Kakhara सबैको खबर सम्पूर्ण खबर
पालिकालाई पूर्ण खोप सुनिश्चित गर्न अनुमति, जिल्लाका लागि प्रदेशसंग अनुमति माग 

रुकुम पश्चिम जिल्लालाई नै पूर्ण खोप सुनिश्चित घोषणा गर्ने तयारी अन्तरगत जिल्लाका सबै पालिकाहरुलाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न अनुमति दिईएको छ । आज बसेको जिल्ला खोप समन्वय समितिको बैठकले पालिकाबाट अनुमति माग भए वमोजिम सबै पालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्न अनुमति प्रदान गरेको हो । 

पालिकाहरुले पूर्ण खोप सुनिश्चित घोषणाका लागि योग्य रहेको र त्यसका लागि अनुमति प्रदान गर्न माग गरे वमोजिम जिल्ला खोप समन्वय समितिबाट सबै स्थानीय तहमा अनुगमण गरिएको थियो । पत्रकार महासंघ, गैरसरकारी संस्था महासंघ, उद्योग वाणिज्य संघ र स्वास्थ्य सेवा कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले अनुगमण गर्दा घोषणा गर्न योग्य पाईएपछि आज बसेको समितिको बैठकले अनुमति दिएको हो । 

पालिकाको घोषणा सकिएपछि जिल्लालाई नै घोषणा गर्ने तयारी गरिएको छ । त्यसका लागि कर्णाली प्रदेश समक्ष अनुमति माग गरिएको छ । आज बसेको जिल्ला खोप समन्वय समितिको बैठकले जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्नका लागि आवश्यक प्रक्रियाहरु पूरा गरेकोले प्रदेश खोप समन्वय समितिमा सिफारिस गरी पठाउने निर्णय भएको स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो । 

त्यस्तै बैठकले जिल्लामा कोभिडि विरुद्धको खोप अभियानका रुपमा संचालन गर्ने निर्णय गरेको छ । त्यस अन्तरगत धेरै भिड हुने जिल्ला प्रशासन कार्यालय, नगरपालिका र जिल्ला अस्पतालमा दैनिक नियमित ५ दिन खोप केन्द्र संचालन गर्ने र स्थानीय तहमा समन्वय गरेर खोप अभियान संचालन गर्ने पनि निर्णय भएको खोप सुपरभाईजर अधिकृत खड्काले बताउनुभयो । 

जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर कामीको अध्यक्षतामा बसेको बैठकमा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, सहायक प्रमुख जिल्ला अधिकारी डिल्ली खड्का, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोती, सशस्त्र प्रहरी प्रमुख प्रेमसिंह धामी, निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

बैठकको संचालन स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले गर्नुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update