Kakhara सबैको खबर सम्पूर्ण खबर
चौथो गुरिल्ला म्याराथनको तयारी
गुरिल्ला म्याराथ्यनका क्रममा पुगिने मौराखारामा जनयुद्धका क्रममा बनाइएको संरचना ।

हरेक बर्ष एक पटक रुकुम पश्चिमको सानीभेरीमा गुरिल्ला दौडन्छन् । हरेक जनयुद्ध दिवशको अवसर पारी निधारमा सेता तारा भएको रातो रिवन बाँधेका कम्ब्याड सहितका मान्छे दौडन्छन् । गुरिल्ला दौडेजसरी उनिहरु उकालो, ओरोला र तेस्रो दौडन्छन् । विहानै दौडने उनिहरुलाई देख्ने जो कोहिलाई जनयुद्धको झल्को आउँछ । दश बर्ष चलेको जनयुद्धका बेला जनमुक्ति सेना अर्थात गुरिल्ला दौडिएजसरी उनिहरु दौडने गरेका छन् । हरेक बर्ष सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवश यसरी नै मनाउँदै आएको छ ।

गुरिल्ला हिडेको बाटो गुरिल्लाकै भेषमा धावक दौडाएर जनयुद्ध दिवश मनाउन थालेको चार वर्ष भयो । २०७४ सालदेखि गाउँपालिकाले हरेक फागुन १ गते मौराखारा गुरिल्ला म्याराथन गराउँदै आएको हो । यो वर्ष चौथो संस्करण गर्ने तयारीमा गाउँपालिको जुटेको छ । आगामी फागुन १ गते सानीभेरी गाउँपालिकाको कार्यालय परिसरबाट गुरिल्लाकै भेषमा धावकहरु दौडनेछन् ।सिम्लीबाट मौराखारा पुगेर पुनःसिम्लीमै आएर म्याराथन सकिने छ ।

यो वर्ष महिला पुरुष म्याराथन हुँदै छ । पुरुष धावकहरु ४६ किलोमिटर दौडनेछन् भने महिला धावकहरु ३४ किलोमिटर दौडने गरी रुट तय गरिएको छ । पुरुषतर्फ प्रथम आउने खेलाडीले नगद ८० हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछ । दोस्रो हुनेले ५५, तेस्रो हुनेले ३५ हजार र सान्त्वना हुने खेलाडीले नगद १० हजारका साथमा प्रमाण पत्र पाउनेछन् । महिलातर्फ प्रथम हुनेले नगद ५५ हजारको साथमा ट्रफी, मेडल र प्रमाण पत्र पाउनेछन् । दोस्रो हुनेले ४०, तेस्रो हुनेले २० र सान्त्वता हुनेलाई १० हजार नगदको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । मौराखारा युवा क्लवले यसको व्यवस्थापन गर्नेछ । म्याराथनको तयारी अन्तिम चरणमा रहेको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष नरबहादुर पुनले पर्यटन, कृषि र मौलिक कला, संस्कृतिलाई जोड्नेगरी म्याराथन आयोजना गरिएको बताउनुभयो । स्थानीय तहका जनप्रतिनिधि आए लगत्तैदेखि थालनी गरिएको यसलाई निरन्तरता दिइएको अध्यक्ष पुनले बताउनुभयो । पर्यटनलाई जनतासँग जोड्ने र प्रचार,प्रसार प्रबद्र्धन मार्फत जीवनशैलीसँग जोड्ने उद्देश्य राखेको बताउनुभयो । ऐतिहासिक दिनको सम्झना, खेलको प्रवद्र्धन, खेलाडीको प्रोत्साहन र गाउँपालिकाको पहिचानका लागि गुरिल्ला म्याराथन गर्दै आएको र यसले निरन्तरता पाउने उहाँले बताउनुभयो ।

यस्तो छ गुरिल्ला दौडेको रुट
पुरुष म्याराथन सिम्ली स्थित गाउँपालिकाको कार्यालय परिसरबाट सुरु हुने छ । सिम्लीबजार, हाँसिबाङ, खेताकुना, सानीभेरी नदी तरेर पिरेतरा, बल्याखर्क, पेदीबजार, कमैदे, नाग्ना, चित्रेबडाल हुँदै पुरुषको टोली ३ हजार मिटर उचाईमा रहेको मौराखारातर्फ अघि बढ्नेछ । यसपछि मुलथला, मौराखारा लेकपछि ओरालोतर्फ टुरा, चाख्लीमेला, रिम्नाको मोटरेबल पुलबाट ठूलीभेरी नदी तरेर जाजरकोटको रिम्ना बजार हुँदै फेरि भेरीनदी तरेर मध्यपहाडी लोकमार्गबाट चाइनाबगर, गिठाकोट, जिउला, फुक्रुजिउलापछि पुनः गाउँपालिकामा पुगेर पुरुषको म्याराथन सकिनेछ । यो ४६ किलोमिटर लामो रुट हो ।

३४ किलोमिटर रुट दौडने महिलाहरु गाउँपालिका परिसरबाट सिम्लीबजार, हाँसिवाङ, खेताकुना, सानीभेरी नदी तरेर पिरेतरा, बल्याखर्क, पेदीबजार, मुसेखोला, बलिवाङ, रिम्नाको मोटरेबल पुल तरेर जाजरकोटको रिम्ना बजार तथा अर्कोपट्टि भेरी तरेर अघि बढ्नेछ । त्यसपछि मध्यपहाडी लोकमार्ग भएर चाइनाबगर, गिठाकोट, जिउला, फुक्रुजिउलापछि पुनः गाउँपालिकामा पुगेर महिलाको म्याराथन सकिनेछ ।

तीन म्याराथनको नतिजा

हरेक वर्ष यो प्रतियोगितामा खेलाडी त थपिएका छन् खेलाडी मात्रै होइन दायरा पनि बढेको दावी आयोजकको छ । मौराखारा युवा क्लवका अध्यक्ष गोविन्द ओलीले अघिल्ला तीन संस्करण भन्दा यो संस्करणमा खेलाडी टाढाबाट र देशैभरबाट आउने बताउनुभयो । सबै खेलाडीसित सम्पर्क भइरहेको उहाँले जानकारी दिनुभयो । यस अघिको नतिजा मिश्रित छ । पुरुषतर्फ दुई पटक जिल्लाकै धावकले जितेका छन् भने एक पटक गोरखाकाले जितेका छन् ।

२०७४ को म्याराथन सानीभेरीकै अर्जुन बस्नेतले जित्नुभएको थियो । दोस्रो रुकुम पश्चिमका दुर्गाराज बुढा आउँदा प्युठानका दामोदर बुढा तेस्रो हुनुभएको थियो । २०७५ मा गोरखाका भिम गुरुङ प्रथम आउँदा रुकुम पश्चिमका दुर्गाराज बुढा दोश्रो र अर्जुन बस्नेत तेस्रो हुनुभएको थियो । २०७६ मा रुकुम पश्चिमका दुर्गाराज बुढा प्रथम, अर्जुन बस्ने दोस्रो र भिम गुरुङ तेस्रो हुनुभएको थियो । २०७६ देखि महिला म्याराथन पनि गराइएको थियो । महिलातर्फको पहिलो म्याराथनमा जुम्लाकी सुनमाया बुढा पहिलो, प्युठानकी हुमी बुढा दोस्रो र रुकुम पश्चिमकी रुपा नकाल तेस्रो हुनुभएको थियो ।

कृषि र कला, संस्कृति पनि

गुरिल्ला म्याराथनसँगै गाउँपालिकाले कृषि र कला, संस्कृति महोत्सव पनि गर्दै आएको छ । फागुन १ गते म्याराथन हुन्छ भने २ गते कृषि प्रर्दशनी तथा कला, संस्कृति महोत्सव हुन्छ । यसका लागि गाउँपालिकाले ‘सानीभेरी गाउँपालिकाको पहिचान, कृषि, पर्यटन, मौलिक, कला संस्कृतिको विकासका लागि मौराखारा गुरिल्ला म्याराथन’ नारा तय गरेको छ ।

स्थानीय कृषि उत्पादनको प्रर्बद्धन र मौलिक कलाको संरक्षणका लागि हरेक बर्ष जस्तै यो बर्ष पनि यो कार्यक्रम राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भूपालसिङ विष्टले बताउनुभयो । कृषि मेलाबाट स्थानीयको उत्पादनको प्रबद्र्धन हुने, किसानको प्रोत्साहन हुने भनाई उहाँको छ । स्थानीय स्तरको कला, संस्कृति प्रबद्र्धनका लागि झाँकी प्रस्तुत हुने र यसबाट पनि संस्कृति संरक्षणको अपेक्षा गरिएको विष्टले बताउनुभयो ।

 

प्रकाशित मिति: आइतबार, माघ २५, २०७७  १६:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update