Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा ८ सय ७४ जनाले लगाए कोरोना विरुद्धको खोप
जिल्लामा पहिलो व्यक्तिका रुपमा खोप लगाउँदै स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकी ।

रुकुम पश्चिममा पहिलो चरणमा ८ सय ७४ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाएका छन् । माघ १४ गते बुधबारबाट जिल्लामा खोप लगाउन सुरु भएकामा आजसम्म ८ सय ७४ जनाले खोपको पहिलो डोज लगाएका हुन् । पहिलो चरणमा खोप पाउँनेको संख्या लगभग यति नै रहेको बताईएको छ । स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, स्वास्थ्य संस्थामा कार्यरत अन्य कर्मचारी, नगरपालिकाका सफाई कर्मचारी, कैदीबन्दी, सुरक्षाकर्मी लगायतले पहिलो चरणमा खोप पाएको स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सेवा कार्यालय मुसीकोट सल्लेबाट ६ सय ३५ जनाले र चौरजहारी अस्पतालबाट २ सय ३९ जनाले खोप लगाएका हुन् । पहिलो चरणको खोप कार्यक्रम लगभग सकिएको उहाँले बताउनुभयो । खोपका लागि दर्ता भएका लगभग सबैले खोप पाएको र कोही छुटेको भए भोलीसम्म खोप लगाईने खड्काले बताउनुभयो । पहिलो चरणको खोप कार्यक्रम भोली सकिदै छ । जिल्लामा कुल २ सय ३८ भाईल खोप आएको थियो । यस मध्ये अहिलेसम्म ९० भाईल जति खोप प्रयोग भएको र अझै जिल्लामा १ हजार जनालाई लगाउन सकिने खोप बाँकी रहेको खोप सुपरभाईजर अधिकृत खड्काको भनाई छ ।

पहिलो चरणको खोपका लागि करिब साढे ७ सयको नाम दर्ता भएपनि कैदीबन्दी र सुरक्षाकर्मी सहित अन्य केहिलाई पनि खोप दिईएका कारण बढीले खोप पाएको उहाँले बताउनुभयो । अव दोस्रो चरणको खोप लगाउ भनेर निर्देशन आयो भने बचेको खोप लगाउने सुरु गर्ने उहाँले बताउनुभयो ।यसैविच खोपको पहिलो डोज पाएकाहरुलाई एक महिना पछि दोस्रो डोज दिईने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लामा खोप लगाएका सबैको अवस्था सामान्य रहेको बताईएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०७७  १६:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update