सुन चाँदी व्यवसायी संघ रुकुम पश्चिमको पहिलो साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । मुसीकोट खलंगामा भएको साधारण सभा तथा अधिवेशनले रविलाल शाहको अध्यक्षतामा १७ सदस्यीय संघको नयाँ कार्यसमिति चयन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा प्रकाश सुनार, उपाध्यक्षमा भुवन सोनी, महासचिवमा झगवीर सुनार, सचिवमा रामक्रान्ति सोनी र कोषाध्यक्षमा असिम स्वर्णकार निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा विरेन्द्र सुनार, पूर्णबहादुर सुनार, किरण सोनी, दिपक सुनार, वसन्त विक, टेकराज सुनार, तस्वीर सुनार र विशाल घर्ती मगर रहनुभएको छ ।
त्यस्तै कार्यसंचालन समितिको संयोजकमा वुद्धिमान सुनार र लेखा समितिको संयोजकमा गोविन्द सुनार निर्वाचित हुनुभएको छ । साधारण सभाबाट अग्रज व्यवसायीहरु कृष्ण स्वर्णकार, कृष्णबहादुर विश्वकर्मा, गमबहादुर सुनार र कर्णबहादुर सुनारलाई सम्मान समेत गरिएको छ । यसका साथै संघका महासचिव झगवीर सुनारले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष भुवन सोनीले पेश गरेको आर्थिक प्रतिवेदन साधारण सभाले पास गरेको छ ।
अध्यक्ष रविलाल शाहको अध्यक्षतामा भएको साधारण सभाको संचालन रामक्रान्ति सोनीले गर्नुभएको थियो भने वरिष्ठ उपाध्यक्ष प्रकाश सुनारले स्वागत मन्तव्य राख्नुभएको थियो । साधारण सभा तथा अधिवेशनमा जिल्लाभरका सुन चाँदी व्यवसायीहरुको सहभागिता रहेको थियो ।