रुकुम पश्चिमको मुसीकोट नगर कार्यपालिकाले विषयगत समिति गठन गरेको छ । दोस्रो कार्यपालिका बैठकले विषयगत समिति गठन गरेको हो । बैठकले एक्कबहादुर पाण्डेलाई सामाजिक विकास समितिका संयोजक तोकेको छ । खलबहादुर खड्कालाई आर्थिक विकास समितिको संयोजक तोक्दा शशिराम पुन वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजक तोकिनुभएको छ ।
सुशासन तथा क्षमता विकास समितिको संयोजकमा दलबहादुर परियार, पूर्वाधार विकास समितिको संयोजकमा दिनेश खड्का र विधायन समिति संयोजकमा दशरथ केसीलाई चयन गरिएको छ । कार्यपालिका प्रवक्ताको जिम्मेवारी समिरजंग मल्ललाई दिइएको छ । बैठकले असार १७ गते नगर सभा गर्ने निर्णय गरेको छ । बैठकले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम र बजेटको तयारी गर्न विभिन्न विषयगत समिति र शाखाहरुलाई समिति र शाखाको तर्फबाट योजना तथा कार्यक्रम माग गर्ने निर्णय गरेको छ ।
नगरपालिकाको आवधिक योजना निर्माण गर्ने र आवधिक योजना र बजेटको बिचमा तादम्यता कायम गर्न मध्यमकालिन खर्च संरचना तर्जुमा गर्ने समेत निर्णय गरेको छ । बैठकले बर्षातको समयमा नगर क्षेत्रका सडकहरुको नियमित आवागमन र सुचारु गर्नका लागि आवश्यक प्रबन्ध सहितको तयारी गर्ने, नगर क्षेत्रभित्रका सडकका नाली र बजार क्षेत्रको सरसफाईका लागि आवश्यक रकमको व्यवस्था गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ । बैठकले नगरप्रमुख र उपप्रमुखको संयोजकत्वमा स्वःत बन्ने समिति पनि गठन गरेको छ ।