Kakhara सबैको खबर सम्पूर्ण खबर
लुम्बिनी गौतमको राजनीतिक यात्राः पहिलो महिला सेक्रेटरीदेखि पहिलो समन्वय प्रमुखसम्म 

स्थानीय तह निर्वाचन २०७९ का लागि नेकपा माओवादी रुकुम पश्चिमले उम्मेदवार छनौट गर्दा एउटा निर्णय गरेको थियो । जिल्ला समन्वय समिति प्रमुखको उम्मेदवार महिलालाइ बनाउने । पार्टीको केन्द्रीय कार्यालयले जित्न सक्ने एउटा पालिकामा महिलालाई अध्यक्ष वा प्रमुखको उम्मेदवार बनाउनुपर्ने सर्कुलर जारी गरेको थियो । सोही सर्कुलर अनुसार माओवादी रुकुम पश्चिमले ६ वटा पालिकाका प्रमुख वा अध्यक्षको उम्मेदवार महिलालाई बनाएन र जिल्ला समन्वय समितिको प्रमुखको उम्मेदवार महिलालाई बनाउने निर्णय गरेको थियो । अन्तत उक्त निर्णय कार्यान्वयन भयो । माओवादीले महिलालाई उम्मेदवार मात्रै बनाएन माओवादी केन्द्रको उम्मेदवार निर्विरोध निर्वाचित भइसक्नुभयो । लुम्बिनी गौतम, जिल्ला समन्वय समिति रुकुम पश्चिमको प्रमुखमा निर्वाचित हुनुभएको छ । अरु पार्टीको उम्मेदवारी नपरेपछि प्रमुखमा गौतम सहित उपप्रमुखमा देवबहादुर कामी तथा ७ सदस्य पनि माओवादीकै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

पहिलो महिला सेक्रेटरी
लुम्बिनी गौतम यस्तो पात्र हुुनुहुन्छ । उहाँ जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित पहिलो महिला त बन्नुभयो । उहाँसित अर्को जिम्मेवारी पूरा गरेको इतिहास पनि छ । उहाँ माओवादी केन्द्रको पहिलो महिला सेक्रेटरी हुनुभएको थियो । गौतम जनयुद्धको क्रममा खलंगा, साँख, भलाक्चा र चौखाबाङ गाविस मिसाएर बनाइएको विशेष यरीयाको सेक्रेटरी बन्नुभएको थियो । २०५७÷०५८ उहाँले यो यरीयाको सेक्रेटरीको भूमिका निर्वाह गर्नुभएको थियो । गौतमका अनुसार त्यसबेलासम्म जिल्लाको कुनै पनि यरीयाको सेक्रेटरी महिलालाई बनाइएको थिएन । विद्यार्थी संगठनमा काम गर्दा गर्दै पार्टीले उहाँलाई पार्टी एसीएसको जिम्मेवारी दिएको थियो । गौतमले संवेदनशिल क्षेत्रको रुपमा आधार मानेर बनाइएको विशेष यरीयाको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । 

जनयुद्ध पूर्व नै पूर्णकालिन
तत्कालिन नेकपा माओवादीले २०५२ सालको फागुन १ गते जनयुद्धको घोषणा गरेको थियो । गौतम भने त्यो भन्दा पहिल्यै पूर्णकालिन जस्तो भएर जनयुद्धमा खट्नुभएको थियो । २०५१ सालमा जिल्लाका पूर्वी क्षेत्रमा विजय घले नेतृत्वमा उहाँ सचेतना अभियान सञ्चालन गर्न पुग्नुभएको थियो । विद्यार्थी कालमै लुकी लुकी संगठनमा बस्ने उहाँ तीन महिना विद्यालय तथा घर छाडेर यो अभियानमा हिड्नुभएको थियो । हुकाम, मैकोट, तकसेरा र कोल जनसेवाका काम गरेर उहाँ फर्कनुभएको थियो । अभियानकै क्रममा उहाँले कपाल काट्नुभएको थियो । अभियानबाट विद्यालयमा फर्केपछि तत्कालिन राष्ट्रिय गान नगाएर त्यसको विरोध गर्नुभएको थियो । त्यस वापत उहाँ लगायतका विद्यार्थीले सजाय व्यहोर्नु परेको थियो । ५ कक्षादेखि नै उहाँ विद्यार्थी संगठनमा आवद्ध हुनुभएको थियो । 

विद्यार्थी अध्यक्ष र महिलाको पनि जिल्ला अध्यक्ष
माओवादी पार्टीका दुई भातृ संगठनको जिल्लाको नेतृत्व गौतमले पटक पटक गर्नुभएको छ । अनेरास्ववियू क्रान्तिकारी अनेमसंघ क्रान्तिकारी रुकुमको नेतृत्व उहाँले गर्नुभयो । विद्यार्थीकालबाट राजनीतिमा लागेकी गौतम २०५१ सालमा पहिलो पटक विद्यार्थीको जिल्ला सम्मेलनमा सहभागि हुनुभएको थियो । चौरजहारीमा भएको १२ औं जिल्ला सम्मेलनमा उहाँ प्रतिनिधिको रुपमा सहभागि हुनुभएको थियो । १३ औं जिल्ला सम्मेलनबाट उहाँ विद्यार्थीको जिल्ला समिति सदस्य बन्नुभयो । १६ औं सम्मेलनबाट उहाँ विद्यार्थी संगठनको अध्यक्ष बन्नुभयो । उहाँ १६ औं जिल्ला सम्मेलन आयोजक समितिको संयोजक पनि बन्नुभएको थियो । त्यसपछि उहाँ २०५७ सालमा विद्यार्थीको केन्द्रीय सदस्य बन्नुभयो । अनेमसंघ रुकुमको ८ औं, ९ औं १० औं र ११ औं जिल्ला सम्मेलनबाट पनि उहाँ संगठनको जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको थियो । पार्टी र संगठनको निर्णय अनुसार नै पटक पटक त्यो अवसर आफूलाई आएको गौतमको भनाई छ । आफ्नो इच्छा भन्दा पनि पार्टी, संगठनको आवश्यक्ता अनुसार नै त्यस्तो हुनु गएको गौतमले बताउनुभयो । 

पार्टी केन्द्रीय सदस्यदेखि 
जनयुद्धको सुरुमै पार्टीको आधिकारीक समितिमा परेकी उहाँले पार्टीको पनि विभिन्न भूमिका निर्वाह गर्नुभएको छ । पार्टी सदस्य, पार्टीको यरीया सदस्य, यरीया सेक्रेटरी, यरीया इन्चार्जको भूमिका उहाँले निभाउनुभयो । विशेष यरीयाको सेक्रेटरी भएपछि, आठबीसकोट क्षेत्र, पूर्तिमकाँडा, छिवाङतिर गौतमले पार्टीको इन्चार्जसिप प्रदान गर्नुभएको थियो । उहाँ २०५९ सालमा माओवादीको जिल्ला सचिवालय सदस्य हुनुभएको थियो । २०६२ सालपछि उहाँले पार्टीको मगरात राज्य समिति सचिवालय सदस्य बनेकी गौतम माओवादीको केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य बन्नुभयो । त्यसपछि फेरि राज्य समिति सदस्य प्रदेश सदस्य बन्नुभएकी गौतम एमाले,माओवादी एकीकरणका बेला पार्टीको कर्णाली प्रदेश सदस्य हुनुहुन्थ्यो । पार्टीको कर्णाली प्रदेशको पहिलो सम्मेलनबाट कर्णाली प्रदेश सदस्य बनेकी गौतम पार्टीको आठौं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि पनि छनौट हुनुभएको थियो । पार्टीको आठौं राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको केन्द्रीय सदस्य बन्नुभएको छ । 

घरबाटै राजनीतिक प्रेरणा
सानै उमेरदेखि राजनीतिक चेत राखेकी गौतम घरबाटै राजनीतिक प्रेरणा पाएको बताउनुहुन्छ । जनमोर्चादेखि कम्युनिष्टका हरेक गतिविधि आफ्नै घरमा हुने, भेला, बैठक छलफलमा मान्छेहरु आउने छलफल गर्ने गरेकाले त्यसैबाट राजनीतिक प्रेरणा पैदा भएर संगठित भएको गौतमले बताउनुभयो । बुवा, आमा दाइहरु संगठनमा सक्रिय भएपछि संगठनमा लाग्न, हिड्न समस्या नभइ झन सजिलो भएको अनुभव उहाँको छ । घरमै पार्टी कार्यालय, भातृ संगठनका कार्यालय राखिएको हुन्थ्यो । भेला बैठकबाट तत्कालिन राज्य सरकारले गरिरहेको थिचोमिचोबारे जानकारी राखेपछि त्यसका विरुद्ध विद्रोह गरेको उहाँले बताउनुभयो । विद्यालय, समाज र सिंगो देश परिवर्तनका खातिर केही न केही गर्नुपर्छ भन्ने भावले संगठनमा लागेको उहाँले बताउनुभयो । विद्यार्थीकालमा भाषण गरेकै कारण उहाँ हिरासत समेत बस्नुपरेको थियो । ४१ वर्षीया गौतमले बीएडसम्मको अध्ययन पूरा गर्नुभएको छ । 

समग्र विकासमा समन्वयकारी भूमिका
समन्वय समिति प्रमुख निर्वाचित भएपछि गौतमले जिल्लाको समग्र विकासमा समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । जिल्लाका ६ वटै पालिकासितको समन्वयलाई गरेर अघि बढ्ने उहाँको भनाई छ । जिल्लाको विकासमा कहाँ के आवश्यक्ता छ त्यसका आधारमा अघि बढ्नका लागि स्थानीय तहसित समन्वय गर्ने, प्रदेश संघीय सरकारसँग पनि पहल गर्ने उहाँले बताउनुभयो । ‘जिल्लाको समग्र विकासमा क–कसको भूमिका के हुन्छ त्यसकै आधारमा अघि बढौं भन्ने योजना छ,’ गौतमले भन्नुभयो, ‘जसको जे भूमिका हो जे गर्न सकिन्छ त्यसमा ध्यान लाउने गरी कार्यक्रम बनाउन सुझाउनेदेखि समन्वयको पाटोलाई समन्वय गरेर अघि बढिनेछ ।’ शान्ति स्थापनापछि जिल्लामा जनताकै सहभागितामा विकासका धेरै काम भएको भन्दै नव निर्वाचित प्रमुख गौतमले अँझ पनि जनताकै सहभागितामा थप काम गर्नका लागि पहल गर्ने समन्वय गर्ने बताउनुभयो । 

प्रकाशित मिति: मंगलबार, जेठ ३१, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update