Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमलाई भारतले उपहार दियो ६ वटा एम्बुलेन्स र एउटा स्कुल वस
रूकुम पश्चिमको आटठबीसकोट नगरपालिकालाई प्राप्त एम्बुलेन्स र स्कुल वस ।

रुकुम पश्चिमले ६ वटा एम्बुलेन्स र एउटा स्कुल वस अनुदान पाएको छ । भारत सरकारले जिल्लाका ६ वटा स्थानीय तह र एउटा विद्यालयलाई स्कुल वस सहयोग गरेको हो । आठबीसकोट नगरपालिकाले एम्बुलेन्स र स्कुल वस पाएको छ भने अन्य स्थानीय तहले एम्बुलेन्स पाएका छन् । एम्बुलेन्स सहयोग पाउनेमा मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिका रहेका छन् ।

भारत सरकारले नेपालमा रहेको भारतिय राजदुतावास मार्फत देशभरमा १ सय ८४ वटा एम्बुलेन्स र ९ सय ४० वटा स्कुल वस बाँडेको छ । जसअन्तरगत रुकुम पश्चिममा ६ वटा एम्बुलेन्स र एउटा स्कुल वस सहयोग प्राप्त भएको हो । एकैपटक जिल्लामा ६ वटा एम्बुलेन्स भित्रिएपछि विरामीहरुलाई सहज हुने भएको छ । आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले दुर्गमका नागरिकहरुलाई एम्बुलेन्सले थप सहज हुने विश्वास व्यक्त गर्नुभयो । अघिल्लो सरकारले गरेको पहलले नगरपालिकालाई एउटा एम्बुलेन्स प्राप्त भएको उहाँले बताउनुभयो । 

यो संगै नगरपालिकामा २ वटा एम्बुलेन्स भएका छन् । त्यस्तै स्कुल वस पाउने आठबीसकोट नगरपालिका जिल्लाको एक मात्र स्थानीय तह हो । नगरपालिकाको वडा नम्बर ९ राडिमा नगर सरकारद्धारा सञ्चालित सहिद स्मृति नमुना माविका लागि स्कुल वस प्राप्त भएको हो । यो स्कुल २०७५ साल देखि संचालनमा आएको हो । शैक्षिक गुणस्तर कायम गर्नेगरी नगरपालिकाले नगर भरकै नमुना विद्यायलका रुपमा यस विद्यालयलाई संचालन गरिरहेको छ ।

विद्यालयको खर्च व्यवस्थापन नगरपालिकाबाट हुँदै आएको छ । विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । यो स्कुलमा पढनका लागि प्रवेश परीक्षा पास गर्नुपर्छ । दक्ष जनशक्ति उत्पादन गर्ने मुख्य उदे्श्यले विद्यालय संचालनमा रहेको नगर शैक्षिक गुणस्तर परीक्षण केन्द्रका शिक्षा परीक्षक थलविर ओलीले बताउनुभयो । स्कुल वसले विद्यार्थीलाई विद्यालय पुग्न सहज हुने र अभिभावकलाई कम खर्च पर्ने विश्वास उहाँको छ ।

टाढाका विद्यार्थीलाई बसले ल्याउने/पुर्याउने भएपछि पैसा खर्च गरेर छात्राबासमा वस्नुपर्ने वा कोठा भाडामा लिएर बस्नु नपर्ने उहाँले बताउनुभयो । विद्यालयमा नगरपालिकाका सबै ठाउँका विद्यार्थीहरु अध्यनरत छन् । अहिले विद्यालयमा कक्षा ६ देखि १० सम्म पढाई भइरहेको छ भने ३ सय ७२ जना विद्यार्थीहरु अध्यनरत छन् ।

 

 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update