विगत पाँच वर्षदेखि रुकुमको पूर्व पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न विद्यालय र विद्यार्थीका समस्यालाई सम्बोधन गर्दै आएको पोखरास्थित कर्म फ्लाइट्स फाउन्डेसनले विद्यार्थीलाई छात्रवृत्ति वितरण र विद्यालयमा पुस्तकालय स्थापना गरिदिएको छ । वडा नम्बर ५ हुकामको बाल कल्याण आधारभूत विद्यालय उज्र्याङमा असार १ गते, वडा नम्बर ९ को आदर्श मावि खारबाङ्गमा असार २ गते, वडा नम्बर ४ को आधारभूत विद्यालय अर्जलमा असार २ गते र वडा नम्बर २ को आधारभूत विद्यालय हार्दिबाङ्गमा असार ३ गते पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ ।
फाउन्डेसन मार्फत ३ लाख २८ हजार बराबरको पुस्तकालय हस्तान्तरण गरिएको हो । पुस्तकालय पाएपछि विद्यालयहरुले फाउण्डेशनलाई धन्यवाद दिएका छन् । त्यस्तै फाउण्डेशनले हरेक वर्ष जस्तै यो वर्षपनि आफन्तजन छात्रवृत्ति कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । वडा नम्बर ६ मयाङको जनजागृति आधारभूत विद्यालयका १६ जना विद्यार्थीलाई वर्षभरी पुग्ने शैक्षिक सामग्री वितरण गरिएको छ । वडा नम्बर १ मैकोटको पुथा हिमालय माविका ३० जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई वार्षिक शैक्षिक सामग्री तथा नगद वितरण गरिएको छ ।
जनजागृत्ति आधारभूत विद्यालय मषाङ र पुथा हिमालय मावि मैकोटका ४६ जना विद्यार्थीलाई आफन्तजन छात्रवृत्ति कार्यक्रमबाट ७ लाख बराबरको शैक्षिक सामग्री तथा नगद वितरण गरिएको कर्म फ्लाइट्सका कार्यकारी सदस्य तथा रुकुम पूर्वका कार्यक्रम संयोजक कर्मसही घर्ती मगरले जानकारी दिनुभयो । कर्म फ्लाइट्सका फिल्ड कोर्डिनेटर राजु दास, संयोजक घर्ती मगर र भोलेन्टियर फ्रान्सेली नागरिक ट्रिष्टको अगुवाइमा पुस्तकालय तथा छात्रवृत्ति प्रदान गरिएको हो ।