Kakhara सबैको खबर सम्पूर्ण खबर
टुहुरा बालबालिकालाई मासिक २ हजार भत्ता
टुहुरा बालबालिकालाइ चेक हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष पुन ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले टुहुरा बालवालिकाहरुलाई सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले नीति नै बनाएर गाउँपालिकामा रहेका टुहुरा बालवालिकाका लागि मासिक २ हजार भत्ताको व्यवस्था गरेको हो । गाउँपालिकाले आज एक कार्यक्रमको आयोजना गरी गाउँपालिकामा रहेका १६ जना टुहुरा बालबालिकालाई पहिलो चौमासिकको भत्ता वितरण गरेको छ । महिनाको २ हजारका दरले ४ महिनाको प्रति बालबालिकाले ८ हजारका दरले भत्ता वितरण गरिएको गाउँपालिकाका बाल अधिकार अधिकृत एवं बालकल्याण अधिकारी मानविर ओलीले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष नरवहादुर पुनले १६ जना बालबालिकालाई आज चेक हस्तान्तरण गर्नुभयो । संरक्षण तोकेर सबै टुहुरा बालबालिकाको नाममा बैंक खाता खोलिएको छ । उक्त खातामा उनिहरुको भत्ता जम्मा भएको ओलीले बताउनुभयो । गाउँपालिकाले पहिलो पटक टुहुरा बालबालिकाहरुलाई भत्ता उपलब्ध गराएको हो । अव देखि प्रत्येक चौमासिकमा बैंक खातामा भत्ता जम्मा हुने गाउँपालिकाले जनाएको छ । कुनैपनि संरक्षक नरहेका बालवालिकाहरुको पालन पोषण र शिक्षा दीक्षाका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको बाल अधिकार अधिकृत एवं बालकल्याण अधिकारी ओलीको भनाई छ ।

भत्ताले टुहुरा बालबालिकाहरुको संरक्षणमा टेवा पुग्ने गाउँपालिकाको विश्वास छ । गाउँपालिकाले बालबालिकाको हक अधिकार संरक्षण र प्रवद्र्धन सम्वन्धी कार्यविधि २०७६ जारी गरी बालअधिकार संरक्षणका लागि विभिन्न कामहरु गरिरहेको छ । यहि कानुन अनुसार गाउँपालिकाले संरक्षण विहिन टुहुरा बालबालिकाका लागि भत्ताको व्यवस्था गरेको हो । यसका अलावा गाउँपालिकाले बालविवाह न्यूनिकरण सम्वन्धी रणनिति २०७४, बालक्लव संजाल गठन तथा संचालन निर्देशिका २०७४ र आपतकालिन बाल उद्धार कोष संचालन निर्देशिक २०७४ पनि निर्माण गरी कार्यान्वयनमा ल्याईसकेको छ । यि नीतिमा टेकेर गाउँपालिकाले बालमैत्री स्थानीय शासन प्रबर्द्धन, बालविवाह न्यूनिकरण, बाल दुर्व्यवहार न्यूनिकरण एवं पहिचान विहिन बालबालिकालाई पहिचानमा सहायता दिने कामहरु गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, माघ २७, २०७७  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update