रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा १२ वटा कार्यालयको सेवा एकै ठाउँमा प्रदान हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले एकीकृत घुम्ती शिविर आयोजना गरी एकै पटक एक दर्जन कार्यालयका सेवा प्रदान गर्न लागेको हो । माघको २९ र ३० गते एकीकृत घुम्ती शिविर हुनेछ । २९ गते नगरपालिकाको कार्यालयमा घुम्ती शिविर चल्नेछ भने ३० गते जहारी क्याम्पस खोलागाउँमा उक्त शिविर चल्ने छ ।
शिविरमा जिल्ला प्रशासन, जिल्ला प्रहरी, जिल्ला सरकारी वकील कार्यालय, नापी, मालपोत र स्वास्थ्य सेवा कार्यालयले सेवा प्रदान गर्नेछन् । यसैगरी तरकारी बीउ उत्पादन केन्द्र, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, डिभिजन वन कार्यालय र चौरजहारी नगरपालिकाको कार्यालयले एकीकृत रुपमा सेवा प्रवाह गर्नेछन् ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले एक सूचना जारी गरी एकीकृत घुम्ती शिविर हुन लागेको र त्यसबाट धेरै भन्दा धेरै सेवा लिन आग्रह गर्नुभएको छ । शिविरका क्रममा सम्बन्धित कार्यालयले सार्वजनिक सुनुवाई कार्यक्रम पनि गरिने प्रजिअ गैह्रेले बताउनुभयो । कोरोना महामारीपछि पहिलो पटक जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा एकीकृत घुम्ती शिविर आयोजना भएको हो । यस्तै गरी अन्य ठाउँमा पनि घुम्ती शिविर गर्दै जाने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।