Kakhara सबैको खबर सम्पूर्ण खबर
साँख दह संरक्षण अन्तरगत विभिन्न संरचना निर्माण
साँख दहकाे छेउमा निर्माण गरिएकाे मन्दिर र सहिद स्तम्भ लगायतका संरचना ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर ७ को साँख दह संरक्षण अन्तरगत विभिन्न संरचनाहरु निर्माण भइरहेका छन् । केही वर्षदेखि दहको संरक्षण शिर्षकमा विभिन्न कामहरु भइरहेका छन् । चालु आर्थिक वर्षमा भने दह वरिपरि बाटो निर्माण गरिएको छ भने दह छेउमा मन्दिर निर्माण गरिएको छ  । 

मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तरगत ९ लाख ६१ हजार बजेटमा ९० मिटर बाटो, ८० मिटर कच्चि वाल तथा मन्दिर निर्माण भएको साँख दह संरक्षण समितिका अध्यक्ष इन्द्रकुमार कामीले जानकारी दिनुभयो । त्यस्तै दह छेउमा सहिद स्तम्भ निर्माण गरिएको छ । दहको पश्चिमतिर निर्माण गरिएको स्तम्भमा जनयुद्धको क्रममा ज्यान गुमाएका वडाभित्रका सहिदहरुको नाम राखिएको छ । 

यो स्तम्भ मुसीकोट नगरपालिकाबाट प्राप्त भएको १ लाख बजेटबाट निर्माण गरिएको अध्यक्ष कामीले बताउनुभयो । स्तम्भमा हालको मुसीकोट नगरपालिका वडा नम्बर ७ का १० जना सहिदको नाम राखिएको छ । त्यस्तै अहिले प्रतिक्षालय निर्माणको काम चलिरहेको छ । यसका लागि १५ मिटर र १० मिटर लम्बाई भएका २ वटा पक्कि वाल लगाईएको अध्यक्ष कामीको भनाई छ । 

उहाँका अनुसार दुवैतिर वाल लगाएर प्रतिक्षालयका लागि ३१ मिटर लामो फिल्ड बनाईएको छ । यसबाट उक्त ठाउँमा पर्ने सडकको संरक्षण समेत भएको छ । प्रतिक्षालयका लागि बनाईएको फिल्डमा बस्नका लागि वेञ्चहरु राखिने अध्यक्ष कामीले बताउनुभयो । त्यस्तै त्यहाँ रहेको चौतारीमा पिसिसी ढलान गरेर मञ्च निर्माणको काम हुने उहाँले बताउनुभयो । 

प्रतिक्षालयमा विभिन्न कार्यक्रमहरु संचालन गर्न मिल्ने बताईएको छ । प्रतिक्षालय निर्माणका लागि सिँचाई कार्यालयको ६ लाख बजेट खर्च भइरहेको छ ।

प्रकाशित मिति: बुधबार, असार १, २०७९  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update