Kakhara सबैको खबर सम्पूर्ण खबर
पहिलो घोषणा कार्यान्वयन गर्दै वडाध्यक्ष, घरमै पुगेर सुत्केरीलाई व्यक्तिगत खर्चबाट भत्ता बाँड्दै 
सुत्केरीलाइ स्याहार भत्ता दिँदै वडाध्यक्ष शिर्पाली ।

रुकुम पश्चिमको मुसीकोट नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष धिरन शिर्पालीले आफ्नो पहिलो घोषणा अनुसार सुत्केरी स्याहार भत्ता वितरण सुरु गर्नुभएको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट वडा अध्यक्षमा निर्वाचित भई कार्यभार सम्हाल्दा उहाँले वडामा सुत्केरी हुने सबैलाई आफ्नो व्यक्तिगत लगानीमा सुत्केरी स्याहार भत्ता दिने घोषणा गर्नुभएको थियो । 

उक्त घोषणा अनुसार उहाँले वडाको माङलोटेकी बिष्णु ददेललाई घरमै पुगेर भत्ता दिनुभएको हो । सुत्केरी भएको ८ दिनमा शनिबार ददेलकै घरमा गएर आमा र शिशुको स्याहारका लागि ३ हजार भत्ता दिएको वडाध्यक्ष शिर्पालीले बताउनुभयो । उहाँले सुत्केरी भएको १० दिन भित्र घरमै पुगेर भत्ता दिने घोषणा गर्नुभएको थियो । आमा र शिशुको स्याहारमा सहयोग पुगोस भनेर आफ्नै लगानीमा भत्ताको व्यवस्था गरेको वडाध्यक्ष शिर्पालीको भनाई छ ।

वडाभरमा सुत्केरी हुने आमाहरुलाई यसैगरी भत्ता उपलब्ध गराउने उहाँले बताउनुभयो । यसका सुरुवात भइसकेको र आफ्नो कार्यकाल भरीमा यो जारी रहने उहाँले बताउनुभयो ।   

प्रकाशित मिति: आइतबार, असार १२, २०७९  ०७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update