Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरीमा गठित शैक्षिक सुधार कार्यदलले प्रतिवेदन बुझायो 

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा गठन भएको शैक्षिक सुधार कार्यदलले प्रतिवेदन बुझाएको छ । नयाँ जनप्रतिनिधि आएपछि जेठ १५ गते बसेको पहिलो गाउँकार्यपालिका बैठकले गाउँपालिकाको शिक्षाको वर्तमान अवस्था पत्ता लगाउने र सुधार गर्नका लागि के गर्नुपर्ने हो भनेर सुझाव सहितको प्रतिवेदन बुझाउने कार्यदेश सहित कार्यदल गठन गरेको थियो । 

गाउँपालिका शिक्षा शाखा प्रमुख भुपालसिंह बिष्टको संयोजकत्वमा गठित कार्यदल ७ सदस्यीय थियो । उक्त कार्यदलले गठन भएको ३ सातामा मंगलबार गाउँपालिकालाई प्रतिवेदन बुझाएको हो । यो विचमा गाउँपालिकाका सबै विद्यालयको स्थलगत अनुगमण र सरोकारवालाहरु संग छलफल गरेको संयोजक बिष्टले बताउनुभयो । 

प्रतिवेदनमा विगत र वर्तमानमा गाउँपालिकाको शिक्षाको अवस्थाको समिक्षा गर्दै अव शिक्षाको गुणस्तर थप बृद्धि गर्न आवश्यक नीति, कार्यक्रम र बजेटका विषयमा सुझाव पेश गरिएको उहाँको भनाई छ । गाउँपालिकाका सबै ४५ वटै विद्यालयको अनुगमण गरिएको थियो । अभिभावक, राजनितिक दल, बुद्धिजिवी, अगुवा लगायतसंग छलफल समेत गरिएको संयोजक बिष्टले बताउनुभयो । 

कार्यदलले विद्यालय समायोजन, तह घटुवा र शिक्षकको दरवन्दि मिलान गर्न सुझाव दिएको छ । प्राविधिक शिक्षा संचालन गर्न तथा हाल २ विद्यालयमा प्राविधिक धार तर्फ पढाई भइरहेकामा त्यसलाई प्रभावकारी बनाउन दक्ष शिक्षक, सामग्रि लगायतको व्यवस्थापन गर्न, गाउँपालिकामा १३ वटा मावि रहेकामा सबै आवश्यक नभएकोले संख्यामा पुनर्विचार गर्न पनि कार्यदलको सुझाव छ । 

दरवन्दि सृजनाको औचित्य पुष्टि गर्नुपर्ने, नियमानुसार प्रध्यानाध्यापक नियुक्ति गर्नुपर्ने, आवासिय विद्यालय सञ्चालन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा उल्लेख रहेको छ । गाउँपालिकाको हालको शिक्षाको अवस्था कस्तो हो र अव शिक्षाको गुणस्तर बढाउनका लागि के के गर्नुपर्छ भनेर सबै कुरा प्रतिवेदनमा समेटिएको उहाँको भनाई छ । प्रतिवेदन कार्यान्वयन भएमा हालको अवस्थामा सुधार आउने उहाँले बताउनुभयो । 

कार्यदलमा गाउँपालिका शिक्षा शाखा, गाउँकार्यपालिका सदस्य, पूर्व जनप्रतिनिधि, समाजसेवी, युवा लगायतको सहभागिता रहेको थियो । विकास र समृद्धिको प्रमुख सूचक शिक्षा भएकोले अव शिक्षामा खास समस्या के हो र त्यसलाई समाधान गर्ने गरी लाग्नका लागि कार्यदल बनाईएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले बताउनुभयो । कार्यदलको प्रतिवेदन आईसकेको र अव प्रतिवेदनका आधारमा अगाडी बढ्ने उहाँको भनाई छ ।।
 

प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १८:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update