रुकुम पश्चिमको १२ औं राष्ट्रपति रनिङ शिल्ड चौरजहारी नगरपालिकाले जितेको छ । आठबीसकोट नगरपालिका वडा नम्बर ९ स्थित वालकल्याण माविमा भएको शिल्ड कुल १७ पदकका साथ चौरजहारीले जितेको हो । उसले १० स्वर्ण, ५ रजत र २ कास्य गरी कुल १७ पदक जित्न सफल भयो ।
९ स्वर्ण, ७ रजत र ७ कास्य पदक सहित आठबीसकोट नगरपालिका दोस्रो भयो । उसले कुल २३ पदक जित्यो । शिल्डमा बाँफिकोट गाउँपालिका तेस्रो भयो । उसले ३ स्वर्ण, ६ रजत र १० कास्य सहित कुल १९ पदक जितेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेशकुमार शर्माले जानकारी दिनुभयो । शिल्डमा सानीभेरी चौथो भयो ।
जिल्लाका ६ स्थानीय तह मध्येमा ४ वटाले मात्र शिल्डमा भाग लिएका थिए । मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिका सहभागि नभएको अध्यक्ष शर्माले बताउनुभयो । स्थानीय तह बनेपछि जिल्लामा पहिलो पटक जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड भएको हो । स्थानीय तहले शिल्ड गरेपछि जिल्ला स्तरीय शिल्ड गर्ने व्यवस्था छ ।