Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा यो वर्ष ७ प्रतिशत बालबालिका कम तौलका जन्मिए
फाइल फाेटाे ।

रुकुम पश्चिममा यो वर्ष ७ प्रतिशत बालबालिका कम तौलका जन्मिएका छन् । स्वास्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७८/०७९ मा जन्मिएका कुल बच्चाको ७ प्रतिशत बच्चा कम तौलका रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यो वर्ष जिल्लामा कुल २ हजार ९ सय ६२ जना बच्चा जन्मिएकामा २ सय ९ जनाको ताैल कम रहेको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले जानकारी दिनुभयो । यो वर्ष सकिन अझै केही दिन बाँकी रहेकोले यो संख्या थपिन सक्ने उहाँले बताउनुभयो । 

जन्मिदा सामान्यतया बच्चाको तौल साढे २ केजी हुनुपर्नेमा जिल्लामा वर्षेनी कम तौल भएका वच्चाहरु जन्मिने गरेको उहाँले बताउनुभयो । विभिन्न कारणले कम तौलका बच्चाहरु जन्मिरहेको उहाँको भनाई छ । समयमा र नियमित गर्भजाँच नहुनु, आमाले खानपान र स्वास्थ्यमा ध्यान नदिनु, कुनै स्वास्थ्य समस्या देखिए उपचार नगराउनु लगायतका कारण तौल कम भएका बच्चाहरु जन्मिने गरेको जनस्वास्थ्य निरीक्षक ओलीले बताउनुभयो । जिल्लाको वर्षेनी अवस्था लगभग उस्तै उस्तै रहेको उहाँको भनाई छ । 

उहाँका अनुसार गत वर्ष पनि ६ प्रतिशत बालबालिका कम तौलका जन्मिएका थिए । त्यो भन्दा अघिल्लो वर्ष भने कुल जन्मिएका ८ प्रतिशत बालबालिकाको तौल सामान्य भन्दा कम थियो । जिल्लामा पछिल्ला वर्षहरुमा नियमित गर्भजाँच गराउने तथा स्वास्थ्य संस्थामा प्रसुति हुने संख्या भने बढ्दै गएको छ ।आर्थिक वर्ष २०७३/०७४ मा २ हजार १५ जना, २०७४/०७५ मा २ हजार ५ सय ८६, २०७५/०७६ मा हजार ८ सय ५८, २०७७/०७८ मा ३ हजार १ सय २९ जना स्वास्थ्य संस्थामा जन्मिएका थिए ।

जिल्लामा वर्षेनी स्वास्थ्य संस्थामा हुने प्रसुतिको संख्या बढ्दो क्रममा रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । स्थानीय तहमै अस्पताल संचालन हुनु, वर्थिङ सेन्टर थपिनु, सचेतना बढ्नु लगायतका कारणले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउनेको संख्या वर्षेनी बढ्दो रहेको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक बिष्णुबहादुर बुढाथोकीले बताउनुभयो ।
 

प्रकाशित मिति: शनिबार, असार २५, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update