रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ३ र ५ मा फैलिएको स्यार्पू ताल हेर्न पुग्नेहरुलाई लक्षित गर्दै होम स्टे निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय र स्थानीयको श्रमदानबाट वडा नम्बर ३ स्यार्पू गाउँका ११ वटा घरमा होम स्टेका लागि विभिन्न संरचनाहरु निर्माण गरिएको छ । कोसेली घर, भान्सा घर, शौचालय, वाथरुम, ट्रस्ट लगायतका संरचनाहरु निर्माण गरिएको हो । स्यार्पू ताल अर्गानिक हाेम स्टे कार्यक्रम अन्तरगत विभिन्न संरचनाहरु निर्माण गरिएको स्यार्पू ताल होम स्टे संचालक समितिका सचिव तुलशा मल्लले जानकारी दिनुभयो ।
समितिमा रहेका ११ जना सदस्यका घरमा सम्बन्धित घरको रोजाइमा विभिन्न संचरनाहरु निर्माण गरिएको उहाँले बताउनुभयो । ‘होम स्टेका लागि डिभिजन वन कार्यालयले प्रस्ताव आह्वान गरेको थियो, त्यसमा हाम्रो प्रस्ताव पारित भयो, उहाँले भन्नुभयो–समुहका कुन सदस्यलाई कुन संरचना बनाउने हो भनेर सोधियो, उहाँहरुकै इच्छामा काम भएको हो ।’ उहाँका अनुसार प्रत्येक घरमा पाहुनाका लागि छुट्टै कोठा छुट्याईएको छ । कोसेली घर, भान्सा, शौचालय, वाथरुम र ट्रस्ट निर्माण भएपछि पाहुनाको व्यवस्थापनमा सहज हुने समितिको विश्वास छ ।
डिभिजन वन कार्यालयको ४३ लाख र स्थानीयको ३० प्रतिशत श्रमदानमा भौतिक संचनाहरु निर्माण भएको डिभिजन वन प्रमुख महेश कुमाईले जानकारी दिनुभयो । कर्णाली प्रदेशबाट प्राप्त बजेट कार्यविधि अनुसार खर्च भएको उहाँले बताउनुभयो । कार्यविधिमै होम स्टेका लागि घर घरमै विभिन्न संरचनाका लागि सहयोग गर्ने भनेको उहाँको भनाई छ । जस अनुसार ३ कोठाको एउटा कोसेली घर, ६ वटा भान्सा घर, २ वटा शौचालय र बाथरुम तथा २ वटा घरमा ट्रस्ट निर्माण गरिएको उहाँले प्रमुख कुमाईले बताउनुभयो ।
कोसेली घरमा एउटा कोठा स्थानीय उत्पादनहरु राख्न प्रयोग हुने छ भने एउटा कोठा समुहको वैठक बस्न, अन्य सामग्री व्यवस्थापन गर्न तथा अर्को कोठा भान्सा घर वा पाहुना राख्न प्रयोग हुने उहाँले बताउनुभयो । कोसेली घर व्यक्तिगत जग्गामा १५ वर्षका लागि लिजमा लिएर निर्माण गरिएको छ भने अन्य संरचना भने घर घर निर्माण भएका छन् । घर घरमै पाहुना राख्न सकिने भएपछि स्यार्पू तालको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने डिभिजन वन प्रमुख कुमाईले विश्वास व्यक्त गर्नुभयो ।
होटलमा भन्दा सस्तो हुने र घर परिवारसंगै वस्न तथा खान सकिने भएपछि पाहुनालाई पनि सजिलो हुने विश्वास गरिएको छ । संरचना निर्माणको काम लगभग सकिएको र बाँकी व्यवस्थापन गरेर तुरुन्तै संचालन गर्न सकिने स्यार्पू ताल अर्गानिक होम स्टे संचालक समितिले जनाएको छ ।