रुकुम पूर्वको सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति, कार्यक्रम र बजेट ल्याएको छ । आज भएको गाउँसभामा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले आगामी वर्षको नीति, कार्यक्रम पेश गर्नुभयो । गाउँपालिकाले आगामी वर्षका लागि शिक्षा, स्वास्थ्य, कृषि, पशु, सुशासन, पर्यटन, रोजगारीलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु बनाएको छ । गाउँपालिकाले आगामी वर्ष देखि चिकिस्सा शिक्षा अर्थात डाक्टर पढ्नका लागि अनुदान तथा ऋण दिने भएको छ । गाउँपालिकामा निश्चित अवधि सेवा गर्ने सर्तमा स्थानीय छात्र छात्रालाई चिकित्सा शिक्षा अध्यन गर्न ऋण तथा अनुदान सहयोग गरिने नीति कार्यक्रममा उल्लेख छ ।
आगामी वर्ष प्रत्यक वडाका २५ जना विपन्न नागरिकको निःशुल्क स्वास्थ्य वीमा गरिने छ । गाउँपालिमा रहेका ४२ जना महिला स्वास्थ्य स्वयंसेविकालाई मोबालाई फोट वितरणको कार्यक्रम पनि गाउँपालिकाले बनाएको छ । आगामी वर्षदेखि गाउँपालिकाले भैंसीलाई सुत्केरी भत्ता दिने भएको छ । दुध उत्पादनलाई बढाउन भैंसीलाई सुत्केरी भत्ताको व्यवस्था गरिएको नीति कार्यक्रममा जनाईएको छ । पशु सेवाका लागि एम्बुलेन्स संचालन गर्ने भनिएको छ । वडा नम्बर १, २ र ४ मा जडिबुटी खेती संचालन गर्ने उल्लेख छ ।
भूमिहिन किसानलाई जमिनको व्यवस्था, चिस्यानगृह संचालन, बालविवाहबाट पिडित किशोरीका लागि जीवनउपयोगि शिक्षा दिने, आगामी वर्ष कक्षा ८ मा पनि स्थानीय पाठ्यपुस्तक लागु गर्ने, विद्यालयहरुलाई टिनको छाना मुक्त गर्ने कार्यको सुरुवात गर्ने, रुक्मेणि माविमा इ–लाईब्रेरी संचालन गर्ने, प्राविधिक विषय पढाई हुने विद्यालयमा दक्ष शिक्षक, सामग्रि लगायतको थप व्यवस्थापनमा ध्यान दिने पनि गाउँपालिका अध्यक्ष रेग्मीले पेश गरेको नीति कार्यक्रममा उल्लेख छ ।
६० वर्ष माथिका जेष्ठ नागरिकको वर्षमा तीन पटक स्वास्थ्य जाँच गर्ने, ५ वर्ष मुनिका बालबालिकालाई पोषण लेखाजोखा गरी पुरस्कृत गर्ने, फोहोर व्यवस्थापनका लागि नीति तथा सहकारीसंग साझेदारी गरी विशेष कार्यक्रम ल्याउने र लामा र अग्ला झोलुंगे पुलमा बन्जी जम्म र केवलकार सञ्चालनको सम्भाव्यता अध्यन गर्ने कार्यक्रम पनि गाउँपालिकाले बनाएको छ । नीति कार्यक्रममा आगामी वर्ष गरिने काम सहित हालसम्मको उपलब्धीको समिक्षा समेत गरिएको छ ।
नीति कार्यक्रमसंगै अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७९ पनि गाउँसभामा पेश गरिएको छ । गाउँपालिका उपाध्यक्ष गोपाल रेउलेले उक्त विधेयक पेश गर्नुभएको हो । बजेट भने भोली ल्याईने छ । भोलीको सभामा उपाध्यक्ष रेउलले आगामी वर्षको अनुमानित बजेट प्रस्तुत गर्नुहुने छ ।
गाउँसभामा पेश भएको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रमको पूर्ण पाठः