रुकुम पश्चिममा करिब ६० प्रतिशत धान रोपाई सकिएको छ । कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३ हजार २७ हेक्टरमा धान खेती हुने गरेको छ । जसमध्ये करिब ६५ प्रतिशत भू–भागमा रोपाई सकिएको कृषि विकास कार्यालयका प्रमुख मिनबहादुर केसीले जानकारी दिनुभयो । जिल्लामा गतवर्षको यही समयको तुलनामा यो वर्ष रोपाईको अवस्था राम्रो रहेको उहाँले बताउनुभयो । ‘गतवर्ष यही अवधिमा ४०–४५ प्रतिशत रोपाई सकिने गरेको थियो यो वर्ष बढी रोपाई भएको छ, उहाँले भन्नुभयो–सयममै पानी परेका कारण यो वर्ष समयमै रोपाई भएको हो ।’
जिल्लामा जेठ दोस्रो हप्ता देखि श्रावण दोस्रो सातासम्म धान रोपाईका लागि उपयुक्त मानिन्छ । तर अधिकांश रोपाई भने असार मसान्तसम्म सकिने गरेको कृषि विकास कार्यालयको भनाई छ । जिल्लामा खुमल–४, राधा–४, खुमल–११, खुमल–१२, राधा–१४, सावा मञ्सुली, सुख्खा–३, ४, ६ जातको धान खेती हुने गरेको छ । सरकारले सिफारिस नगरेपनि केही किसानले हाईब्रिड धान समेत खेती गर्ने गरेका छन् । जिल्लामा उत्पादनका हिशावले धान मकैपछिको प्रमुख खाद्यान्न बाली हो । जिल्लाका सबै स्थानीय तहमा धान खेती हुने गरेको छ ।
चौरजहारी, मुसीकोट, सानीभेरी, बाँफिकोटको तुलनामा आठबीसकोट र त्रिवेणीमा कम खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा धान उत्पादन बढ्दो छ । गतवर्ष जिल्लामा करिब १३ हजार मेट्रिकटन धान उत्पादन भएको थियो । तर उत्पादनमा मौसमले मुख्य भुमिका खेल्ने गरेको प्रमुख केसीको भनाई छ । अधिकांश ठाउँमा रोपाई आकाशे पानीमा भर पर्ने भएकोले पानी समयमै परेको वर्ष राम्रो धान उत्पादन हुने र खडेरी परे उत्पादन घट्ने गरेको उहाँले बताउनुभयो ।