रुकुम पश्चिमको आठबीसकोट नगरपालिकालाई खर र फुसको छाना मुक्त बनाउन नगरवासीलाई जस्तापाता वितरण भइरहेको छ । यो वर्ष करिब ९ सय घर परिवार जस्ता पाता वितरण गरिदै छ । जसअनुसार वडा वडामा जस्तापाता पठाईएको छ । यो वर्ष झण्डै ८ करोड बजेट खर्च हुँदै छ । नगरका सबै १४ वटै वडामा जस्तापाता पठाईएको छ । वर्षातका कारण वाटो विग्रिएकोले वडा नम्बर १, २ र ३ मा भने जस्ता पाता पुर्याउन समस्या भएको बताईएको छ ।
विपन्न, दलित, अल्पसंख्यक घरधुरीलाई जस्तापाता वितरण गरिएको वडा नम्बर ५ का अध्यक्ष घनश्याम भण्डारीले जानकारी दिनुभयो । जस्तापाताका लागि छनौट भएका वडाका ६१ परिवारलाई जस्तापाता वितरण गरिएको उहाँले बताउनुभयो । प्राविधिक मुल्यांकन अनुसार सानो घरलाई २२ वटा र ठूलो घरलाई ३६ वटासम्म जस्तापाता वितरण गरिएको वडाध्यक्ष भण्डारीले बताउनुभयो । जस्तापाता निःशुल्क रुपमा वितरण गरिएको हो । ढुवानीका लागि भने सम्बन्धीत परिवारले लगानी गरेका छन् ।
नगरपालिकाको प्रशासनिक केन्द्र राडि बजारबाट गोतामकोटसम्म जस्तापाता ढुवानीका लागि लाभान्वित परिवारले प्रति पाता ६० रुपैंया लगानी गरेको आठबीसकोट ५ का अध्यक्ष भण्डारीको भनाई छ । यो कार्यक्रमले आँफैले घर बनाउन नसक्ने नागरिकहरुलाई लाभ मिलेको छ । क्रमिक रुपमा नगरपालिकालाई खर र फुसको छाना मुक्त गराउने लक्ष राखिएको नगरपालिकाले जनाएको छ । सोही अनुसार यो वर्ष ९ सय घरका छाना फेरिन लागेको नगरपालिकाको भनाई छ ।