Kakhara सबैको खबर सम्पूर्ण खबर
जसले स्थायी जागिर त्यागेर ‘जनयुद्ध’ रोजेका थिए

कृष्ण रेग्मी सिस्ने गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ । २०७९ वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनमा उहाँ सिस्ने गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका रेग्मीले कांग्रेस–गठबन्धनका उम्मेदवार दत्तबहादुर बस्नेतलाई पराजित गर्नुभयो । रेग्मी अब समग्र सिस्ने गाउँपालिकाको अभिभावक हुनुभयो । ५ वर्षका लागि रेग्मीलाई सिस्नेबासीले अध्यक्षमा चुनेका छन् । भौतिक पूर्वाधारदेखि, शिक्षा, स्वास्थ्य लगायत समग्र क्षेत्रको विकासको नेतृत्व र पहल गर्ने जिम्मेवारी रेग्मीको काँधमा आइपुगेको छ । आर्थिक वर्ष २०७९/०८० नीति, कार्यक्रम तथा बजेट निर्माणमा लागेका रेग्मीले कसरी सिस्नेको समृद्धि आउँछ भनेर मसिनो गरी विश्लेषण थालिएको बताउनुभयो । स्थानीय सरकार नजिकको सरकार भएकाले त्यसको अनुभूती स्थानीयले गर्नुपर्ने भन्दै उहाँले आफू त्यसका लागि निरन्तर लाग्ने बताउनुभयो । 

स्थायी जागिर छाडेर जनयुद्धमा
अध्यक्ष रेग्मीको राजनीतिप्रति र समाज सेवाप्रतिको चाहना भर्खरको होइन । सानै उमेरदेखि राजनीति र समाज सेवा रुचाउने रेग्मीले राजनीति गर्न, समाजसेवा गर्न जागिर छाड्नु भएको थियो । त्यो पनि करारको जागिर होइन । लोक सेवा आयोग पास गरेको अहेबको जागिर छाडेर रेग्मी जनयुद्धमा होमिनु भएको थियो । ४९ वर्षीय रेग्मी लोक सेवा आयोग पास गरेर सुरुमा स्याङजा पोष्टिङ हुनुभएको थियो । २०५३ सालमा लोक सेवा पास गरेका उहाँले २०५५ साल फागुनमा उक्त जागिर छाड्नुभएको थियो । २०५४ सालमा रुकुम पूर्वको काँडा स्वास्थ्य चौकीमा उहाँले विरामीको सेवा गर्नुभएको थियो ।

Krishna Regmi 21655772686.jpg

समाजमा भइरहेको थिचोमिचो सहन गर्न नसेपछि उहाँले जनयुद्धमा गएर जनताको मुक्तिका लागि लड्ने योजना बनाउनुभएको थियो । जनयुद्ध बढ्दै गएको थियो । सरकारले किलोसेरा अप्रेशन जारी राखेको थियो । यसले पनि जनयुद्धमा जना हौसला मिलेको उहाँले बताउनुभयो । विहान प्रहरीलाई स्वास्थ्य चौकी जान्छु भन्न जानुपर्ने, दिउँसो स्वास्थ्य चौकीमा विरामीको सेवा गर्नुपर्ने र बेलुका माओवादी भित्रका नेता कार्यकर्ताको उपचार गर्नुपर्ने कार्यपालिका उहाँको थियो । अन्तत उहाँ माओवादी र जनताको उपचारका लागि भनेर स्थायी जागिर छाडेर पूर्णकालिन बन्नुभयो । 

युद्धभूमीमै ३ हजार बढीको उपचार
खाइपाइ आएको जागिर छाड्का रेग्मी अब युद्धमै होमिनुभएको थियो । देश र जनताको मुक्तिका लागि भनेर हिडेका रेग्मीले उपचारकै जिम्मा पाउनुभयो । घाइते, अपांग तथा अरु विरामीको उपचार गर्ने गरी पार्टीले जिम्मा दियो । उहाँले सामान्य घाइते र अरुको उपचार त गर्नुभयो । यसको साथसाथै उहाँ युद्धभूमीमै उपचारमा खटिनुभयो । जनमुक्ति सेना र नेपाली सेना तथा प्रहरीको भिडन्त भएकै ठाउँमा पुगेर घाइतेको उपचार गर्नुभयो । विभिन्न प्रहरी चौकी, दोहोरो भिडन्त भएको ठाउँ तथा जिल्ला सदरमुकाममा उहाँले उपचार क्षेत्रको कमाण्डर बनेर काम गर्नुभयो । डोल्पा,अछाम, दाङ, पाल्पा, अर्घाखाँची, कपिलवस्तु, म्याग्दी र जुम्ला सदरमुकाम आक्रमणको क्रममा समग्र घाइतेको उपचारको नेतृत्व रेग्मीले गर्नुभयो ।

गोली चलेकै बेला ढलेका घाइतेहरुको उपचार गर्नु र त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा उहाँले पूरा गर्नुभएको थियो । युद्ध भइरहेको स्थानमा ३ हजार बढी घाइतेको उपचार गरेको उहाँले बताउनुभयो । यसबीचमा माओवादीका सेना र कार्यकर्ताको मात्रै होइन उहाँले नेपाल प्रहरी र नेपाली सेनाका घाइतेको पनि उपचार गर्नुभएको छ । युद्धका क्रममा धेरै पटक गोली दायाबायाबाट गएको अनुभव उहाँसँग छ । ‘थुप्रै गोलीसँग भेटभयो, चिनजान हुन पाएन,’ उहाँले भन्नुभयो, ‘मर्नका लागि पनि तयार भएका हामीहरुका लागि त्यस्ता लडाईँमा आउनेगोलीको प्रवाह थिएन ।’

Krishna Regmi 31655772730.jpg

१५ वर्षदेखि नै राजनीतिक संगठनमा
रेग्मी हाल नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेशको सदस्य तथा सिस्ने गाउँपालिका इन्चार्ज हुनुहुन्छ । उहाँ विद्यार्थी कालदेखि नै राजनीतिमा लाग्नुभएको थियो । उहाँले २०४५ साल जतिबेला उहाँ १५ वर्षको मात्रै हुनुहुन्थ्यो त्यतिबेलै उहाँ विद्यार्थी संगठनमा जोडिनुभएको थियो । अनेरास्वयूको संगठनको सदस्य हुनुभएको थियो । २०४८ सालमा उहाँले मोटो मशालको पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो । २०५२ सालको फागुन १ देखि १४ गतेसम्म जनयुद्धको थालनीमा उहाँले महत्वपूर्ण भूमिका निभाउनुभएको थियो । त्यसपछि उहाँले २०५५ सालमा जनयुद्धको पूर्णकालिन सदस्य भएर काम गर्नुभयो । उहाँ पूर्णकालिन हुन वित्तिकै मेडिकल क्षेत्रको जिम्मेवारीमा खट्नुभएको थियो । त्यसपछि २०५९ सालमा उहाँ पार्टीको आरबीएम अर्थात क्षेत्रीय व्युरो सदस्य बन्नुभएको थियो । २०६३ सालमा अखिल नेपाल जनस्वास्थ्यकर्मी संघको केन्द्रीय उपाध्यक्ष बन्नुभएका उहाँ २०६२ देखि २०६८ सम्म जनमुक्ति सेनाको स्वास्थ्य विभाग प्रमुख भएर पनि काम गर्नुभयो । हाल उहाँ पार्टीको लुम्बिनी प्रदेश सदस्यमा हुनुहुन्छ । 

आन्दोलन जारी छ 
राजनीतिक आन्दोलनबाट जनवादी व्यवस्था र समाजवाद स्थापनाको लक्ष राखिएको थियो । संविधानमै नेपाली मौलिकता सहितको समाजवाद उल्लेख भएपछि अब सबै त्यसैमा लाग्नुपर्ने भएको उहाँले बताउनुभयो । दश वर्षे जनयुद्धपछि अर्को युद्धमा लागेको बुझाई उहाँको छ । समय र परिस्थिति अनि आन्दोलनले मागेको कुरा संस्थागत गर्दै समाजवादको यात्रामा पार्टी हिडिरहेको उहाँले बताउनुभयो । संघीयता, गणतन्त्र, समावेशिताको संस्थागत गर्ने र जनतालाई सहज सेवा प्रवाहका लागि आफूहरु काममा रहेको रेग्मीले बताउनुभयो । जनताको सहज सेवा, उपलब्धताका लागि पार्टीले सदनको उपयोग गरेको उहाँको भनाई छ । संघीयता आफ्नै पार्टीको मुद्दा भएकाले बनेका स्थानीय सरकार मार्फत पनि जनतालाई सजिलो सेवा प्रवाहको आन्दोलनमा रहेको उहाँले बताउनुभयो । 

उत्पादन बृद्धि र सर्भिस डेलीभरी
५ वर्षे कार्यकालमा उहाँ उत्पादन बृद्धि र सर्भिस डेलीभेरी अर्थात सेवा प्रवाहलाई जोड दिएर लाग्ने योजनामा हुनुहुन्छ । हरेक खालको उत्पादन बढाएर त्यसबाट आम्दानी गर्ने र सिस्नेबासीलाई स्वरोजगार बनाउने तथा सेवा प्रवाहलाई जनताको मुखमुखसम्म पुर्याउन सकिने गरी योजना बनाइरहेको अध्यक्ष रेग्मीले बताउनुभयो । कृषि उत्पादन, उद्योग स्थापना र त्यसबाट पनि विभिन्न वस्तु उत्पादन गर्ने गरी नीति, कार्यक्रम र बजेट निर्माण हुने उहाँको भनाई छ । जनता आत्मनिर्भर बन्न सकेपछि र जनतलाई भनेकै ठाउँबाट भनेकै सेवा सुविधा प्रवाह गर्न सकेपछि स्थानीय सरकारको खास महशुस हुने भन्दै उहाँले त्यसका लागि निरन्तर लाग्ने बताउनुभयो ।

Krishna Regmi 11655772764.jpg

शिक्षा र स्वास्थ्यको गुणस्तरीयतामा ध्यान दिइने, पूर्वाधारतर्फ सडक, सञ्चारमा ध्यान दिने पहिला भएकाको निरन्तरता, स्तरोन्नती र थप कार्यक्रम गर्ने गरी योजना बनाइने उहाँको भनाई छ । हरेक क्षेत्रमा दक्ष जनशक्तिको व्यवस्थापन, उद्योग, पर्यटन क्षेत्रको उपयोग मार्फत रोजगारी सृजना, किसानलाई व्यवसायिक बनाउन ऋण प्रवाह, बढेको उत्पदानको बजार व्यवस्थापन समेतलाई ध्यान दिइने र समृद्धिको यात्रामा डोर्याउन कोशिश हुने अध्यक्ष रेग्मीले बताउनुभयो । जनताको कामका लागि २४ घण्टा खटनपटन, पहल र व्यवस्थापनमा ध्यान दिने भन्दै उहाँले ५ वर्ष व्यक्तिगत भन्दा जनताकै काममा तल्लिन रहने बताउनुभयो । 
 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update