Kakhara सबैको खबर सम्पूर्ण खबर
जिल्ला अदालतबाट चालु आर्थिक वर्षमा ६३ प्रतिशत मुद्धा फछ्र्यौट 
रूकुम जिल्ला अदालत ।

चालु आर्थिक वर्ष २०७८/०७९ मा रुकुम जिल्ला अदालतले ६३ प्रतिशत मुद्धा फछ्र्यौट गरेको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका र यो वर्ष दर्ता भएका कुल ६ सय ३८ मुद्धा मध्ये ४ सय ३ वटा मुद्धा फछ्र्यौट भएको अदालतले जनाएको छ । यो कुल मुद्धाको ६४.१६ प्रतिशत हो । गत आर्थिक वर्ष २०७७/०७८ बाट ३ सय ४ वटा मुद्धा जिम्मेवारी सरेर आएका थिए भने यो वर्ष ३ सय ३४ मुद्धा दर्ता भएको जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिनुभयो । अव २ सय ३५ वटा मुद्धा विचाराधिन रहेको उहाँले बताउनुभयो । 

यि मुद्धा आगामी वर्षका लागि जिम्मेवारी सरेर जाने श्रेष्तेदार बोहराले बताउनुभयो । उहाँका अनुसार यो वर्षका कुल मुद्धा मध्ये देवानी तर्फका ४ सय ५१ र फौजदारी तर्फका १ सय ८७ वटा मुद्धा थिए । जसमध्ये देवानी तर्फका ३ सय ९ वटा र फौजदारी तर्फका ९४ वटा मुद्धा फछ्र्यौट भएका हुन् । यो वर्ष फछ्यौट हुन बाँकी २ सय ३५ वटा मध्येमा देवानी तर्फका १ सय ४२ ल र फौजदारी तर्फका ९३ वटा मुद्धा रहेको श्रेष्तेदार बोहराको भनाई छ । जिल्ला अदालतमा सबैभन्दा बढी मुद्धा सम्बन्ध विच्छेदका दर्ता हुने गरेको उहाँले बताउनुभयो । बालविवाह, वैदेशिक रोजगार लगायतका कारण सम्बन्ध विच्छेदका मुद्दाहरु बढ्दो क्रममा रहेको उहाँले बताउनुभयो ।

त्यस्तै हालसम्मको जम्मा ३ सय ९१ वर्ष १ महिना ९ दिन कैद सजाय फैसला भएकामा ७७ वर्ष ११ महिना फछ्र्यौट हुँदा ३ सय १३ वर्ष २ महिना ९ दिन फछ्र्यौट हुन बाँकी रहेको अदालतले जनाएको छ । जरिवाना तर्फ १ करोड ८८ लाख ५१ हजार ३ सय ३५ फैसला भएकामा १० लाख ३३ हजार ५ सय ६ रुपैंया मात्र फछ्र्यौट भएको छ । १ करोड ७८ लाख १७ हजार ८ सय २९ रुपैंया जरिवाना उठ्न बाँकी छ । निवेदन तर्फ जम्मा १ सय १० थानमा ५० थान फछ्र्यौट हुँदा ५१ थान बाकी रहेको जिल्ला अदालतले जानकारी दिनुभयो । आज जिल्लास्थित पत्रकारहरुसंगको छलफलका क्रममा जिल्ला अदालतले यसबारेमा जानकारी गराएको हो ।

त्यस्तै अदालति रिपोर्टिङका बारेमा जिल्ला अदालतले पत्रकारहरुलाई विभिन्न कानुनी व्यवस्थाका बारेमा जानकारी गराएको छ । श्रेष्तेदार बोहराले जिल्लास्थित पत्रकारहरुलाई मुद्धा दर्ता देखि फैसलासम्मको चरणमा प्रयोग हुने प्रक्रिया, भाषा लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, असार २३, २०७९  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update