रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ११, को कार्यालय बनाउन जग्गा प्राप्त भएको छ । निःशुल्क प्राप्त भएको जग्गा वडा कार्यालको नाममा पास समेत भइसकेको छ । ८ लाख बढी मूल्य पर्ने जग्गा दान गर्ने व्यक्ति हुनुहुन्छ, विर्खबहादुर ओली । सामान्य परिवारका ओलीले ३ सय बर्गमिटर जग्गा वडा कार्यालको नाममा पास गरिदिनुभयो ।
स्वास्थ्य चौकीमा कार्यालय सहयोगीको रुपमा कार्यरत ओलीले वडा कार्यालयलाई निःशुल्क जग्गा दान गर्नुभएको हो । काफलबोटमा बाली लगाइरहेको जग्गा उहाँले वडा कार्यालयको नाउँमा पास गरिदिनुभएको हो । वडा र गाउँको विकासका लागि आफूले सक्दो जिम्मेवारी पूरा गरेको ओलीले बताउनुभयो ।
‘वडा, गाउँपालिका, जिल्ला र देश बनाउन कुनै कुनै रुपमा नगरिकको सहयोग हुनुपर्छ जस्तो लाग्छ यसैले मैले पनि सकेको सहयोग गरेको हुँ,’ ओलीले भन्नुभयो, ‘वडा कार्यालय बनेपछि नागरिकलाई सेवा लिन र सेवा प्रवाह गर्न सजिलो होस् भन्ने चाहेको छु ।’ हाल वडा कार्यालय भाडाको घरमा सञ्चालन भइरहेको छ । चालु आर्थिक वर्षमा जग्गा भएको ठाउँसम्म सडक पुर्याउने, घडेरी मिलाउने र आगामी आर्थिक वर्षमा वडा कार्यालय भवन निर्माण गर्ने योजना बनाइएको वडाध्यक्ष भूपालसिङ ओलीले बताउनुभयो ।