Kakhara सबैको खबर सम्पूर्ण खबर
‘किन जान्छौ दाजु भाइ विदेशमा स्वदेशमै हिरा मोती छ’ (भिडिओ सहित)

पहिला थियो खोलीको वगर 
वगर अहिले बनाईयो रहर
जुनकिरीको आफ्नै ज्योति छ
किन जान्छौ विदेशमा दाजु भाइ स्वदेशैमा हिरा मोती छ....। 

मुसीकोट नगरपालिका वडा नम्बर ११ रातापहरका २९ वर्षिय विरबहादुर खड्काले लटरम्म फलेको टमाटर बारीबाट यही गीत मार्फत विदेशिने युवाहरुलाई विदेश नजान अनुरोध गर्नुभयो । बाँझो पाखोलाई खेत बनाएर व्यवशायिक तरकारी खेतिमा लागेका खड्का देशमै धेरै गर्न सकिने बताउनुहुन्छ । ‘२०७१ सालसम्म यो बाँझो पाखो थियो, वार्षिक १ हजारमा स्थानीयले घाँस काट्थे, लटरम्म फलेका टमाटर देखाउँदै खड्काले भने तर अहिले त्यही पाखोमा म वार्षिक ५ लाख बढीको कारोवार गर्छु ।’ २०७१ साल देखि व्यवशायिक तरकारी खेतिमा जोडिएका खड्काले सुरुमा धेरै दुःखको सामना गर्नुपर्यो । सुरुवातको एउटा तितो अनुभव उहाँसंग छ । अहिले भने त्यो किस्सा सम्झिदा उहाँलाई हाँसो लाग्छ । ‘तरकारी खेती गर्ने योजनामा छु, मलाई सहयोग गर्नुपर्यो भनेर साविकको जिल्ला कृषि विकास कार्यालयमा पुग्दा त्यहाँका कर्मचारीले विरबहादुर जी चश्मा ढल्काएर हिड्ने मान्छेले तरकारी खेती गर्न सक्छ ? भनेर फिर्ता पठाएको आज जस्तै लाग्छ, त्यतिबेला धेरै पिर परेको थियो तर अहिले त्यो सम्झिदा हाँसो लाग्छ उहाँले भन्नुभयो ।’ उहाँले ‘झिल्के’ हुनलाई नभई आँखा कमजोर भएका कारण चश्माको सहारा लिनु परेको छ । 

अहिले भने उहाँले विभिन्न सहयाेग पाइरहनुभएकाे छ । खड्का व्यवशायिक कृषि फर्म खड्का व्यवशायिक कृषि फर्म मार्फत तरकारी खेति सुरु गर्नुभएका विरबहादुरको फर्ममा टमाटर, काँक्रा, करेला, भान्टा, आलु, प्याज लगायतका तरकारी उत्पादन हुन्छन् । साथै उहाँले किमुका बिरुवा समेत उत्पादन गर्नुहुन्छ । टनेल बनाएर टमाटर लगायतको खेति गर्नुभएका उहाँले खुला रुपमा आलु, प्याज लगायतको खेती गर्दै आउनुभएको छ । अहिले आफुसंग १८ वटा बाँसका टनेल रहेको र जसमध्ये १३ वटा टनेलमा टमाटर, भान्टा लगायतका तरकारी उत्पादन भइरहेको उहाँले बताउनुभयो । सबै गरेर वार्षिक ५ लाख भन्दा बढीको तरकारीको कारोबार भइरहेको उहाँको भनाई छ । उहाँका अनुसार यसबाट २ देखि ३ लाखसम्म आम्दानी हुन्छ । 

खड्काका दम्पती नै तरकारी खेतिमा लागेका छन् । घरको काम सहित तरकारी उत्पादनको काम गरिरहेको विरबहादुरकी श्रीमती विष्णु ओली खड्काले बताउनुहुन्छ । ‘घरमा २ वटा भैसी छन्, बिहानै भैसीका लागि आहाराको व्यवस्था गरेर तरकारी फर्ममा आउँछौं, उहाँले भन्नुभयो बुढाले तरकारीको स्याहार गर्नुहुन्छ, म तरकारी लिएर बजार पुग्छु ।’ तरकारीका लागि बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो । जति तरकारी उत्पादन भएपनि स्थानीय सिम्रतु लगायतका बजारमै खपत हुने गरेको उहाँले बताउनुभयो । अहिले खड्का दम्पतीले एक पटकमा १ सय किलो भन्दा बढी टमाटर टिपेर बजार पुर्याईरहेको छ । यो सिजनको अहिलेसम्म ४ सय किलो बढी टमाटर वेचिसकेको विरबहादुरले बताउनुभयो । 

यो फर्ममा अहिले अन्य स्थानीयले पनि रोजगारी पाएका छन् । तरकारी लगाउने बेलामा ५, ६ जना भन्दा बढी कामदार लगाउने गरेको र २ जना कामदार भने दैनिक रुपमा खटिरहेको विरबहादुरको भनाई छ । उहाँका अनुसार २०७१ साल भन्दा अगाडी बाँझो रहेको जग्गामा डोजर लगाएर खेत बनाई तरकारी खेती सुरु गरिएको हो । फर्म संचालनका लागि साविकको जिल्ला कृषि विकास कार्यालय, हालको कृषि विकास कार्यालय र मुसीकोट नगरपालिकाबाट अनुदान तथा तालिम पाएको खड्काले बताउनुभयो । अनुदान र तालिमले व्यवशायिक बन्द सहयोग पुगेको उहाँले बताउनुभयो । 

नगद तथा सामग्रि अनुदान र विभिन्न तालिमको व्यवस्था गरिएको कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले बताउनुभयो । युवा स्वरोजगार कार्यक्रम देखि हालसम्म पटक पटक सामग्रि र नगद अनुदान उपलब्ध गराउँदै आएको र बेला बेलामा क्षमता विकास तालिम समेत प्रदान गरिरहेको केसीले बताउनुभयो । खड्का जिल्लामा अनुदान पाएर राम्रो गरिरहेका किसान मध्येको एक भएको उहाँले बताउनुभयो ।  


 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  ११:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update