रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ३ लाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । भूमे गाउँपालिकाको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्रद्धारा सञ्चालित खानेपानी तथा सरसफाई कार्यक्रम अन्तरगत वडालाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो ।
पूर्ण सरसफाई उन्मुखका लागि विभिन्न ६ वटा सूचकहरु पुरा हुनुपर्छ । आज एक कार्यक्रमका विच पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो । पूर्ण सरसफाई उन्मुख हुनका लागि योजना तर्जुमा तथा व्यवस्थापन, चर्पीको प्रयोग, पानी प्रयोग सम्बन्धी सुरक्षित व्यवहार, साबुन पानीले हात धुने वानीको विकास भएको हुनुपर्छ ।
त्यस्तै खाना प्रयोग सम्बन्धी सुरक्षित व्यवहार, सफा घर आँगन र सफा वातावरण हुनुपर्छ । वडा अध्यक्ष पर्शुराम बुढाको अध्यक्षतामा भएको कार्यक्रममा भूमे गाउँपालिका उपाध्यक्ष सविना बुढा मगरको प्रमुख आतिथ्यता र रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीको विशेष आतिथ्यता रहेको थियो ।
वडा कार्यालयमा भएको कार्यक्रममा सहिद शुक्र मावि सिमाका प्रध्यानाध्यापक झुलप्रसाद गुरुङको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सहायक ओमप्रकाश विकले गरेको त्यहाँबाट अमरज्योति सुनारले जानकारी दिनुभयो ।