Kakhara सबैको खबर सम्पूर्ण खबर
२९ वर्षमा उपसचिव 

विमला रोका श्रेष्ठ उमेरले २९ वर्ष पुरा हुनुभयो । तर सानै उमेरमा उहाँले हाँसिल गरेको सफलता भने ‘लोभलाग्दो’ छ । २९ वर्षकै उमेरमा उहाँ नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह रा.प द्धितिय श्रेणी उपसचिव पदको लिखित र मौखिक दुवै परीक्षामा सफल हुनुभएको छ । निजामति सेवा प्रवेश गरेको छोटो समयमा उहाँले ‘ठुलो’ सफलता हात पार्नुभयो । २०६९ सालमा १९ वर्षमै खरिदार पदबाट निजामति सेवामा प्रवेश गर्नुभएकी उहाँ त्यसको १० वर्षमा उपसचिवमा सिफारिस हुन सफल हुनुभएको हो । उहाँको सुरुको पोष्टिङ इलाका हुलाक कार्यालय रुकुममा भएको थियो । त्यहाँ ३ वर्ष ८ महिना सेवा गर्नुभयो । इलाका हुलाकमा काम गर्दा गर्दै उहाँले २०७३ कार्तिकमा शाखा अधिकृतमा नाम निकाल्नु भयो । त्यसपछि उहाँको पोष्टिङ सिस्ने गाउँपालिका रुकुम पूर्वमा भयो ।

गाउँपालिका स्थापनाको सुरुवात देखि नै उहाँले गाउँ सरकार संचालनको अनुभव हाँसिल गर्नुभयो । गाउँपालिका संचालनका लागि सुरुवातको व्यवस्थापन गर्नुपर्ने चुनौति उहाँलाई थियो भने जनप्रतिनिधि निर्वाचित भएर आएपछि कानुन निर्माण तथा अन्य कुरामा जनप्रतिनिधिलाई सघाउनुपर्ने जिम्मेवारी थियो । उक्त गाउँपालिकाको पहिलो कार्यकालका लागि अध्यक्ष पनि महिला नै निर्वाचित हुनुभएको थियो । यो गाउँपालिकामा केही वर्ष अध्यक्ष र हाकिबको जिम्मेवारी महिलाले सम्हाल्नुभयो । गाउँपालिकामा २ वर्ष ११ महिना सेवा गरेपछि उहाँको सरुवा जिल्ला समन्वय समिति रुकुम पूर्वमा भयो । त्यहाँ १ वर्ष ४ महिना सेवा गरेको श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार त्यसपछि उहाँको सरुवा नेपाल ट्रष्टको कार्यालयमा भयो ।

हाल उहाँ नेपाल ट्रष्टको कार्यालयमै कार्यरत हुनुहुन्थ्यो । यो कार्यालयमा उहाँको सेवा अवधि ११ महिनाको भयो । अवको सेवा भने कुन ठाउँमा हुने टुंगो लागेको छैन् । नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस भएको उहाँले बताउनुभयो । रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १३ छिवाङ जन्म घर भएकी श्रेष्ठको विवाह रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ मा भएको छ । उहाँका श्रीमान चन्द्रसिंह श्रेष्ठ भूमे गाउँपालिका रुकुम पूर्वमा स्थापना काल देखि नै प्रमुख प्रशासकीय अधिकृतका रुपमा कार्यरत हुनुहुन्छ । एक छोराकी आमा समेत रहनुभएकी श्रेष्ठ बच्चा, घर र कार्यालयको जिम्मेवारी पुरा गर्दै उपसचिव सम्मको यात्रा तय गर्न सफल हुनुभएको छ ।      
 

प्रकाशित मिति: मंगलबार, असार ७, २०७९  २०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update