लिएर राजनीतिक दलहरुका विचमा मनमुटाव हुँदा यि घटना भएको तथ्यांकमा उल्लेख गरिएको छ । त्यस्तै जिल्लामा ६ महिनाको अवधिमा बलात्कार, बलात्कार प्रयास र यौन दुव्र्यवहारका ३ वटा, परिवारजनबाट हत्या एउटा, आत्महत्या दुरुत्साहनको एउटा र वहुविवाह सम्बन्धीको एउटा घटना भएको बताईएको छ । 

कार्यक्रमका सहभागिहरुले प्रतिवेदनमा केही घटनाहरु छुटेको भन्दै थप गर्न सुझाव दिएका थिए । कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, नेपाली कांग्रेसका कर्णाली प्रदेश सदस्य सीता ओली, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिन, जिल्ला प्रहरी प्रमुख विष्णुप्रसाद सोती, गैरसरकारी संस्था महासंघका अध्यक्ष नारायणकुमार शाहको उपस्थिति रहेको थियो ।

त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसी, जिल्ला बार इकाई रुकुम पश्चिमका सचिव रचना मल्ल, महिला मानव अधिकार रक्षक सञ्जालकी अध्यक्ष व्युझना पुन देवकोटा लगायतको पनि उपस्थिति रहेको थियो ।
 

प्रकाशित मिति: आइतबार, जेठ २९, २०७९  १७:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update