Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिदै
सानीभेरी गाउँपालिका ३ को गरायला स्वास्थ्य चौकीमा वच्चालाई खोप लगाउन आएका आमाहरुलाई परामर्श गर्दै एक स्वास्थ्यकर्मी ।

१६ देखि २३ महिना उमेर समुहका बालबालिकाहरुले पाउनुपर्ने खोपको सबै मात्रा पाएपछि रुकुम पश्चिमलाई पूर्ण खोप सुनिश्चित घोषणाको तयारी थालिएको छ । असार मसान्त भित्रमा जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणाको तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार त्यसअघि पालिकाहरुलाई घोषणा गरिने छ ।  अहिले पालिकाकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणाका लागि अनुगमण लगायतका काम भइरहेको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

पत्रकार महासंघ, गैरसकारी संस्था महासंघ, उद्योग वाणिज्य संघ र स्वास्थ्य सेवा कार्यालयका प्रतिनिधि सम्मिलित टोली पालिका पालिकामा पुगिरहेको छ । उक्त टोलीले तोकिएको उमेर समुहका बालबालिकाहरुले पाउनुपर्ने खोपको सबै मात्रा पाएका छन कि छैनन् भन्ने बारेमा अनुगमण गरिरहेको खोप सुपरभाईजर अधिकृत खड्काले बताउनुभयो । जिल्लाका ६ वटा पालिका मध्येमा बाँफिकोट गाउँपालिका बाहेक अन्य पालिकामा अनुगमण भइसकेको छ । बाँफिकोटमा भोली हुने उहाँले बताउनुभयो । अनुगमणमा खटिएको टोलीको प्रतिवेदनका आधारमा पालिकाहरुलाई घोषणाका लागि अनुरोध गर्ने स्वास्थ्य सेवा कार्यालयको भनाई छ ।

पालिकाहरुले आफ्नो पालिकामा रहेका सबै बालबालिकाहरुले पाउनुपर्ने खोपको मात्रा पाईसकेको बताएकोले त्यसबारेमा जिल्ला स्तरीय टोलीले अनुगमण गरेको बताईएको छ । पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित गरिएपछि जिल्लालाई नै घोषणा गरिने छ । ‘हामीले यसै महिना भित्र जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने गरी तयारी गरिरहेका छौं, खोप सुपरभाईजर अधिकृत खड्काले भन्नुभयो–हेरौं तयारी कति पुरा हुन्छ, पालिकाहरुको घोषणा सकिन कति समय लाग्छ ।’ १६ देखि २३ महिना उमेर समुहका बालबालिकाहरुले १२ वटा खोप लगाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित घोषणा गर्न सकिने प्रावधान छ ।

यद्धपि हाल एउटा खोप थपिएर बालबालिकाले लगाउनुपर्ने खोपको संख्या १३ पुगेको बताईएको छ । अहिलेसम्म कुनै पनि पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छैन् । वडा तहमा भने घोषणा कार्यक्रमहरु भइरहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १७:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update