Kakhara सबैको खबर सम्पूर्ण खबर
पारिश्रमिक माग गर्दै आज रेडियोमा धर्ना दिईदै 
पारिश्रमिककाे माग गर्दै निकालिएकाे विराेध र्याली ।

रुकुम पश्चिमको एक रेडियोले तलव नदिएको भन्दै पूर्व कर्मचारीहरुले आज रेडियोमा धर्ना दिने भएका छन् । करिब १ वर्ष भन्दा लामो समयसम्म काम गरेको पारिश्रमिक नपाएको भन्दै आठबीसकोट नगरपालिका वडा नम्बर ९ बाट संचालनमा रहेको रेडियो नयाँ नेपालमा कार्यरत पत्रकारहरु आन्दोलित भएका छन् । आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तरगत आज रेडियोमा एक घण्टा धर्नाको कार्यक्रम रहेको संघर्ष समितिका संयोजक सत्य बटालाले जानकारी दिनुभयो ।

विभिन्न ५ वुँदे माग राखेर आन्दोलन सुरु गरेको र पहिलो चरणका आन्दोलनका कार्यक्रम अन्तरगत आज रेडियोमा धर्ना दिन लागिएको उहाँले बताउनुभयो । धर्नामा सहभागि हुन उहाँले जिल्लास्थित पत्रकार सहित अन्यलाई आग्रह गर्नुभएको छ । आन्दोलनका कार्यक्रम अन्तरगत यसअघि राडी बजारमा विरोध र्याली र सामाजिक सञ्चालमा रेडियो व्यवस्थापनका विरुद्ध भण्डाफोर कार्यक्रम गरिएको संघर्ष समितिले जनाएको छ । असार ७ गतेबाट पहिलो चरणको आन्दोलनमा रहेको र माग पुरा नभए थप कडा संघर्षका कार्यक्रममा जाने संघर्ष समितिले चेतावनी दिएको छ । 

उनिहरुको आन्दोलनमा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम सहित जिल्ला स्थित पत्रकारका विभिन्न संघ संगठन र श्रमजिवी पत्रकार संगठन लगायतले ऐक्यवद्धता जनाएका छन् । यसअघि जिल्ला स्थित प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टर नेपालले विज्ञप्ती जारी गर्दै पत्रकारहरुले पाउन बाँकी पारिश्रमिक तत्काल उपलब्ध गराउन संचालक समितिलाई ध्यानाकर्षण गराएका थिए । रेडियोमा काम गरेका ६ जना पत्रकारले आफुहरुले करिब १० लाख रुपैंया पाउन बाँकी रहेको बताएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update