Kakhara सबैको खबर सम्पूर्ण खबर
कुप्रचारवाट न रुकुम झुक्छ, न रुकुमको नेतृत्व झुक्छ

हालको वजेट जनमैत्री रहेको कुरामा कुनै शंका छैन । देशको आन्तरिक उत्पादन वढाँउदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मामिलामा वजेटले एउटा वाटो तय गरेको छ। कृषि क्षेत्रले प्राथमिकता पाएको छ ।  वजेट गरिव र किसान केन्द्रित छ । आन्तरिक उत्पादनले प्राथमिकता पाएको छ । यद्यपी एउटा तप्का वजेटको विरोध गर्ने नाममा अनावश्यक वहाना खोजीरहेको छ । तार्किक वहसको सट्टा कुनै अमुक ब्यापारिक घरानाको हवाला दिएर अर्थमन्त्री विरुद्ध धारे हात लगाँईदैछ । आयातमुखि ब्यापार र ब्यवसाय गर्नेहरुमा छटपटी सुरु भएको छ । नेपालको आन्तरिक उत्पादनमा आधारित उद्योगहरु फस्टाउन नदिने एउटा तप्का छ। जो विश्वव्यापिकरण र निजीकरणको मात्र वकालत गर्छ । जो विदेशीको गुलाम गर्छ । नेपालमा कमाएको पुँजी विदेश पठाउन चाहान्छ ।

हिजो विदेशी चक्लेटमा कर छुट दिनेहरु विदेशी विलासिताका वस्तुमा कर बढाउन पाँईदैन भनिरहेका छन् । अर्थतन्त्रमा यस्तै पुँजीपति वर्गको रजगज छ।नेपाली उद्योगहरु त्यत्तिकै वन्द भएका होईनन् । कतिपय नेपाली उद्योगहरु  र कलकारखानाहरुमा खिया लागेको छ । घाँस र दुवो उम्रिएको छ । यसरी बन्द भएका सम्भाव्य उद्योगहरु पुन: सञ्चालन गर्ने आँट अर्थमन्त्री र अहिलेको सरकारले गरेको छ । आन्तरिक उत्पादनमा आधारित उद्योगहरुका लागि कर, भन्सार लगायतका छुट दिईएको छ । सवै सामान विदेशवाट आयात गरेर व्यापार गर्नेहरुलाई छटपटी हुनु स्वाभाविक हो । उच्च धनी र घराना वर्गले प्रयोग गर्ने सवारी साधन र विलासी वस्तुमा कर वढ्नु राम्रो हो । क्षमता हुनेले कर तिर्ने हो । विलासी वस्तु उपयोग गर्ने हो । यस्तैमा छटपटि देखिएको छ ।

लोकतन्त्रमा सञ्चार जगत राज्यको चौथो अङ्ग हो । शासकिय मामिलामा सञ्चार जगतको सम्मान गर्नै पर्छ तर अमुक घरानाको पक्षमा वकालत गर्नेहरुवाट जनताले के आशा गर्नु ? राष्ट्रिय पुँजी निर्माण र आत्मनिर्भर अर्थतन्त्र भन्दा आयातमुखि व्यापारको पक्षमा वकालत गर्नेवाट कसरी स्वाधिन र आत्मनिर्भर नेपाल वन्न सक्छ र ! ति र त्यस्तै वर्गवाट सञ्चालित र संरक्षित मिडिया हाउस अनावश्यक लाल्छना लगाउन पनि अगाडि सरेको देखिन्छ । अनावश्यक अपवाहले हुने त केही होईन । क्षणिक रुपमा गलत प्रचार गर्न सकिएला।तर यथार्थ र सत्य लुक्दैन ।

गरिव र किसानले प्रयोग गर्ने वस्तुमा पो कर वढ्नु भएन । किसानले प्रयोग गर्ने कृषि औजारमा कर वढेको छैन वरु थप सहुलियत दिईएको छ।नेपाली उद्योगले प्रयोग गर्न कच्चा पदार्थमा कर वढेको छैन ।विदेशवाट आयात हुने तयारी विलासिताका वस्तुमा कर वढ्नु भनेको नेपाली उत्पादनले वजार पाउनु हो । सस्ता विदेशी वस्तु ल्याएर नेपाली उद्योग बन्द गराउने विरुद्ध अहिलेको नीति ठिक छ । केही समय विवाद होला । विदेशी विलासी वस्तु केही महङ्गो पर्ला । अन्तत: नेपाली उत्पादन वढाँउनै पर्छ । नेपाली उत्पादन उपभोग गर्नैपर्ने हुन्छ । पूर्ण रुपमा विदेशी वस्तु आयात गर्न प्रतिवन्ध सम्भव नहोला तर कर र भन्सार वढाउने तरिका सहि नै हो । कुनै घरानाको व्यापार चलाईदिन, उच्च नाफा दिलाउन विदेशी विलासी वस्तुमा राज्यले कर लगायत छुट दिईरहनु उचित होईन । तिनले जति सुकै विरोध गरुन ।समाचार जति सुकै प्रायोजित गरुन। तिसुकै नेताहरुको दैलो र ढोका-ढोका पुगुन । किमार्थ आयात वाट उत्पादन तर्फको यात्रा अगाडी वढाउनै पर्छ ।

मध्यमस्तरका उपभोक्ताहरुले प्रयोग गर्ने विद्युतिय सवारी साधनहरुको करमा कुनै परिवर्तन छैन । विगतमा रातो करका विरुद्ध महिलाले आन्दोलन गरेकै हो । स्यानीटरी प्याडमा कर छुट दिनु अन्यथा होईन । स्वदेशी उद्योगको संरक्षण गर्न विदेशी तयारी वस्तुमा करका दर हेर्नै पर्ने थियो । यो सुरुवात अझ ढिलो भयो । हुनत: यो गर्न पनि आँट चाहिन्छ । दलालहरुको घेरा तोड्न सवैको आँट हुँदैन । अहिलेका अर्थमन्त्रीले आँट गरे । उनकै विरुद्ध चौतर्फी घेरावन्दी छ । स्वदेशी उत्पादन, स्वदेशी वस्तु र आत्मनिर्भर अर्थतन्त्रका लागि को उभिन्छ ? मूल्यांकन गर्ने वेला हो । सकिन्छ भने विदेशी वस्तु वहिष्कार गर्ने वेला हो । उच्च विलासी र सुविधाभोगी वर्गको कर अझ वढाउने वेला हो । विदेशी रक्सी, चुरोट, विस्कुट, चकलेट, तरकारी, फलफुल, दुधकोपाउडर, माछा लगायतका सामानहरु निरुत्साहित नगरे सम्म नेपाली उत्पादनले सहजै वजार पाउने छैनन् ।

सवै उत्पादनमा नेपाल आत्मनिर्भर नहोला तर आधारभुत वस्तुमा आत्मनिर्भर हुने यात्रा सुरुवात हुने वाटो तय भएको छ।यो एक कदम अगाडीको यात्रा हो ।समाजवाद त्यत्तिकै आउनेवाला छैन । त्यो गन्तव्यको सूरुवात गर्ने आँट अर्थमन्त्रीवाट भएको छ । हिजो गणतन्त्रको वकालत गर्दा गणतन्त्रको विरोध गर्नेहरुले बयलगाडा सँग तुलना गरे । तर गणतन्त्र र संघीयता आएर छाड्यो । क्षणिक स्वार्थ, रिस, आवेगको लागि विरोध गर्ने तह र तप्काको रुवाई सुरु भएको छ । पुँजीवादमा हुने यहि हो । पुँजी थुपार्दै विदेश पठाउन पल्केकाहरु स्वदेशी उद्योग र उत्पादनलाई ध्वस्त वनाउन चाहान्छन् । देशलाई सँधै परनिर्भरतामा धकेल्न चाँहान्छन् । अनावश्यक र सस्तो प्रचारवाजी मार्फत आफ्नो दुनो सोझो पार्नेहरु अर्थमन्त्री विरुद्ध लागेका छन् । किमार्थ उनिहरुको सपना सहजै पुरा हुने छैन ।

देशको उत्पादन वढाउन चाहाने र नचाहाने विचको लडाँई हो यो । विदेशी उत्पादनमा रमाउने र स्वदेशी उत्पादन संरक्षण गर्ने विचको लडाँई हो यो । उच्च घराना विलासितामा रमाउने वर्ग र गरिव तथा किसान वर्ग विचको लडाँई हो यो । वारम्वार राज्य र सरकारवाट फाईदा लिईरहने आयातित व्यापारमा रमाउने र स्वदेशी उत्पादन एवं उपभोग वढाउने विचको लडाँई हो यो । नेपाली दुध वाटोमा पोख्नुपर्ने र विदेशी पाउडर दुध खानेविचको लडाँई हो यो । नेपाली गोलभेँडा वारीमा कुहाउनुपर्ने र विदेशवाट केमिकलयुक्त तरकारीका ट्रकहरु आयात गर्नेहरु विचको संघर्ष हो यो । अवको लडाई र विवाद स्वाधिन र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि हुनु पर्छ । गणतन्त्र, संघीयता, समावेशीकरण, सामाजिक न्यायको लागि अग्र मोर्चामा खट्ने प्रभाकरवाट पुन: स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको सुत्रपात भएको छ । प्रभाकर हिजो पनि जनताको नेता हो । किसानको नेता हो।गरिवको नेता हो । जनता, किसान, गरिव र श्रमजिवी वर्गले नै प्रभाकर वनाएका हुन् । तसर्थ प्रभाकरको अवको गन्तव्य  स्वाधिन र आत्मनिर्भर अर्थतन्त्रको नेतृत्व हो । रुकुममा प्रभाकरले स्थानीय सरकार मार्फत पनि त्यसको प्रयोग विगत देखि गरेको देखिएकै छ । भलै विरोधका नाममा विरोध गर्ने छुट त सवैलाई छ ।

हिजो उज्यालो नेपालको नेतृत्व गर्दा पनि जेनेरेटर, ईन्भटर, सोलार, ब्याट्रि लगायतका ब्यापारिको विरोध भएकै हो । जेनेरेटर, ईन्भटर, सोलार, ब्याट्रि लगायत विदेशी कम्पनीका एजेन्टहरुमा छटपटि भएकै हो।समाचार हिजो पनि प्रायोजित थिए । अहिले पनि ठिक यस्तै देखिँदैछ । विदेशी कम्पनीका एजेन्टहरुमा छटपटी छ । रुवावासी छ । एउटा कम्पन छ । गतिलो झड्का पनि छ । नाफा घट्ने डर छ ।वस्तु विक्री नहुने डर छ । विदेशी विलासी वस्तुमा उच्च कर तिर्न नपरे हुन्थ्यो भन्ने अभिलाषा देखिन्छ ।महङ्गो गाडी वेच्ने र चढ्ने सपना अलि महङ्गो भएको छ । महङ्गो रक्सी पिउने स्वादे जिव्रोहरुवाट विरोधी आवाज निस्कन थालेको छ । भन्सार एजेन्टहरुको आम्दानीमा दखल पुगेको छ । विदेशी विलासिताको वस्तु वेच्नेहरुको आम्दानीवाट थप कर तिर्नुपर्नेछ । मुनाफा घट्न सक्छ । नाफाखोर, कमिसनखोर, विदेशी उच्च विलासिताका वस्तु विक्री गर्ने एजेन्टहरुलाई ज्वरो आएको छ । यो त्यसैको छटपटी हो । त्यसैको आवेगले अर्थमन्त्री माथि अनावश्यक र असम्वन्धित आक्षेप लगाउन थालिएको छ । तार्किक वहस र विश्लेषण विना आरोप अगाउनुको कुनै तुक छैन । अनावश्यक कुप्रचारको खण्डन अर्थ मन्त्रालय र पार्टी हेडक्वाटरले पनि गरेको छ ।

जव जव नेपालमा केही नविन रुपान्तरणको सुरुवात हुन थाल्छ, त्यति वेला आरोप र आवेग देखिन थाल्छ । त्यसमा टिक्न र संघर्ष गर्न सके मात्र रुपान्तरण हुने हो । बैरिहरुको घेरावन्दी, लामो संघर्ष, त्याग र मोर्चावाट खारिएका प्रभाकरको लागि यो सामान्य हो । आशा छ, दलाल प्रवृर्ति, नोकरशाही प्रवृर्ति, पूँजीवाद प्रवृर्ति, मैखाँउ मैलाँउ सोचका विरुद्ध धावा वोल्ने क्षमता प्रभाकर सँग छ । अर्को कुरा पार्टीको आन्तरिक पक्षवाट पनि नेतृत्वमा आक्रमण हुने क्रम अनुभुति भएकै छ । राम्रा कामको जस लिने प्रवृर्ति कमजोर छ । जस दिन त खोज्ने कुरै भएन । अनावश्यक रुपमा खुल्याउन खोज्दा भ्वाँग पर्ने आँफैतिर हो । माओवादी विभाजनको कारण पनि यसकै वरीपरि खोजिनुपर्छ ।

तर नेतृत्व संघर्षवाट खारिएको छ । जालझेल र तिकडमको ज्वालामुखि विरुद्ध संघर्ष गर्दै जनताको मन जितेर यहाँ सम्म पुगेको छ । रुपान्तरण र परिवर्तनको नेतृत्व गरेकै छ । प्रभाकर प्रति रुकुमेलीको मात्र होईन, देशभरका गरिव, किसान, सिमान्तकृत वर्ग, युवा र उद्यमीको आशा र भरोसा छ । सरकार र नेता वोल्न नसक्ने र पहुँच नहुने किसान र गरिवका लागि चाहिने हो।किसान र गरिवमुखि वजेट आएको छ, यसको कार्यान्वयनमा जानैपर्छ । नवधनाढ्य, उच्च विलासी विदेशी वस्तु विक्री गर्ने एजेन्ट, दलाल र नेपाली पूँजी विदेश पलायन गराउनेहरु सँग अर्थमन्त्री डराउन जरुरी छैन । उनीहरु आँफै सच्चिनु र रुपान्तरण हुनु सिवाय अरु अव सम्भव छैन । आन्तरिक उत्पादन विनाको अत्याधिक नाफा सँधै सम्भव छैन ।

कराउनेहरु कराँउछन् । सत्य,यथार्थताको वकालत गर्दै वहुसंख्यक जनताको हितको लागि राजनीति गर्ने हो । गरिव, किसान, सिमान्तकृत वर्ग, युवा र उद्यमीहरुको संरक्षण र नेतृत्व गर्नुपर्छ । देशका उद्योगहरु वचाउने उपाय सहि छ । आन्तरिक उत्पादन वढे रोजगार पनि वढ्छ । घरेलु, लघु उद्योगलाई पनि संरक्षण गर्ने नीति ठिक छ। आयात प्रतिस्थापन अहिलेको मुल मुद्धा हो । नेपालमा उपलव्ध कच्चा पदार्थको प्रयोग नेपालका उद्योगमा नै सहजै प्रयोग हुने वातावरण वन्ने अपेक्षा छ । स्वाबलम्वन र आत्मनिर्भरताको लागि अर्थतन्त्रको संरचना वदल्ने साहास प्रति सम्मान छ ।

काम गर्नेले गाली खाने हो।रुपान्तरणका छालहरुले विरोधिहरुलाई धक्का पक्कै दिन्छन् । रुपान्तरण र विकास विरुद्धका धक्का र कुप्रचारवाट न रुकुम झुक्छ । न रुकुमको नेतृत्व झुक्छ । अझ जिम्मेवारी र जनमैत्री व्यवहारका साथ अगाडि वढ्छ । पुर्वाग्रहले भरिएको सोचले ठिकलाई गलत देख्न सक्छ । सेतो दुधलाई कालो भन्न सकिएला त ! तर हामी सत्य र यथार्थता स्वीकार गर्छौं । कुनै अमुक घरानाको आम्दानी घट्यो भनेर छटपटी जरुरी छैन । शंका गर्न सकिएला तर कुप्रचारले सत्य छोप्न सकिदैन । आन्तरिक उत्पादन र वाह्य आयातित वस्तुमा एउटै र समान ब्यवहार सम्भव हुँदैन । स्वदेशी उद्योगको संरक्षण र सम्वर्द्धनले मात्र देश आत्मनिर्भर हुने हो । आत्मनिर्भर अर्थतन्त्र र स्वदेशी उद्योगको खेताला बन्ने हो, विदेशीको होईन । सवैको चेत खुल्न जरुरी छ।

प्रकाशित मिति: बिहीबार, असार २, २०७९  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update