Kakhara सबैको खबर सम्पूर्ण खबर
स्थानीय तहमा सुशासनका लागि जिससले प्रभाकारी अनुगमन गर्नुपर्छः पूर्व मन्त्री केसी 
कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विमला केसी ।

कर्णाली प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री विमला केसीले स्थानीय तहमा प्रभावकारी अनुगमनको आवश्यकता रहेको बताउनुभएको छ । रुकुम पश्चिमको छैटौं जिल्ला सभालाई सम्बोधन गर्दै उहाँले सुशासनका लागि स्थानीय तहमा प्रभावकारी अनुगमनको आवश्यकता रहेको बताउनुभयो । 

स्थानीय तहमा धेरै कामहरु भएको र त्यसलाई थप राम्रो बनाउन तथा सुशासन कायम गर्नका लागि जिल्ला समन्वय समितिले प्रभावकारी अनुगमण गर्नुपर्ने उहाँको भनाई छ । संघ, प्रदेश र स्थानीय तहको लगानीमा ठुला देखि साना योजनाहरु कार्यान्वयन भइरहेको अवस्थामा जिससले अनुगमनलाई बढाउनुपर्ने र अनुगमनका लागि मात्र अनुगमणको औचित्य नभएको उहाँले बताउनुभयो । 

साथै उहाँले रुकुमको समग्र विकासका लाग सबै दलहरुको सहकार्य आवश्यक रहेको बताउनुभयो । ‘अहिलेसम्म रुकुमले जुन विकास हाँसिल गरेको छ, त्यसमा सबै दलको उत्तिकै महत्वपूर्ण भूमिका छ, सबै दलको सहकार्य भइरहेको छ, उहाँले भन्नुभयो–जिल्लाको थप विकासका लागि अव पनि सबै दलहरु एकताबद्ध भएर अगाडी बढ्नुपर्छ ।’ 

त्यस्तै उहाँले दलगत रुपमा नागरिकहरुलाई नछुट्याउन र समानुपातिक विकासका लागि सबै स्थानीय तहहरुलाई आग्रह गर्नुभयो । साथै संघ, प्रदेशबाट आएको बजेटको सदुपयोगमा समेत उहाँले जोड दिनुभयो । जिल्लामा हालसम्म बजेटको कुनै अभाव नरहेको तर यति मात्र बजेट प्रयाप्त नभएको पनि उहाँको भनाई थियो ।
 

प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update