Kakhara सबैको खबर सम्पूर्ण खबर
सूचना प्रवाहलाई सहज बनाउन स्थानीय तहलाई पत्रकारहरुको आग्रह

रुकुम पश्चिममा कार्यरत पत्रकारहरुले सूचना प्रवाहलाई सहज बनाउन जिल्लास्थित स्थानीय तहहरुलाई आग्रह गरेका छन् । आज जिल्ला सदरमुकाममा नेपाल पत्रकार महासंघ रुकुम पश्चिमले आयोजना गरेको मिडिया र स्थानीय तहको अन्तर सम्बन्ध विषयक अन्तरक्रियामा सहभागि पत्रकारहरुले यस्तो आग्रह गरेका हुन् । 

सूचना प्रवाह सुशासनको महत्वपूर्ण सुचक भएकाले सुशासन कायम गर्न स्थानीय तहहरुले विना कुनै कञ्जुस्याईं सूचना प्रवाह गर्नुपर्ने पत्रकारहरुको सुझाव छ । भए गरेका र हुन लागेका काम, भएका निर्णय लगायतका सूचना दिन सकेमा यसको फाईदा स्थानीय तहलाई नै हुने पत्रकारहरुको भनाई छ । साथै स्थानीय तहहरुले मिडियाको संस्थागत विकासका लागि भुमिका खेल्नुपर्ने पत्रकारहरुको सुझाव थियो । 

कार्यक्रममा सहभागि जिल्लास्थित स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख र उपाध्यक्षले सूचना प्रवाहमा कुनै कञ्जुस्याईं नगर्ने र सञ्चारमाध्यमहरुको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसका लागि बेला बेलामा छलफल, भेटघाट र समन्वयको पाटोलाई प्रभावकारी रुपमा अगाडी बढाउने सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर बिष्टले बताउनुभयो । 

बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठाले मिडियाले पनि स्थानीय तहसंग समन्वय बढाउनुपर्ने र गाउँपालिकाले पनि यसतर्फ ध्यान केन्द्रीत गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादी, सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर बिष्ट, त्रिवेणी गाउँपालिका अध्यक्ष गणेशकुमार केसी र बाँफिकोट गाउँपालिका अध्यक्ष जनककुमार बाँठाको आतिथ्यता रहेको थियो । 

IMG_49051655708884.JPG

त्यस्तै चौरजहारी नगरपालिका उपप्रमुख इश्वरीकुमारी शर्मा विएम, सानीभेरी गाउँपालिका उपाध्यक्ष कमला रोका, त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले, प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, प्रहरी प्रमुख बिष्णुप्रसाद सोती, सशस्त्र प्रहरी प्रमुख प्रेमसिंह धामी, मानव विकास तथा सामुदायिक सेवा अन्तरगत मातृ तथा बाल स्वास्थ्य प्रवद्र्धन परियोजनाका जनस्वास्थ्य अधिकृत गोपाल तिमल्सिना लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा आहा सञ्चार साप्ताहिकका सम्पादक मेगराज खड्काले स्थानीय सरकार, मिडिया र गर्नुपर्ने काम विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष गोपाल रेग्मीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सचिव हिरा परियारले गर्नुभएको थियो । मानव विकास तथा सामुदायिक सेवा अन्तरगत मातृ तथा बाल स्वास्थ्य प्रवद्र्धन परियोजनाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update