रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले आफ्नैै स्थानीय पाठ्यक्रम निर्माण गरेको छ । गाउँपालिकाले चालु शैक्षिक सत्र २०७९ देखि कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रमको पठन पाठन सुरु गरेको छ । पाठ्यक्रममा स्थानीय तहको परिचय, संरचना, भाषा, भौगोलिक अवस्था, पर्यटकीय क्षेत्रको चिनारी, स्थानीय पेसा, व्यवसाय र स्थानीय उत्पादनलाई समेटिएको छ ।
त्यस्तै स्थानीय भुगोल, चाडपर्व, रितिरिवाज, स्थानीय मुल्य मान्याता लगाएतका विषयहरु पनि समेटिएको गाउँपालिकाले जनाएको छ । कक्षा १ देखि ८ सम्म पढाई हुने स्थानीय पाठ्यक्रमको नाम हाम्रो त्रिवेणी राखिएको छ । स्थानीय पाठ्यक्रम निर्माण समितिले २०७८ साउन देखि पाठ्क्रम निर्माणको काम सुरु गरेको निर्माण समितिका सदस्य तथा त्रिवेणी गाउँपालिकाका कम्प्यूटर अपरेटर रोशन बोहराले बताउनुभयो ।
बोहराका अनुसार पालिकाको ४ लाख बजेटबाट ५ सय प्रति स्थानीय पाठ्यक्रम छापिएको छ । गाउँपालिकामा कक्षा १ देखि कक्षा ५ सम्म पढाई हुने २० र कक्षा १ देखि कक्षा ८ सम्म पढाई सञ्चालन हुने २० सामुदायिक विद्यालय गरी जम्मा ४० सामुदायिक विद्यालयहरु छन् । जसमध्ये १–५ का विद्यालयमा ६ वटा र १–८ सम्म पढाई हुने विद्यालयमा ९ वटा स्थानीय पाठ्यक्रम उपलब्ध गराईएको छ ।
अहिले प्रत्यक कक्षामा एक/एक वटा र शिक्षकको लागि एउटा पाठ्यक्रम उपलब्ध गराईएको छ । उक्त पाठ्यक्रमको अङक भार ५० पूर्णाङक छ । पाठ्य पुस्तक निर्माण हुन र प्रत्येक विद्यार्थीको हातहातमा पुग्न अझै एक वर्ष समय लाग्ने गाउँपालिकाले जनाएको छ ।