स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले वर्षभरीमा भएका कामहरुको बारेमा जानकारी गराएको छ । आज जिल्लास्थित पत्रकारहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर कार्यालयले चालु आर्थिक वर्षमा भएका कामहरुको बारेमा जानकारी गराएको हो ।
जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुको संख्या र अवस्था, खोप, पोषण, सुरक्षित मातृत्व कार्यक्रम, परिवार नियोजन कार्यक्रम, कोभिडको अवस्था लगायतका बारेमा जानकारी गराईएको हो । स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले स्वास्थ्य सेवा कार्यालयको प्रगति समेटिएको प्रस्तुति राख्नुभएको थियो ।
कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीले स्वास्थ्य सेवा प्रवाहको अवस्था प्रभावकारी बन्दै गएको बताउनुभयो । जिल्लास्थित सबैको सहयोग र सहकार्यबाट सेवा प्रवाह व्यवस्थित हुँदै गएको उहाँले बताउनुभयो । पछिल्लो पटक जिल्ला अस्पतालबाट दिईने भिडिओ एक्सरे सेवा सहित अन्य सेवाहरु सहुलियतमा दिईरहेको उहाँको भनाई छ ।
स्वास्थ्य सेवालाई सुलभ र सबैको पहुँचमा पुर्याउनका लागि पहल गरिरहको उहाँले बताउनुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण केसीले जिल्ला स्थित पत्रकारहरुले स्वास्थ्य सेवालाई प्रभाकारी बनाउनका लागि मिडियाको तर्फबाट भूमिका खेलिरहेको बताउनुभयो । राम्रा कामलाई प्रचार गर्ने देखि कमजोरी भएका ठाउँमा ध्यानाकर्षण गराउने काम गरिरहेको उहाँको भनाई छ ।
कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर जनक केसीको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले गर्नुभएको थियो ।