Kakhara सबैको खबर सम्पूर्ण खबर
अव मुसीकोटका सडकमै पार्किङ 
खलंगाकाे बालमन्दिर अगाडि सडकमा पार्किङ गरिएका माेटरसाइकल ।

अस्तव्यस्त अवस्थामा रहेको पार्किङलाई व्यवस्थित गर्ने भन्दै रुकुम पश्चिमको मुसीकोट नगरपालिकाले सडकमै मोटरसाईकल पार्किङको व्यवस्था मिलाएको छ । सवारी चाप बढेको तर पार्किङको उचित व्यवस्थापन नहुँदा नगरपालिकाले खलंगाका सडकमै मोटरसाईकल पार्किङको व्यवस्था गरेको छ ।खलंगाको सहिदगेटबाट पुष्पलाल चोक सडक र बालमन्दिर अगाडिको सडकलाई पार्किङका लागि छुट्याईएको छ । आधा सडकलाई पार्किङ  र आधा सडकलाई सवारी साधन तथा नागरिकहरुलाई आवतजावतका लागि प्रयोग गर्न मिल्ने गरी छुट्याईएको हो । 

तर यसले बजार क्षेत्रलाई झनै अस्तव्यस्त बनाउने भन्दै केहीले यस कदमको आलोचना पनि गरिरहेका छन् । सडक सवारी साधन र नागरिकहरुलाई आवतजावतका लागि भएपनि सडकमै पार्किङ गरिँदा थप चाप बढ्ने र यसले असहज हुने केहीको भनाई छ । नगरपालिकाले भने यो अल्पकालिन व्यवस्था भएको बताएको छ । नगर प्रमुख महेन्द्र केसीले खलंगाको सहिद मैदानमा ३ तलाको पार्किङ भवन निर्माण हुन लागेको बताउनुभयो । आगामी वर्ष उक्त भवन निर्माणका लागि नगरपालिकाले ३० लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो ।

उक्त भवनमा साना सवारी साधन तथा मोटरसाईकल पार्किङ गर्न मिल्ने उहाँको भनाई छ । हाल तत्काललाई भने सडक चौडा भएको ठाउँमा पार्किङको व्यवस्था मिलाईएको नगर प्रमुख केसीले बताउनुभयो । उहाँका अनुसार साना गाडीहरु भने सहिद मैदानमा पार्किङको व्यवस्था मिलाईएको छ । जथाभावि पार्किङ गर्दा बजार अस्तव्यस्त वनिरहेको अवस्थामा केही रुपमा भएपनि सवारी व्यवस्थापन गर्न पार्किङको व्यवस्था गरिएको उहाँले बताउनुभयो । 

यसले जथाभावि पार्किङ गर्ने समस्या कमि आउने र बजारमा हिडडुल गर्न सहज हुने विश्वास नगरपालिकाको छ । यसअघि पनि पार्किङलाई व्यवस्थित बनाउने भन्दै विभिन्न पहलहरु भएका थिए । तर उक्त पहलहरु सफल भने हुन सकेका थिएनन् । सवारी चाप बढ्दै गएको अवस्थामा साँघुरो सडक र पार्किङका लागि उपयुक्त स्थानको अभावमा खलंगा बजारमा जथाभावि मोटरसाईकल र साना सवारीका साधन पार्किङ गरिदा नागरिकहरुले सास्ती व्यहोर्दै आएका छन् । यसले पैदलयात्रुहरुलाई हिडडुलमा समस्या भएको छ भने दुर्घटनाको जोखिम बढ्दो छ ।
 

प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update