रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा सूचना केन्द्र स्थापना हुने भएको छ । नगरको सूचना प्रवाहलाई प्रभावकारी बनाउने उदे्श्यले सूचना केन्द्र स्थापना हुन लागेको नगरपालिकाले जनाएको छ । कर्णाली प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको सहयोगमा सूचना केन्द्र बन्न लागेको हो ।
यसमा नगरपालिकाको समेत साझेदारी रहने नगरपालिकाका सूचना प्रविधि अधिकृत गोपाल ओलीले जानकारी दिनुभयो । प्रदेशको ७० र मुसीकोट नगरपालिकाको ३० प्रतिशत लगानीमा सूचना केन्द्र स्थापना हुन लागेको उहाँले बताउनुभयो । यसअनुसार स्थानीय शासन सहयोग कार्यक्रमको ९ लाख खर्च हुन लागेको छ ।
सूचना केन्द्रमा एउटा डेस्कटप कम्युटर, एउटा ल्यापटप, २० जना वस्न मिल्ने राउण्ड टेवल, पुस्तकालयका लागि र्याक, १६ वटा कुर्सी, सोलार व्याकअप, सिसिक्यामेरा, इन्टरनेट, एउटा प्रिन्टर र ६ सय थान किताब रहने बताईएको छ । सूचना केन्द्रले सेवाग्राहीलाई सूचना पाउँन, आवश्यक परेको कागजात प्रिन्ट गर्न, फोटोकपी गर्न सहज हुने विश्वास गरिएको छ । त्यस्तै नगरपालिकामा सेवाका लागि पुगेका सेवाग्राहीहरुले विभिन्न पुस्तकहरु पढ्न पाउने सूचना प्रविधि अधिकृत ओलीले बताउनुभयो ।
सूचना केन्द्र स्थापनाका विषयमा आज अन्तरक्रिया गरिएको छ । यसको अवस्यकता तथा संचालनका विषयमा अन्तरक्रिया भएको हो । नगर प्रमुख महेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरे, मुसीकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर पुन, सुरक्षा निकायका प्रमुख, पत्रकार, वडाअध्यक्ष लगायतको सहभागिता रहेको थियो ।
नगरपालिकाको सभाहल शेरिगाउँमा भएको कार्यक्रमको संचालन नगरपालिकाका सूचना प्रविधि अधिकृत गोपाल ओलीले गर्नुभएको थियो ।